‘अरूका घर चिटिक्क पारेर आफ्नो छाप्रोमा खुसी ल्याउँछु’

'छोराले विदेशबाट कमाएर आएपछि पक्की घर बनाउने सपना देखेको थिएँ । तर, छोराले भएको एउटा त्यही टहरोलाई पनि आगो लगाइदियो । त्यतिबेला मेरो मन साह्रै रोएको थियो ।'

आश्विन २६, २०८२

प्रकाश मगर 

”I bring happiness to my home by decorating other people's houses”

काठमाडौँ — रंग अर्थात् पेन्टिङ लगाउने काम गरेर घरखर्च चलाउन थालेको नौ वर्ष भयो । अहिले म ५१ वर्षको भएँ । मेरो गाउँ तेह्रथुम जिल्लाको सुदाप हो । अहिले साँखु कागेश्वरी मनहरा–१ मा बसोबास रहेको छ । मेरा दुई छोरा छन् । जेठो छोरा पनि मैले जस्तै रंग लगाउने काम गर्छ । उसले पनि पैसा छैन है भनेका बेला घरको खर्चका लागि सहयोग गर्छ ।

मैले १८ वर्ष मलेसियामा दुःख गरेर कमाएको पैसाले साँखुमा जग्गा किनेको थिएँ । त्यहीँ एउटा छाप्रो बनाएर परिवारै बसेका छौं । बुढेसकाल लाग्न थालेपछि देशमै बसेर केही गर्छु भनेर नेपाल आएको थिएँ । हातमा रंग लगाउने सीप थियो । कसैका रंग हराएका घर हुन् वा नयाँ घर– तिनलाई चिटिक्क पारेर मेरो पानी चुहिने टहरा (छाप्रो) मा खुसी ल्याउने प्रयास गरेको छु । 

सधैं काम पाइँदैन, पाएका बेलामा काम हेरीहेरी धेरैमा दिनको १ हजार ६ सय ५० र कहिले १२ सय कमाउँछु । घर टाढा भएकाले दिनदिनै आउन जान साध्य हुँदैन । खर्च धेरै हुन्छ भनेर रंग लगाउने ठाउँमै काम सकिने बेलासम्मलाई कोठा मागेर बस्छु । काम नपाएका बेला पनि घरमा त्यसै बस्दिनँ, पठाओ चलाउँछु । तेल खर्च तिरेर दैनिक १ हजारजति बचाउँछु । घरखर्च महिनामा यति हुन्छ भनेर अडकल त गरेको छैन, तर १५ देखि २० हजार हुन्छ जस्तो लाग्छ । रंग लगाएर कमाए पनि, पठाओ गरेर कमाए पनि महिनाको खर्च टार्न पाए खुसी नै मिल्छ । 

जिन्दगी सधैं संघर्ष रहेछ जस्तो लाग्छ । सुखदुःख चल्दै थियो । दुई वर्षअगाडि कान्छो छोरालाई ऋण खोजेर विदेश (दुबई) पठाएको थिएँ । एक वर्षमा आफू गएको ऋण तिरेको थियो । तर, अचानक कम्पनीले डिप्रेसन भएको भनेर नेपाल फर्काइदियो । नेपाल आएर मैले खाडीमा पसिना बगाएर बनाएको त्यही टहरोमा पनि आगो लगाइदियो । घरभित्रका कपडा सबै जले । छोराले विदेशबाट कमाएर आएपछि पक्की घर बनाउने सपना देखेको थिएँ । तर, छोराले भएको एउटा त्यही टहरोलाई पनि आगो लगाइदियो । त्यतिबेला मेरो मन साह्रै रोएको थियो । त्यस बेलासम्म मेरी श्रीमतीले पनि अरूको घरमा कपडा धोएर, घर सफा गरेर घरखर्च जुटाउन मद्दत गरेकी थिइन् । छोराले फेरि के गर्ने हो भन्ने पीरले अहिले घरमा नाति हेरेर बसेकी छन् । भार सबै मेरो नै थाप्लोमा छ ।

आधा जिन्दगी अर्काको देशमा पसिना बगाएँ, अब त आफ्नै देशमा आराम गरेर बस्ने भनेर आएको यस्तो हालत देख्नु पर्‍यो । मेरा पाखुरा चलाएँ भने घरमा चुल्हो बल्छ, नत्र के खाने भन्ने समस्या छ । काम नगरे चुल्हो नै बल्दैन । 

मैले गीत सुन्दै गर्दा ‘सुन साइली साइली पदेशबाट म आउँला, सुन साइली साइली चालीस कटेसी रमाउँला’ भनेको सुन्थेँ । मोबाइलमा बज्ने गीत र टीभीमा हेरिने फिल्मको कहानीजस्तो कहाँ हुने रहेछ र जीवन ? हाम्रा रमाउने दिन आउँदा रहेनछन् । काम गरेपछि त्यही दिन खाने खर्च आउँदो रहेछ । चालीस कटेसी रमाउनलाई आफूसँग मज्जाले बसी बसी खान पुग्ने सम्पत्ति चाहिने रहेछ । हात पाखुरा चल्ने बेलासम्म काम नगरी नचल्दो रहेछ जीवन । हामीजस्ता गरिबलाई जिन्दगीले खेलाउने खेल कस्तो अचम्मको हुँदो रहेछ भन्ने लाग्छ कहिलेकाहीँ । 

कहिलेकसो मनमा कुरा खेल्छन् । डर लाग्छ– मेरो हात चलेन वा ठूलै बिमार लाग्यो भने न पेन्सन, न भत्ता, न त पुर्ख्यौली धनसम्पत्ति नै छ । मेरो परिवार भोकभोकै मर्नु बाहेक अरू केही उपाय नै छैन भन्ने सोच्छु । भगवान‍्को कृपाले केही नहोस् भनेर प्रार्थना पनि गर्छु । हात चल्ने बेलासम्म दुःख गर्छु, मेरो भाग्यमा यही रहेछ भनेर मन बुझाउँछु ।

अरूको घर सिँगारेर उनीहरूले भनेको जस्तो रंगले चिटिक्क बनाइदिन्छु । त्यहीबाट आफ्नो घर चलेको छ, यही कुराले खुसी छु तर आफ्नो छाप्रोमा पानी चुहिएको देख्दा मन दुख्छ । कहिले होला– आफ्नै घर चिटिक्क पारेर रंग लगाउने जस्तो पनि लाग्छ ।

मलाई आफ्नो घरलाई ढलानयुक्त बनाउने ठूलो रहर छ । अहिले एउटा घरमा रंग लगाउने काम पाएको छु । त्यहाँबाट आएको पैसाले कान्छो छोरालाई उपचार गर्न इन्डिया लैजाने सोचेको छु । छोरो निको होस्, आफ्नै खुट्टामा उभियोस्, घरमा शान्ति छाओस् । धेरै केही छैन, बस् यत्ति चाहेको छु ।

प्रस्तुति : आरती पौडेल 

प्रकाश

Link copied successfully