सहकारीबाट १० लाख रुपैयाँ ऋण झिकेर यसपालि घर बनाएको छु । अहिले महिनामा २६ हजार रुपैयाँ सहकारीमा किस्ताबापत बुझाउनुपर्छ ।
What you should know
भैरहवा — म उठ्ने बेला भैरहवाका अधिकांश बासिन्दा निन्द्रामै हुन्छन् । कोही–कोही मर्निङ वाकमा आफ्नै धुनमा भेटिन्छन् । रूपन्देहीको सिद्धार्थनगर–१२ स्थित घरबाट साइकल कुदाएर बुद्धचोक पुग्छु । त्यहाँ मजस्तै अरू साथीहरू पनि आइसकेका हुन्छन् । बुटवललगायत ठाउँबाट पत्रपत्रिका बुद्धचोक आइपुग्छन् । तिनै पत्रिका बटुलेर घरदैलोमा पुर्याउन जान्छु । कहिले बिहान १० बजे त कहिले मध्याह्नसम्म पत्रिका बाँड्दै बित्छ । २० वर्षदेखि मेरो दैनिकी यस्तै छ ।
रूपन्देहीको सदरमुकामकै बासिन्दा भए पनि मेरो परिवार कहिल्यै चैनमा रहेन । अहिले म ४० वर्षको भएँ । पत्रिका वितरण गरेर मैले घर खर्च जोहो गरिरहेको छु । बुवा–बाजेको पालादेखि केही न केही कर्म गरेरै घर व्यवहार चलाउनु पर्यो ।
भैरहवाको भानु माध्यमिक विद्यालयबाट मैले १० कक्षा उत्तीर्ण गरेको हुँ । त्यसबेला ५५ प्रतिशत अंक ल्याएर एसएलसी पास हुँदा घरमा खुसीयाली छाएको थियो । तर, परिवारको जिम्मेवारीका कारण पढाइलाई निरन्तरता दिन सकिनँ । पढ्ने धोको त थियो । तर, पूरा भएन । पढाइ पनि टुटयो । काम पनि केही थिएन । त्यसपछि साइकलमा पत्रिका बाँड्ने काम पाएँ । त्यतिबेला पत्रिका पढ्ने लहर थियो । दैनिक ग्राहकको संख्या धेरै हुन्थ्यो । त्यसैले पत्रिकाको उचाल्नै धौ हुने बन्डल साइकलमा बाँधेर घरघर डुल्थेँ । खेल्ने र साथीभाइसित रमाइलो गर्ने उमेरमा बिहानको चिसो हावा रोजेँ ।
पहिलोपटक भैरहवाको मिलनचोकबाट पत्रिका बाँड्न सुरु गरेको थिएँ । त्यसपछि मेरो यात्रा बुद्धचोक, देवकोटा चोक, बैंक रोड, सरकारी कार्यालय र बसपार्कसँगै अहिले भैरहवाभरि फैलिएको छ । पत्रिका बाँड्ने साथीहरू अहिलेसम्म साथै छन् । मैले जस्तै मेरा साथीहरू महेश धवलले १२, सन्तवलीले २५, वसन्त यादवले २५, कृष्ण खनालले २० वर्षदेखि यही काम गरिरहेका छन् ।
अचेल त पत्रिका बाँडेर खान लाउन पुग्दैन । त्यसैले दिउँसो सबैले केही न केही अतिरिक्त काम पनि गरिरहेका छौं । हामीहरू बिहान बुद्धचोकको सबिता मिनी मार्केटअगाडि भेला हुन्छौं । आफूले बाँड्नु पर्ने पत्रिकाको मुठा जम्मा गरेपछि सबै जना एक–एक कप चिया पिएर छुट्टिन्छौं ।
मैले जस्तै मेरा साथीहरू महेश धवलले १२, सन्तवलीले २५, वसन्त यादवले २५, कृष्ण खनालले २० वर्षदेखि यही काम गरिरहेका छन् ।पत्रिका बाँड्ने काम सजिलो चाहिँ छैन । बजार डुल्ने क्रममा कहिले छाडा र भुस्याहा कुकुरले लखेट्छन् । जाडोयाममा कुहिरोले टाढासम्म नदेखिएर दुर्घटना हुने जोखिम पनि हुन्छ । कहिलेकाहीँ झरीमा पत्रिका जोगाउँदै बाँड्नु पर्छ । त्यस्तो बेला पत्रिका जोगाए पनि आफू भने भिजिन्छ । गर्मीमा खलखली पसिना बगाउनुपर्छ ।
एकपटक बजारको मिलनचोकमा एउटा घरमा साइकलबाट झरेर पत्रिका दिन गएको थिएँ । त्यही बेला चोरले साइकल चोरेर भाग्यो । एकछिन त सुनसान लाग्यो । तर, मैले हरेश खाइनँ । साइकल चोरी भएपछि दुई दिन पत्रिका वितरण गर्न पाइनँ । कसरी साइकल जोहो गर्ने भन्ने चिन्तामा परेँ । तेस्रो दिनमा १ हजार ५ सय रुपैयाँ तिरेर पुरानो साइकल खरिद गरेर भए पनि आफ्नो पेसालाई निरन्तरता दिएँ ।
दस वर्षसम्म निरन्तर पसिना चुहाउँदै श्रम गरे पनि परिवारको आर्थिक अवस्थामा सोचेजस्तो परिवर्तन आएन । दुःखले छाडेन । अनि परिवारसित सल्लाह गरेर साउदी अरब जाने निर्णय गरेँ । विदेश जाने निर्णय त गरेँ । तर मसित पैसा थिएन । अनि ५० हजार रुपैयाँ ऋण खोजेर परदेशको बाटो समातेँ । परिवारको सुखका लागि मैले सहर छाडेँ । तर, मेरो मन भैरहवामै थियो । साउदी अरवको मरभूमिमा ६ वर्ष कठोर श्रम गरेँ । तर, सोचेजस्तो कमाइधमाइ नभएपछि घर फर्किएँ । विदेशबाट फर्किंदा २ लाख २५ हजार साथमा ल्याएको थिएँ ।
अहिले बिहानै रूपन्देहीबाट प्रकाशित पत्रपत्रिका बटुलेर सहरका कुना–कुना पुर्याउँछु । बिहान एकखेप बाँडेर सकिएपछि मिलनचोकस्थित हाम्रो पुस्तक पसल पुग्छु । त्यहाँबाट नयाँ पत्रिका, कान्तिपुर, गोरखापत्र, काठमाडौं पोस्ट, नागरिक लगायत राष्ट्रिय पत्रिका लिएर फेरि बाँड्न निस्कन्छु । बिहान ११ बजे घर फर्किएर परिवारसँगै खाना खान्छु । त्यसपछि दिउँसो लुम्बिनी प्रेस क्लबको कार्यालय जान्छु । म प्रेस क्लबको कार्यालय सचिव पनि हुँ । दिउँसोको प्रेस क्लबको कामले खर्च भरथेग भएको छ ।
पत्रिका बाँडेर महिनामा त्यहीँ १२ हजारजति कमाइ हुन्छ । प्रेस क्लबले पनि महिनाको १२ हजार तलब दिएको छ । सहकारीबाट १० लाख ऋण झिकेर यसपाली घर बनाएको छु । अहिले महिनामा २६ हजार रुपैयाँ सहकारीमा किस्ताबापत बुझाउनुपर्छ । मेरो कमाइले सहकारीको किस्ता बुझाउनै पुग्दैन । त्यसैले मिठो मसिनो खाना कहिलेकाहीँ मात्र जुर्ने हो । अप्ठ्यारो परेका बेला सापटी खोजेर चलाउँछु ।
घरमा श्रीमती, एक छोरा र एक छोरी छन् । छोरी कक्षा ११ मा व्यवस्थापनमा अध्ययनरत छन् । छोरा कक्षा ४ मा पढ्छ । पत्रिका बाँड्दै गर्दा सहरका हरेक मानिससँग भेटघाट र सम्बन्ध राख्ने अवसर मिल्छ । यसबाट मलाई सन्तुष्टि भने भरपूर मिलेको छ ।
प्रस्तुति : दीपेन्द्र बडुवाल
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
