'कलिलो उमेरमा बाटो देखाउने भएनन् भने दुर्घटनामा परिन्छ । मेरो जीवनमा पनि त्यस्तै भयो ।'
What you should know
धरान — आर्थिक अभाव, पारिवारिक समस्या र विखण्डनका कारण मेरो बाल्यकाल सडकपेटीमा बित्यो । सडक जीवनका क्रममा साथीबाट सिकेको लागूऔषधको लत र नशाले खेल्ने र पढ्ने अमूल्य उमेर खेर गयो ।
धरान उपमहानगरपालिका–१५ स्थित निराजन बस्तीमा डेरा लिए बसेको छु । अहिले १८ वर्षको भएँ । दुई दशक उमेर पूरा नगर्दै जिन्दगीका पानामा धेरै कथा कोरिसकेका छन् । अभाव, अत्यास, कठिनाइ नजिकबाट देख्न र भोग्न पाएँ । दलदलबाट जसोतसो उम्किएर बल्लतल्ल आफ्नै खुट्टामा उभिने प्रयासमा छु ।
गरिब परिवारमा जन्मिएपछि अभावले पछ्यायो । बुवाले मजदुरी गरेपछि मात्रै घरखर्च चल्थ्यो । म सानै हुँदा आमा बित्नुभयो । त्यसले झन् एक्लो बनायो । अहिले घरमा बुवा र भाइ छन् । भाइ कक्षा ४ मा पढ्दै छ । आमाको मृत्युपछि जिन्दगी बदलियो । बुवा सधैं काममा व्यस्त । घरमा बोजु (हजुरआमा) मात्र हुनुहुन्थ्यो । बोजुले नै हामीलाई हुर्काउनुभयो ।
त्यही बेला भेटिएका साथीहरूको लहलहैमा सडकमा आएको थिएँ । अनि साथीहरूसँग बाटोमा माग्दै हिँड्न थालेँ । दिनभरि बाटोमा पैसा माग्थेँ र राती घर जान्थेँ । कहिलेकाहीँ पेटीमै सुत्न थालेँ । पछिपछि त मेरो घर नै सडक र सडकका पेटीहरू हुन थाले । सडकमा धेरै साथी भए । हामीहरू बिस्तारै चुरोट, ड्रेन्टलाइटतिर आकर्षित हुन थाल्यौं । कहिलेकाहीँ धेरै पैसा भएका बेला लागूऔषध पनि सेवन गर्न सुरु गर्यौं । म सधैं नशाको संसारमा मग्न हुन्थेँ । न कसैको चिन्ता, न केहीको पीडा । आफू र आफ्नो संसारमा व्यस्त थिएँ । म सडकमा आउँदा ८ वर्षको मात्र थिएँ ।
यसैगरी दिन बितिरहेका बेला इटहरीस्थित भीओसी (भ्वाइस अफ चिल्ड्रन) संस्थाले हामीलाई उद्धार गर्यो । संस्थामा मजस्तै सडक बालकलाई राखिन्छ । त्यसपछि मेरो जीवनले नयाँ मोड लियो । सडकमा एक वर्ष बिताएपछि म संस्थामा पुगेँ । त्यहाँ मजस्तै थुप्रै बच्चा थिए । केही सडकमा सँगै हिँडेर र सुतेका साथीहरू पनि थिए । संस्थामा बस्दा त्यहीँको नियम र तालिका अनुसार मेरो नयाँ जीवन सुरु भयो ।
सुरुमा धेरै गाह्रो भयो । लागूऔषधको लत र सडकमा खुला रूपमा हिँडेको र खाएको बानी छुटाउन निकै कठिन भयो । बिहान १० बजेदेखि २ बजेसम्म संस्थामा पढाइन्थ्यो । मैले त्यहीँ अक्षर चिनेँ, नेपाली पढ्न सक्ने भएँ । मेरो बानीमा सुधार भएपछि संस्थाले मलाई परिवारसित पुनःस्थापना गराइदियो ।
घरमा आएपछि आफूलाई अनुशासनमा राख्न सकिनँ । फेरि साथीहरूको संगतले लतमा पर्न थालेँ । फेरि पनि सडक गन्तव्य बन्यो । कहिले बोतल उठाउने, कहिले पैसा माग्ने, कहिले भाँडा माझ्थेँ । त्यसरी कमाएको पैसाले नसालु पदार्थ किनेर सेवन गर्थें । दोस्रोपटक सडकमा डेढ वर्ष बिताएँ । त्यही संस्थाले जानकारी पाएपछि मलाई पुनः उद्धार गरेर लग्यो । फेरि संस्थामा पुगेर आफूलाई सुधार्न गाह्रो भयो । तर, दोस्रोपटक अब सुध्रिनु पर्छ भन्ने सोच आयो । झण्डै एक वर्ष बिताएपछि त्यहाँबाट बिदा भएर घर आएँ । बुवालाई घरखर्च टार्न सघाउन काम गर्न थालेँ । अहिले त कमाएको पैसा पनि घरखर्चका लागि बुवालाई दिने गरेको छु ।
सुरुमा ट्याक्टरमा बालुवा लोड गर्ने काम गरे पनि थोरै ज्याला दिएपछि त्यो काम छाडेँ । अहिले घर निर्माणमा सघाउँछु । अहिले इँटा र बालुवा बोक्ने काम गर्छु । यसबापत दिनको ९ सय रुपैयाँ पाउँछु । खाजा, खाना खाएर ५ सय बच्छ । महिनामा जेनतेन गरेर १६ हजार हुन्छ । तर सधैं काम मिल्दैन । काम गरेका दिनमात्र ज्याला मिल्छ । महिनाको ११ हजार घरभाडा छ ।
बुवा अटो चलाउनु हुन्छ । बावुछोराले कमाएको पैसा घरभाडा, पानी, बिजुली र भाइको पढाइ खर्चलाई ठिक्क हुन्छ । दिनभरि मजदुरी गर्छु । पैसा बचत गर्न सकेको छैन । हात परेकै दिन उधारो तिर्दै पैसा सकिन्छ । जेनतेन घरखर्चका लागि अलिकति भए पनि सहयोग गरेको छु । अचेल यसरी नै जीवन चलिरहेको छ । न केही योजना छ, न भविष्यमा केही बन्ने सपना नै छ । दुई छाक टार्नकै लागि जीवन संघर्ष चलिरहेको छ । खानालाई काम गर्नुपर्छ, काम नगरे भोकै परिन्छ, अहिले यति चिन्ता चाहिँ लाग्न थालेको छ ।
सडकका पेटीबाट सम्हालिएर सामान्य जीवनसम्म आइपुग्दा धेरै कुरा देखेँ र भोगेँ । त्यो त जिन्दगीको एउटा अँध्यारो पाटो थियो । अझै पनि समस्याका चाङ छन् । बल्ल ‘जीवन संघर्ष’ रहेछ भन्ने बुझ्दै छु । सकारात्मक कर्म गरेर पनि बाँच्न सकिन्छ भन्ने सिकेको छु । कलिलो उमेरमा बाटो देखाउने भएनन् भने दुर्घटनामा परिन्छ । मेरो जीवनमा पनि त्यस्तै भयो । अहिले त सही र गलत छुट्याउन सक्ने ज्ञान मिलेको छ ।
प्रस्तुति : एलिना राई
