‘फजुल खर्च नगर्ने हो भने यसमा कमाइ राम्रै छ । मेरा एक छोरा र दुई छोरी हुन् । मैले यही ठाउँमा भारी बोकेर छोराछोरी पढाएँ, हुर्काएँ र बिहे गरिदिएँ । त्यसपछिको बचतले श्रीमतीको उपचार गरेँ तर श्रीमतीलाई बचाउन सकिनँ ।’
What you should know
बैतडी — पढेलेखेको नहुनाले नागरिकता बनाउँदा धोका भयो । नागरिकतामा जन्मेको वर्ष फरक नपरेको भए अबको दुई वर्षपछि वृद्धभत्ता पाउँथेँ । कर्ममै सुविस्ता पाउन नलेखेपछि चिताएर मात्र नहुने रहेछ ।
अहिले त घरखर्च र दैनिक गुजारा चलाउन पिठ्यूँमा बोरा बोक्न थालेको ४० वर्षभन्दा बढी भयो । परिवार पाल्नका लागि भनेर विदेश गइनँ । यही जुलाघाट (नेपाल–भारत सीमा)मा भारी बोकेर घरखर्च चलाइरहेको छु । मेरा लागि चाडपर्व यतै हुन्छ । कहिलेकाहीँ घर जान्छु । नातिको सोराई (माया) लाग्छ । नाति खेलाएर बस्ने उमेर भए पनि काम नगरी खान छैन ।
मेरो घर बैतडीको पुर्चौडी–६ हो । भारी बोक्न व्यस्त भएर होला दिन गएको पनि थाहै हुँदैन । बिहान बिउँझिने बित्तिकै कम्मरमा बाँधेको बोरा साँझ परेपछि मात्र फुकाउने गर्छु । बोराले भारी बोक्न सजिलो हुन्छ । यो कम्मरमा बाँधेको बोरा नै हाम्रो पहिचान हो । बोरा बाँधेको भए पो सबैले थाहा पाउँछन् यसले भारी बोक्छ भनेर, नत्र कसैले थाहा पाउँदैनन् । मैले यत्रो वर्ष भारी बोकिसकेँ अब त मलाई नेपाल र भारतका व्यापारी सबैले चिन्छन् । अचेल त व्यापारीले आफैं बोलाउँछन् भारी बोक्नलाई ।
जुलाघाटमा व्यापारीदेखि लिएर घरको सामान ल्याउने सबै हाम्रै नेपालका आउँछन् । खुसी लाग्छ– आफ्नै मान्छेको भारी बोक्दा । दिनमा कुनै दिन १५ सयदेखि २ हजारसम्म पनि कमाइ हुन्छ । कुनै दिन एक रुपैयाँ पनि हुँदैन । अरु दिन कमाएको पैसाले कमाइ नभएका दिनको रासनको तिर्छु । धेरै दिनसम्म भारी बोक्ने काम नपाए त भोकै पनि बस्नु पर्छ ।
सुरु–सुरुमा त कैयौं रात भोकै बिताएको छु । अचेल त सबै व्यापारी चिनेकै छन् । उधारो पनि दिन्छन् । अहिले त धेरै भइसक्यौँ भारी बोक्ने पनि । फजुल खर्च नगर्ने हो भने यसमा कमाइ राम्रै हुन्छ । मेरा एक छोरा र दुई छोरी हुन् । मैले यही ठाउँमा भारी बोकेर छोराछोरी पढाएँ, हुर्काएँ र बिहे गरिदिएँ । त्यसपछिको बचतले श्रीमतीको उपचार गरेँ तर श्रीमतीलाई बचाउन सकिनँ । न त मेरो पैसा नै रह्यो, न श्रीमती नै बाँचिन् । कुनै रात उनीबारे सोचियो भने निद्रा नै लाग्दैन ।
श्रीमती बितेको पनि १२ वर्ष भइसक्यो । उनलाई क्यान्सर भएको रहेछ । उपचार गर्न काठमाडौंसम्म पुर्याएँ । उपचारमा नौ लाख सकियो । अहिले मेरो घरमा बुहारी, छोरा र नाति मात्र छन् । छोरो घरकै खेतीपाती गर्छ । मलाई मेरो छोराबुहारीप्रति कुनै गुनासो छैन । उनीहरूले मलाई काम गर् त भन्दैनन् । तर मलाई यत्तिकै घरमा बस्न मन लाग्दैन । यहाँ त दिनभरि भारी बोक्यो, भारी बोक्न नपाएको दिन पनि साथीभाइसँग टाइमपास हुन्छ ।
छोरा–बुहारी, नाति–नातिना भनेका त मनको शान्ति मात्रै हो । दुःखसुखको साथी भनेको त श्रीमती नै हो । कोही मजस्तै बुढापाकाको भारी त म सित्तैँमा पनि बोकी दिन्छु । उनीहरूसँग म कुनै बार्गेनिङ पनि गर्दिनँ । उनीहरूले आफ्नो इच्छाले दिए दिन्छन्, नदिए पनि म माग्दिनँ । अब मैले कसैका लागि कमाउनु छैन । कमाउनु छ त केवल यही मेरो पेटका लागि मात्र । म अब धेरै भारी बोक्न सक्दिनँ ।
वृद्धभत्ता पाउन थालेपछि आरामले घरमा बस्ने मन छ । वृद्धभत्ता पाउन्जेलसम्म बााचिन्छ कि नाइ भन्ने खुब चिन्ता छ । वृद्धभत्ताले खान लगाउन र औषधि उपचार पुगिहाल्छ । मलाई अचेल यही ठाउँ प्यारो लाग्छ । घर जान त हुन्थ्यो । तर घरमा मन लागेजस्तो खाना खान कहाँ पाइन्छ र ! यहाँ त दिनभरि भारी बोके पनि मन लागेजस्तो माछा, मासु, तरकारी, दुध र दही किनेर खान पाइन्छ । यस्तो घरमा कहाँ मिल्छ र ! घरमा त कुनै दिन बिनातरकारी नुनसँग पनि खानु पर्छ ।
मलाई मेरो भारी बोक्ने कामप्रति लाज लाग्दैन । मान्छेले मागेर र चोरेर पो खानु हुँदैन भन्ने मेरो मान्यता छ । मिहिनेत त जसरी पनि गर्न सकिन्छ । यसमा केको लाज ! कुनै पनि काम सानो ठूलो हुँदैन ।
अस्ति मेरो दायाँ आँखामा समस्या आयो । औषधिले ठिक नै भएन । अहिले यो आँखाले देख्दैन, बन्द नै भइसक्यो । अब केही पैसा जम्मा गरेर यसको अपरेसन गर्न गेटा आँखा अस्पताल जाने योजना बनाएको छु । यो तिहारको सिजन हो । यस्तो सिजनमा काम धेरै हुन्छ । नोकरीबाट घर आउने पनि धेरै हुन्छन् । यिनीहरूको भारी बोक्दा पैसा पनि राम्रै दिन्छन् ।
धेरैजसो व्यक्तिले त कति भयो भारी बोकेको भनेर सोध्छन् । अनि मैले भनेको भन्दा थप पैसा दिएर जान्छन् । थप नदिनुभन्दा 'बुबासरहको मान्छे तरकारी किन्नू' भनेर पनि पैसा थपिदिन्छन् । यति माया गरेको देख्दा मन सारै खुसी हुन्छ । म त भारी बोक्ने पेसालाई पैसा कमाइसँगै सेवा पनि सम्झिन्छु । यसैमा सन्तुष्ट पनि छु ।
प्रस्तुति : मोहन चन्द
