‘भूकम्पले भत्काएको घरको कर्जा तिर्न भारतमा मजदुरी गरिरहेको छु’

'गोठ बनाउँदाको ऋण तिर्नै बाँकी छ, घर कहिले र कसरी बनाउने भन्ने अन्योलमा छु ।'

कार्तिक १९, २०८२

प्रेमबहादुर खत्री 

'I am working in India to pay off the debt of the house destroyed by the earthquake'

सुर्खेत — सानैमा आमाबुवा गुमाएँ । सहारा नै गुमेपछि धेरै पढ्ने अवसर मिलेन । त्यही ५ कक्षासम्म मात्रै अध्ययन गरेपछि पढाइ छुट्यो । अहिले ५१ वर्षको भएँ । रुकुमको मुसीकोट नगरपालिका–३ स्थित रुकुम पश्चिममा घर छ । त्यही घर पनि दुई वर्षअघि गएको भूकम्पले चर्कियो । आफ्नो सम्पत्ति भन्नु त्यहीमात्र थियो ।

घरमात्र होइन, गोठ पनि पूर्ण रूपमा भत्कियो । अहिले पनि ८/१० भित्ता चिरा परेकै घरमा बस्नुपरेको छ । गोठ भत्किएपछि एक हल गोरु र एउटा भैंसीलाई ओत लाउने ठाउँ अभाव भयो । जोखिम मोलेरै परिवार बसिरहेका छौं । बस्तुभाउका लागि तत्काल गोठ बनाउनुपर्ने छ । सरकारले घरलाई मात्र पुनर्निर्माण गर्ने रकम दिने भनेपछि भत्किएको गोठ बनाउनुको विकल्प भएन । करिब ५ लाख रुपैयाँ ऋण लाग्यो । त्यो कर्जा तिर्न भारतमा मजदुरीको भर पर्नुपरेको छ । 

दसैं र तिहार पर्व मनाउन घर आएको हुँ । अब १/२ दिनमै भारत जाने तयारीमा छु । भारतको मुम्बईमा एक व्यापारीको घरमा उनका बुवाआमालाई स्याहार गर्ने, घर सरसफाइ गर्ने, खाना पकाउने काम गर्छु । नेपाली २५ हजार ६ सय रुपैयाँ मासिक पारिश्रमिक छ । ४/५ हजार भारतमै खर्च भइजान्छ । बाँकी पैसा घर पठाएर घरखर्च चलाउनु कि ऋण तिर्नू ?

घरको उब्जनीले ६ महिनाजति खान पुग्छ । अरु समय खाद्यान्न र उपभोग्य सामान किनेरै खाने हो । मासिक १५/१६ हजार रुपैयाँ घरखर्चमै जान्छ । महिनामा मुस्किलले बचेको ५/६ हजार रुपैयाँ तिरेर ५ लाख रुपैयाँ कसरी घटाउने ? छोरीको विवाह भइसक्यो, छोरा र श्रीमतीलाई घरखर्च पठाउने गरेको छु । छोरा लक्ष्मणले कक्षा १० मा पढ्छ, श्रीमती घरकै कामकाज गर्छिन् । परिवार पाल्न मलेसिया पनि पुगेँ । अन्तिममा भारतकै भर पर्नु पर्‍यो । 

१५ वर्षअघि एउटा कम्पनीमा पलम्बरको काम गर्ने गरी १ लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया गएको थिएँ । जाने बेलामा ओभरटाइमबाहेक ७० हजार रुपैयाँ तलब हुन्छ भनियो । तर त्यहाँ जाँदा मेसिनमा काम गर्नुपर्ने रहेछ, तलब पनि ४० हजारभन्दा बढी भएन । स्वास्थ्यले पनि साथ नदिएपछि ६ महिनामै स्वदेश फर्केर आएँ । त्यसयता बर्सेनि भारत जान्छु । कमाइ राम्रो भए दसैं र तिहार मनाउन एक महिनाको लागि घर आउँछु । नत्र उतै हो । 

गाउँमा रोजगारी छैन । रोजगार कार्यक्रममा नेताका नजिकका टाठाबाठाले मात्र काम पाउँछन् । भूकम्पले घर चर्किएपछि र गोठ भत्किएपछि सरकारले अस्थायी टहरो बनाउन २ किस्तामा गरी ५० हजार रुपैयाँ त दियो तर घर पुनर्निर्माणमा हाम्रो नाम परेको छैन । आफैं बनाउनुपर्ने बाध्यता आयो । गोठ बनाउँदाको ऋण तिर्नै बाँकी छ, घर कहिले कसरी बनाउने हो ? अन्योलमा छु । पार्टीको कार्यकर्ता नहुँदा सरकारी सुविधाबाट पनि वञ्चित भइयो । पहिलाको कर्जा तिर्न पाए त सरसापट गरेर घर बनाउन सकिन्थ्यो । तर, हाम्रो व्यथा कसले बुझिदेला र खोइ ?

प्रस्तुति : कृष्णप्रसाद गौतम

प्रेमबहादुर

Link copied successfully