‘भोक त उहिलेदेखि सहने बानी थियो, अचेल छोराछोरीले नै मार्ने, काट्ने भएर समस्या भयो । छोरीमा समस्या थियो, गएको साउन महिनाबाट छोरा कुबेरको मानसिक अवस्था पनि बिग्रेपछि अहिले हामी सबैलाई मर्नु न बाँच्नु भएको छ ।’
What you should know
बझाङ — मेरो श्रीमान्को नाम मधन हो । अहिले उनी ७० वर्षका पुगे । म पनि अहिले ६० वर्षकी भएँ । मेरो उमेरचाहिँ नागरिकता बनाउँदा घटाइदिए । मेरा दुई छोरा, एक छोरी छन् । चैनपुरको मिजारी टोलमा सानो झुपडी छ । श्रीमान् दिनभरि भारी बोक्छन् । बसबाट यात्रा गरेर आउनेको सामान बोक्ने काम हो । त्यो नपाएका दिन बजारका मानिसको ग्यास, चामलका बोरा उनीहरूका कोठासम्म पुर्याउँछन् ।
कसैको कोठा सार्नु पर्यो भने पनि मेरो श्रीमान्लाई बोलाउन घरमै आउँछन् । दिनको तीन–चार सय कमाउँछन् । काम नपाएको दिन सुको हुँदैन । कहिलेकाहीँ काम मिल्यो भने म पनि भारी बोक्छु । पहिला पहिला मेरो श्रीमान्ले जति भारी बोक्ने चैनपुरमै कोही थिएन । उनको नाम नै ट्रक राखेका थिए । देवलबाट उठाएको एक क्विन्टल चामलको बोरा सिधै चैनपुर आएर बिसाउँथें । बझाङदेखि भारी बोकेर, अछाम, बाजुरा, डोटी, डडेल्धुरासम्म पुग्थे । भारतको झुलाघाटबाट पनि व्यापारीको सामान बोके ।
सशस्त्र द्वन्द्वका बेला आर्मीको सामान किन बोकेको भनेर तमैलमा माओवादीले नराम्रोसँग कुटे । मार्न खोजेका रहेछन् । बजारका मान्छे उठेर भारी बोकेर खाने मान्छेलाई मार्न दिँदैनौं भनेपछि छोडेछन् । शरीरभरि घाउ थिए । भारी बोकेर कमाएको पैसा, मेरो नाक र कानमा लगाएको गहना बेचेर उपचार गर्यौं । त्यही बेलादेखि पहिला जस्तो भारी बोक्न सक्दैनन् । द्वन्द्वपीडित भनेर राहतका लागि निवेदन हाल्यौं । हाम्रो नामै आएन । पीडितै नभएकाहरूले थुप्रै पैसा पाए ।
पोहोर मंसिरमा माइतीको भाइले इन्डियाबाट नयाँ लुगा पठाइदिएको थियो । तीन–चार वर्ष पछि नयाँ लुगा फेरेको त्यही हो । श्रीमान्ले लगाउने कोट किनेको आठ वर्ष पहिला हो । उनले त्यहाँदेखि नयाँ लुगा हालेका छैनन् । अरूले दिएका पुराना लुगा लगाउँछन् । कमाएको मध्ये महिनाको तीन हजार जति चामल किन्न खर्च हुन्छ । दाल, तेल, तरकारी, मसला गर्दा पाँच/छ हजार अरू चाहिन्छ । साबुन–सरफ किन्नै पर्यो । भारी बोकेर कमाइ भएपछि तिर्ने गरी उधारो लिन्छौं । पैसा पाएपछि तिर्छौं । कसैले उधारो नदिए भोकै बस्नु पर्छ । धेरै दिन भोकै बसेका पनि छौं । अझै पनि बजारमा ४०/५० हजार त ऋणै तिर्न बाँकी छ ।
भोक त उहिलेदेखि सहने बानी लागेको थियो । अचेल घरभित्रै शत्रु जन्मेका छन् । ३० वर्षकी छोरी पुष्पाको मानसिक सन्तुलन बिग्रेको पाँच वर्ष भयो । बिहे गरेर एक नाति पनि जन्मिएपछि बरालिएर हिँड्न थाली । जहाँ मन लाग्यो हिँड्ने, कहिले बाटोमा सुत्ने, कहिले खेतमा सुत्ने गर्न थाली । उसका पोइले ख्याल नगरेपछि हामीले ऋण खोजेर उपचार गर्न काठमाडौं लग्यौं ।
तीन–चार वर्ष पछि नयाँ लुगा फेरेको त्यही हो । श्रीमान्ले लगाउने कोट किनेको आठ वर्ष पहिला हो । चार महिनासम्म पाटनमा उपचार गरेपछि ठिक भएजस्तो भयो । डाक्टरले अझै एक वर्ष राख्नु पर्छ भनेका थिए । हामीसँग पैसा थिएन । तीन लाख ऋण लागिसकेको थियो । ठिक भैहाल्यो भनेर ल्यायौं । यहाँ ल्याएको दुई–तीन महिनामै फेरि त्यस्तै भैहाली । अहिले उसको श्रीमान्ले अर्कै बिहे गरेर उसलाई छोडिसक्यो । उसले पनि आपतै पारेकी छ ।
दुई वर्ष पहिला २३ वर्षे जेठो छोरा कुबेरलाई पनि त्यस्तै भयो । जिल्ला अस्पताल पुर्यायौं । अस्पतालले औषधि दिएपछि निको भयो । पोहोर मंसिरमा कमाउँछु, ऋण तिर्छु भनेर इन्डिया गयो । इन्डिया गएपछि औषधि छुट्यो । वैशाखमा घर आउँदा ५० हजार भारु कमाएर ल्याएको थियो । त्यतिन्जेल ठिकै थियो । अब यतै काम गर्छु, इन्डिया जान्न भन्यो । साउन महिनाबाट उसको मानसिक अवस्था बिग्रेपछि अहिले हामी सबैलाई मर्नु न बाँच्नु भएको छ । घरमा आएका बेला सामान तोडफोड गर्ने, जो भेट्यो उसैलाई कुटपिट गर्ने गर्छ । आफ्नो बाबुलाई साउनको महिना एकरात रक्तमुछेल हुने गरी कुट्यो । झण्डै मारिसकेको थियो । वरिपरिका छिमेकी आएर बचाए । तीन दिन अस्पतालमा उपचार गर्नु पर्यो ।
भदौमा मलाई दाउराले हान्यो । म बेहोस भएँ । त्यो दिन पनि छिमेकीले थाहा पाएर पुलिसलाई खबर गरेछन् । मलाई पुलिसले नै अस्पताल लग्यो । मेरो टाउकोमा आठ टाँका लगाए । अहिले पनि देख्ने बित्तिकै झम्टिहाल्छ । त्यसको डरले घरमा कोही पनि बस्न सकेका छैनौं । खाना पकाएर खाँदा पनि त्यो आउँछ कि भनेर एक जना बाहिर पाले बस्नु पर्छ ।
कुबेर आएको थाहा पाएपछि पाक्दै गरेको खाना छोडेर भाग्नु पर्छ । आठ कक्षामा पढ्ने भाइलाई कुट्न थालेपछि उसलाई पनि अर्कैको घरमा राखेका छौं । भाइको पढाइ धेरै राम्रो थियो । अहिले उसको पनि पढाइ बिग्रिसकेको छ । डरले भाग्ने कि पढ्ने ? बिचरा के गरोस् ? हामी कहिले छिमेकीको घरमा सुत्छौं । कहिले घरवरिपरि लुकेर सुत्छौं ।
जिन्दगीभरि अरूको भारी बोकेर पेट पाल्यौं । तालु खियाएर भए पनि राती ढुक्कले सुत्न पाइन्थ्यो । अहिले कुन बेला भेट्छ र मार्छ भन्ने डरले आफ्नै सन्तानसँग भागी भागी हिँड्नु परेको छ । बाटोमा देखेपछि जे भेट्यो त्यहीले झटारो हान्छ । कुन बेला ठहरै पार्छ भन्ने चिन्ताले निन्द्रा पनि लाग्दैन । हामीमाथि नै किन यस्तो आपत् ?
उपचार गरेपछि सन्चो हुन्छ भनेर त भन्छन् । त्यसलाई सामातेर कसले औषधि खुवाउने ? कसैले बोल्यो कि झम्टिहाल्छ । थुनेर त्यस्ता मान्छेको उपचार गर्ने ठाउँ पनि हुन्छन् भन्ने सुनेकी छु । काठमाडौंमा पनि उपचार हुन्छ भन्छन् । त्यहाँसम्म कसरी पुर्याउने ? पैसा पनि लाग्ला, कहाँबाट ल्याउने ? बुढेसकालमा हामीलाई मर्नु न बाँच्नु भएको छ । छोराछोरीको उपचार गरी दिने कुनै भगवान् भेटिए धन्य हुने थिएँ । मर्ने बेलामा सन्तोषले सास छोड्ने थियौं ।
