‘माग्दै डुल्ने क्रममा ७५ जिल्ला पुगिसकेँ’

रासन, पानी, ग्यास, सबै कुरा पैसा नभइ चल्दैन । कति दिन त भोकभोकै सुतेका छौं । ग्यास भए चामल हुन्न, चामल भए नुन हुन्न, त्यस्तो अवस्था कति रात पो भोग्यौं ।

आश्विन २१, २०८२

जगबहादुर घर्ती

”I reached 75 districts while begging”

What you should know

गोरखा — चामल सकिएका दिन चुलो बल्दैन । त्यस्तो बेला बुढाबुढी भोकभोकै सुत्छौं । भोकै सुतेका दिन श्रीमती सुनिताले निन्द्रामा पनि भोक लाग्यो भन्छिन् । त्यस्तो क्षण मसित सुन्नुबाहेक विकल्प हुँदैन ।

म जन्मजातै आँखा देख्दिनँ । बुढी पनि खुट्टाले टेक्न नसक्ने भएकाले घिस्रिएर हिँड्छिन् । यस्तोमा भगवान् पुकार्नुबाहेक हामी के नै गर्न सक्छौं र ? 

पालुङटार नगरपालिका–४ लुईंटेल घर्तीगाउँमा घर छ । मेरो भागमा १ रोपनी ३ आना जग्गा परेको छ । त्यही जग्गामा पुरानो घर पनि छ । तर, २०७२ सालमा आएको भूकम्पले घर भत्काएपछि मर्मत गर्न सकेको छैन । जग्गा पनि भिरमा छ । म आँखा नदेख्ने, बुढी हिँड्न नसक्ने भएकाले पुरानो घर छाडेर सडक पेटीमा बस्ने गरेका छौं । 

जिन्दगीमा ठूलो आशा केही छैन । दिनभरि डुलेर माग्दै हिँडे पनि रातमा ओत लाग्ने घर भइदिए हुन्थ्यो जस्तो लाग्छ । कहिले चट्याङ पर्छ, कहिले पानी पर्छ, त्यस्तो बेला कहाँ जानू ? अप्ठ्यारो भएपछि महिनाको २ हजार रुपैयाँ तिर्ने गरी कोठा भाडामा लिएका छौं । मेरो रातो परिचयपत्र भएकाले तीन महिनामा १२ हजार भत्ता आउँछ । बुढीले ३ महिनामा ६ हजार भत्ता पाउँछिन् । त्यही पैसा पनि हात पर्ने बित्तिकै सकिन्छ । माग्न नहिँडे त चुलो बल्दैन । तीन महिनामा दुई जनाको गरेर १८ हजार आउँछ । त्यसले तेल किन्ने कि भात खाने कि कोठाभाडा तिर्ने ? 

४ कक्षा पढ्दापढ्दै छाडेर सांगीतिक क्षेत्रमा लागेँ । आमा बितेको २२ वर्षजति भयो । आमा हुँदासम्म खानलाई समस्या थिएन । आमा बितेपछि पाउनुसम्म दुःख पाएँ । यस्तो पीडा सुनाउने मान्छे पनि पाइनँ । कसैसामु मनका बह पोख्दा पनि आधा रोग निको हुने रहेछ । सडकमा गीत गाउँदै हिँड्ने क्रममा २०७३ सालमा सुनितासँग नारायणगढमा भेट भयो । उनको घर धादिङको हनुमान डाँडा रहेछ । खुट्टा टेक्न नमिल्ने भएपछि जन्मजातै घिस्रिएर हिँड्दी रहिछन् । दुवैले प्रेममा परेर विवाह गर्‍यौं । सुखदुःख बाँडेर पारिवारिक सम्बन्ध गासौं भनेर सहमतिमा नै बिहे गरेका हौं । बुढाबुढी भएपछि सुखदुःख बाँड्न पाएका छौं । 

दुवै जना अपाङ्ग भएपछि गाँस, बास र कपासकै समस्या हुँदो रहेछ । हात फैलाउँदै सडकमा गीत गाएर हिँडेको कमाइले खानै पुग्दैन । समाजमा अपाङ्गता भएकाहरू धेरै छन् । पहिले सहज थियो । अहिले माग्दा पनि गाली सुन्नुपर्छ । अपाङ्गता भएकाहरूको व्यवस्थापन नहुँदा विचल्ली छ । गाउँमा हेलाहोचो सुन्नु परेको छ । कसैले दयाधर्म सम्झिएर ५/१० रुपैयाँ दिँदा पनि कहिलेकाहीँ दिनमा दुई/तीन सय त कहिले ५ सयसम्म जम्मा हुन्छ । त्यही पैसाले दुई जनाको पेट भर्नुपरेको छ ।

दुई कोठाको घर बनाउँदा कम्तीमा १० लाख खर्च हुन्छ । हामीले त्यति धेरै रकम कहाँबाट ल्याउनू ? अंशमा पाएको त्यही जग्गा पनि घर बनाउनु परे डोजर लगाएर सम्याउनुपर्ने छ । पानी छैन, सबैभन्दा पहिले पानीको जोहो गर्नुपर्‍यो । अहिले ज्याला पनि महङ्गो छ । माग्दै डुल्ने क्रममा ७५ जिल्ला पुगिसक्यौं । तर, सडकबाट माथि उठ्न सकेका छैनौं । ६ महिनाअघिसम्म त गाउँदै डुल्दै हिँड्ने, कसैको घरको पेटी, कहिले प्रतीक्षालयमा बस्थ्यौं ।

अब यसरी हुँदैन भनेर पालुङटारको छापथोकमा कोठा लिएर बस्न थाल्यौं । फेरि बुढाबुढी सल्लाह गरेर बजार झरौं भनेर अहिले यही पालुङटारको ठाँटीपोखरीमा कोठा लिएर बसेका छौं । 

बजार क्षेत्रमा हरेक चिज किन्नुपर्छ । एक महिनामा ३०/३५ हजारले पुग्दैन । पानीधरी किनेर खानुपर्छ । रासन, ग्यास, तेल जे ल्याए पनि पैसा उत्तिनखेरै तिर्नुपर्‍यो । फेरि हामी दुवै जना अपाङ्गता भएकाले ग्यास ल्याउँदा पनि, चामल ल्याउँदा पनि पचास/सय रुपैयाँ ज्याला दिनैपर्‍यो । रासन, पानी, ग्यास, सबै कुरा पैसा नभइ चल्दैन । कति दिन त भोकभोकै सुतेका छौं ।

ग्यास भए चामल हुन्न, चामल भए नुन हुन्न, त्यस्तो अवस्था कति रात पो भोग्यौं । नयाँ लुगा किनेर लगाउने सपना नै भयो । कुनै दिन दुई सय, तीन सय मागेर जम्मा भयो भने आधा किलो, एक किलो मासु किनेर लगेर खान्छौं । बाँच्नका लागि त हो कमाएजस्तो लाग्छ । 

मलाई ‘कोलेस्टोर’ र मृगौलाको पनि समस्या छ । मृगौलाले काम गर्न छाड्न लागेको छ है भन्ने कुरा यतैको अस्पतालमा जचाउँदा थाहा भयो । तर, पिर मान्छे भनेर यो कुरो बुढीलाई पनि भनेको छैन ।

शरीरमा रोग पनि छ भन्दा मरिजाने कि गरिजाने लाग्छ । अहिलेसम्म केही गर्न सकेको छैन । ठूलो ठाममा गएर शरीरको उपचार गर्ने आँट पनि आएको छैन । अलिकति जचाउँदा यो रोग छ, त्यो रोग छ भन्दा त्यो चिन्ताले झनै सताउँछ । 

प्रस्तुति : हरिराम उप्रेती

जगबहादुर

Link copied successfully