'बुवाले खोलेको शर्मा होटल एण्ड लजले जिल्लामा ख्याति कमाएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगरमा मैले आफैं नास्ता पसल खोलेको छु । मैले आफैं व्यवसाय सुरु गरेको पनि तीन वर्ष भयो ।'
What you should know
डोल्पा — म डोल्पा आउनुभन्दा एक साताअगाडि मात्रै तत्कालीन माओवादी विद्रोहीले सदरमुकाम दुनैमा हमला गरेका थिए । मेरो बुवा पहिले दुनैमा रहेको नेपाल बैंकमा सुरक्षा गार्डको जागिर गर्नु हुन्थ्यो । त्यहाँबाट सरुवा गरिएपछि बुवाले जागिर नै छोड्नु भयो । त्यसपछि खाजा–नास्ताको पसल सञ्चालन गर्नु भएको हो ।
मेरो जन्मथलो बाँकेको नेपालगन्ज हो । तर, मैले धेरै वर्ष डोल्पामै बिताएँ । अहिले पनि डोल्पामै छु । बुवाले दुनैमा व्यवसाय सुरु गरेपछि बुवा, ममी, दाइ र म यहाँ आएका थियौं । मेरो दुई जना दिदी हुनुहुन्छ ।
म दुनै आउँदा सानै थिएँ । नेपाल एयरलाइन्सको जहाजमा जुफाल झरेर दुनै पुगेका थियौं । सडक मार्गबाट आउँदा १०/१२ दिन पैदल हिँड्नु पर्ने अवस्था थियो । दुनै पुगेपछि मैले पनि बुवाले सुरु गरेको खाजा पसलमा सघाउन थालेँ । त्यतिबेला दुनैमा नास्ताका रूपमा समोसा र जेरी बन्दैन थियो । यहाँ बुवाले नै समोसा र जेरी पकाउन सुरु गर्नु भएको हो ।
दुनैमा त्यतिबेला मालपुवा र खजुरी लगायतका खाजा मात्र पाक्थ्यो । जिल्लामै पहिलो पटक फरक प्रकारको खाजा पाक्न थालेपछि खाने मान्छेहरूको भीड लाग्न थाल्यो । व्यापार राम्रै चल्यो । त्यतिबेला डोल्पामा नेपाल खाद्य संस्थान र नेपाल साल्ट कर्पोरेसनले सुपथ मूल्यमा चामल र नुन दुनैबाट मात्र वितरण गर्थे । त्यही भएर पनि बिहान ३ बजे नै उठेर खाजा–नास्ता बनाइन्थ्यो ।
यहाँ उब्जनी पनि कम हुने र सहुलियत दरमा खाद्यान्न पाइने भएकाले मान्छेहरू रात बास बसेर भए पनि चामल लिन आउँथे । राती बास बसेर बिहानै खाजा खान आइपुग्ने मानिसको भीड नै लाग्थ्यो । म र दाइले पनि सकेको जति बुवा र ममीलाई पसलमा खाजा बनाउन सघाउँथ्यौं ।मैले पनि बुवासँगै काम सिक्दै हुर्कें । प्राथामिक र माध्यमिक तहको शिक्षा मैले दुनैमै पूरा गरेको हुँ ।
यसबीचमा जेरी, पुरी, समोसा बनाउन सिकेँ । पछि कक्षा ११ र १२ पढ्न नेपागन्ज झरेँ । प्ल टू सकेर बीबीएस पढ्न सुरु गरेँ । पछि रोजगारीका सिलसिलामा दुबई गएँ । करिब ६ वर्ष बसेर फर्किएँ । एयरपोर्टमा क्याटरिङको काम थियो । राम्रै कमाइ हुन्थ्यो । पछि आफ्नै देशमा केही गर्नुपर्छ भनेर नेपाल फर्केको हुँ । घर–परिवारसँगै बसेर व्यवसाय गर्नुमा छुट्टै आनन्द छ ।
बुवाले खोलेको शर्मा होटल एण्ड लजले जिल्लामा ख्याति कमाएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगरमा मैले आफैं नास्ता पसल खोलेको छु । मैले आफैं व्यवसाय सुरु गरेको पनि तीन वर्ष भयो । यो अवधिमा मैले सुरु गरेको व्यवसायबाट पूर्ण सन्तुष्ट छु । अहिले त्रिपुराकोटमा मेरो व्यवसाय राम्रै चलेको छ । उमेरले ३३ वर्षको भएँ ।
मैले सिक्किममा बिहे गरेको हुँ । एउटा छोरी छिन् । म बिहानै ४ बजे उठ्छु । समोसा, जेरी, पुरी, सेकुवा, मःम लगायतका खाजा पकाएर बेच्छु । हामी दुई श्रीमान्/श्रीमती मिलेर व्यवसायलाई राम्रो आकार दिएका छौं । चाडपर्वका बेला दैनिक पचास हजारसम्म पनि व्यापार हुन्छ । सानो ठाउँ, त्यसमा पनि जनसङ्ख्या कम छ । तर पनि मेरो व्यापार घटेको छैन । त्यसैमा खुसी लाग्छ ।
अहिले पनि दैनिक १४/१५ घन्टा खटिन्छु । काममा खटेअनुसार आम्दानी पनि हुन्छ । बुवा र दाइले दुनैमा नास्ता पसल चलाइरहनु भएको छ । बुवाले दुनैमा नास्ता पसल खोलेरै घर–घडेरी लगायत धेरै कुरा जोड्नु भयो । हामीहरूलाई पढाइलेखाइ गराउनुभयो । उहाँको कमाइ त्यही नै हो । मेरो उद्देश्य पनि व्यवसायबाट आएको आम्दानीले घर–घडेरी जोड्ने र बुढेसकालका लागि बचत गर्ने नै छ । जागिर खाएर होस् या व्यापार गरेर होस्– प्रायः मान्छेको लक्ष्य यही नै हुन्छ ।
काममा एकचित्त र एक मन गरेर लाग्यो भने नेपालमै राम्रो कमाइ गर्न सकिन्छ । विदेश जानै पर्दैन । यो कुरा दावाका साथ भन्न सक्छु । त्यसका लागि हातमा सीप र मिहिनेत भने अवश्य चाहिन्छ ।
नास्ता पसलमा आउने ग्राहकले पनि राम्रो प्रतिक्रिया दिनुहुन्छ । यहाँको खाजा नास्ताको खुलेरै प्रशंसा गर्नु हुन्छ । मेरो नास्ता पसलमा सफा, सस्तो र मिठो खाजा पाइने गरेको ग्राहकले बताउँदा औधि खुसी मिल्छ । म पनि सकेसम्म थोरै पैसामा मिठो र धेरै नास्ता ग्राहकलाई खुवाउनेतर्फ अग्रसर हुन्छु ।
मेरो नास्ता पसलमा पचास रुपैयाँमा पेटभरि खान पाइन्छ । व्यापार व्यवसायको एउटा मुख्य फाइदा भनेकै सन्ततिलाई हस्तान्तरण गर्न सकिने रहेछ । त्यो कुरा आफूले पाएपछि मैले बुझेँ । जसले गर्दा सन्तानहरू बेरोजगार हुनु पर्दैन । बाउबाजेले गरेको व्यापार पछि गएर सन्ततिले सम्हालेका उदाहारण धेरै छन् ।
मेरो बुवाले पनि मलाई त्यसै गर्नुभयो । यसमा बुवाको देन धेरै छ । अहिले दुनै र त्रिपुराकोट गरेर दुई स्थानमा हाम्रो खाजा पसल छ । निकट भविष्यमा अन्य क्षेत्रमा पनि व्यवसाय विस्तार गर्ने मेरो चाहना छ ।
प्रस्तुति : रामचन्द्र न्यौपाने
