‘लगानी थपेर पसल ठूलो बनाउन पुँजी छैन, कसरी प्रतिस्पर्धा गर्नु ?’

‘पहिला बिजुली बत्तीका सामान बेच्ने धेरै पसल थिएनन् । सानो पसल गरे पनि गुजारा चल्थ्यो । अचेल त्यस्तो छैन । प्रतिस्पर्धा धेरै छ । लगानी थपेर पसल ठूलो बनाउन आफूसँग पुँजी छैन ।’

कार्तिक २१, २०८२

धीरेन्द्र मिश्रा

”There is no capital to invest and expand the store, how can we compete?”

What you should know

बर्दिया — जन्म अन्तै भए पनि कर्मले बर्दियासम्म डोर्‍याएको हो । रौतहटको राजदेवी नगरपालिका–४ वसन्तपुरमा जन्मिएको हुँ । त्यहाँबाट बसाइँ सरेर आएर अहिले गुलरिया नगरपालिका–७ गुलरिया गाउँमा बसोबास गरेको छु । अहिले म ५३ वर्षको भएँ । यहाँ आएको पनि ३७ वर्ष भइसक्यो ।

हाँसखेलबिनै बाल्यकाल बित्यो । हाम्रो परिवार ठूलो थियो । ६ भाइ, दुई बहिनी थियौं । तर, आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा पढ्न पाइनँ । कक्षा १० सम्म पढ्ेँ । जग्गा–जमिन नभएकाले खेतीपाती हुन्थेन । बुवा पुरेत्याइँ गर्नुहुन्थ्यो । त्यही क्रममा जजमानीबाट ल्याएको रासनले हाम्रो गुजारा चलिरहेको थियो । जसोतसो घर व्यवहार चलिरहेका बेला २०४५ सालमा बागमतीमा आएको बाढीले हाम्रो घर सबै बगाइदियो । 

मेरो दाइ विद्युत् प्राधिकरणको गुलरिया कार्यालयमा जागिर गर्नुहुन्थ्यो । उहाँ गुलरियामा भाडामा बस्नुहुन्थ्यो । दाइको जागिर भएकाले म पनि यतै आएँ । मैले पनि जागिर खान धेरै प्रयास गरे पनि सम्भव भएन । त्यसपछि वि.सं. २०४७ सालदेखि गुलरिया बजारमा बिजुलीका समान बेच्ने पसल सुरु गरेँ । पसल सुरु गरेको पनि ३५ वर्ष पुग्यो । 

गुलरिया नगरपालिका–६ मा मेरो रूपा बिजुली पसल छ । पसलमा बिजुली बत्तीका सम्पूर्ण सामग्री राखेको छु । काम मिल्यो भने मर्मत पनि गर्छु । पहिला बिजुली बत्तीका सामान बेच्ने धेरै पसल थिएनन् । सानो पसल गरे पनि गुजारा चल्थ्यो । अचेल त्यस्तो छैन । प्रतिस्पर्धा धेरै छ । लगानी थपेर पसल ठूलो बनाउन आफूसँग पुँजी छैन । बिजुलीको काम गर्ने पनि धेरै भए । जसका कारण पहिलाजस्तो कमाइ छैन । गर्मीमा पंखा मर्मतका छिटफुट काम मिल्थ्यो र अलि सहज हुन्थ्यो । अब जाडो सुरु भइसकेको छ । पसलमा त्यति काम हुँदैन । अहिले त दिनभरि ग्राहक कुरेर साँझ खाली हात घर फर्किने मात्र काम भइरहेको छ । दुई–तीन दिनसम्म बोहनीसमेत हुँदैन ।

आफूले पढ्न नपाए पनि बच्चालाई पढाउने ठूलो इच्छा थियो । त्यो इच्छा पूरा गर्न दिनरात मिहिनेत गरेँ । ठूली छोरीलाई कक्षा १२ र माइली छोरीलाई ल्याब टेक्नेसियन पढाएँ । दुईवटै छोरीको विवाह भइसकेको छ । छोरा कमाउने भएको छैन । घर–परिवार चलाउने जिम्मेवारी मेरै काँधमा छ । जसोतसो गरी छोरालाई पढाइरहेको छु । अहिले छोरा मधुवन ढोढरीस्थित इलेक्ट्रिक इन्जिनियर कलेजमा तीनवर्षे कोर्स गर्दैछ । छोराको पढाइ पूरा भएपछि खर्चको चाप कम हुन्छ होला । 

१० वर्षअघि तरकारी किन्न हाट बजार गएको बेला लडेर खुट्टा भाँचिएको थियो । त्यतिबेला औषधि गर्न डेढ लाख खर्च भएको थियो । अस्ति पनि करिब एक महिना बिरामी भएर थाला परेको थिएँ । समय–समयमा बिरामी भइरहन्छु । सुगरको औषधि नियमित खाइरहेको छु । अन्य काम गर्न सक्दिनँ ।

सम्पत्तिका नाममा १२ धुर घरवास मात्र छ । पसलबाट मुस्किलले मासिक आठ/दस हजार कमाइ हुन्छ । कुनै महिना त्यो पनि हुँदैन । पसलको भाडा र विद्युत् बिल गरी मासिक २ हजार २ सय रुपैयाँ तिर्नुपर्छ । कमाइ नभएर ८ महिनादेखि पसलको भाडासमेत तिर्न सकेको छैन । कमाइ नभए पनि साँझ बिहान हातमुख जोड्न ऋणसापट गरेर चलाउनुपर्छ ।

घरमा छोरा र हामी बुढाबुढी गरी तीन जना छौं । चामल, दाल, नुन, तेल, तरकारी, ग्यास, सर्फ, साबुन लगायतमा मासिक आठ/दस हजार खर्च भइहाल्छ । बच्चाहरूलाई पढाउन लागेको १० लाख ऋण तिर्न सकिए छैन । टाउकोमा ऋणको भारी बोकेर हिँडेको छु । त्यो भारी कसरी उतार्ने भन्ने तनाव भइरहेको छ । ऋण तिर्ने कुनै उपाय नलागेपछि भएको घरसहितको घडेरी बेच्न खोजेको छु । तीन वर्षदेखि त्यही घडेरी पनि बेच्न खोज्दा कुरा नमिलेर बिकेको छैन ।

प्रस्तुति : रामप्रसाद चौहान

धीरेन्द्र

Link copied successfully