आखिर आफ्नै जन्मठाउँको हावापानी र परिवारको माया ठूलो हुने रहेछ । अहिले गाउँमै पसल चलाउँछु, आफ्नै गाउँका मानिससँग कुरा गर्छु, उनीहरूको हाँसोमा रमाउँछु, यही जीवन मेरा लागि ठूलो सन्तोष र प्रेरणादायी बनेको छ ।
What you should know
डडेल्धुरा — चार वर्ष भयो सामान्य खुद्रा व्यापार गरेर गुजारा चलाइरहेको छु । खिचिरमिचिर व्यापारले मात्र नधान्ने भएकाले सँगै शृंगारका सामान राखेर बेचिरहेको छु । अहिलेसम्म व्यापार ठिकै चलेको छ ।
भागेश्वर गाउँपालिका–४, बगरकोटको बासिन्दा हुँ । ठूलो बजार छैन । गाउँको कच्ची सडकछेउ सानो किराना पसल सञ्चालन गरेर अलिअलि आम्दानी र टाइमपास गरिरहेको छु । मेरो पसलमा साबुन, तेल, पाउडर, नेलपोलिसदेखि लिएर चुरा र बिन्दीसम्म पाइन्छन् ।
पसल ठूलो नभए पनि मेरा लागि यही संसार हो जस्तो लाग्न थालेको छ । परिवारको गुजारा यसैबाट चलेको छ । पसल घरमै भएकाले भाडा लाग्दैन । पसल सुरु गर्नुभन्दा अगाडि यही घरमा प्रहरी चौकी थियो । त्यतिबेला प्रहरीलाई घर भाडामा दिएकाले त्यसैबाट अलिकति कमाइ हुन्थ्यो । पछि चौकी अन्यत्र सारियो र सटर खाली भयो । सटर खाली राख्नु भन्दा पसल गर्ने सोच आयो । खाली ठाउँमा आफैंले पसल चलाउने सोच आयो । त्यसपछि म व्यापारतिर लागेँ । सुरुमा चल्ला कि नचल्ला भनेर डर पनि लाग्यो । तर, हिम्मत बलियो बनाएर व्यापार अगाडि बढाएँ ।
खाली समयमा टिकटक चलाउँछु । रमाइलो र ठट्यौली प्रकारका भिडियो बनाउँछु, हास्य नै मेरो रुचि बनेको छ ।व्यापार सुरु गर्नुभन्दा पहिले दुई वर्ष भारतमा काम गरेँ । त्यहाँ चौकीदार थिएँ । बिहान बेलुकी गेटमा पहरा दिन्थेँ । झिलिमिली बत्तीका बीच एक्लो जीवन बिताइरहेको थिएँ । भारतमा काम गरेर अलिकति पैसा जम्मा भयो । तर, मन कहिल्यै भरिएन । त्यहाँ काम गर्ने बेला रोजगारी भनेको कमाइमात्र होइन, सन्तोष र सम्बन्ध पनि हो । त्यसपछि आफ्नै गाउँमा केही गर्ने निश्चय गरेर स्वदेश फर्किने निर्णय गरेँ । मेरो बिहानी चियाको कपसँग सुरु हुन्छ । चिया पिएर पसलको ढोका खोल्ने बित्तिकै पसलमा दैनिकी चल्न थाल्छ । दिनभर ग्राहकसँगै बिताउँछु । कसैले चिनी माग्छन्, कसैले बिस्कुट, कसैले नुन, तेल, कसैले चिनी चियापत्ती र साबुन माग्छन् ।
भागेश्वर गाउँपालिकाको मुकाम पनि नजिक छ । यहाँका स्थायी ग्राहक स्थानीय बासिन्दा, छिमेकी गाउँका मानिस र गाउँपालिका कार्यालयका केही कर्मचारी हुन् । कहिलेकाहीँ अरू गाउँबाट आउने मान्छेहरू पनि पसलमा पस्छन् । म हरेकलाई आफ्नो स्थायी ग्राहकजस्तो आदर गर्छु । किनभने यहाँ आउने ग्राहक मात्र होइन, सबै चिनजानका मान्छे हुन् । १२ कक्षा पास गरेको छु । त्यसपछि पढ्न सकिएन । घरको आर्थिक अवस्था बलियो थिएन, अनि पढाइ रोकिएपछि जिम्मेवारी बढ्दै गयो । बुवाआमाको हेरचाह, परिवारको खर्च । त्यतिबेला व्यापार थिएन, रोजगारीका लागि भारततिर जानुपर्छ भन्ने सोच त्यसै बेला आएको हो । भारतको रोजगारीले थोरै कमाइ त दियो, तर मनको तिर्खा मेटाएन ।
आखिर आफ्नै जन्मठाउँको हावापानी र परिवारको माया ठूलो हुने रहेछ । अहिले गाउँमै पसल चलाउँछु, आफ्नै गाउँका मानिससँग कुरा गर्छु, उनीहरूको हाँसोमा रमाउँछु, यही जीवन मेरा लागि ठूलो सन्तोष र प्रेरणादायी बनेको छ । कहिलेकाहीँ अर्डरका सामान ढिलो आउँछन्, कहिले ग्राहक कम । स–साना सफलता र असफलताले मलाई धैर्य गर्न सिकाएको छ । खाली समयमा टिकटक चलाउँछु । रमाइलो, ठट्यौली प्रकारका भिडियो बनाउँछु, हास्य नै मेरो रुचि बनेको छ । कसैले ठट्यौली कमेन्ट गर्छ भने पनि म ठट्यौली ढंगमै जवाफ दिन्छु । धेरैले त ‘भाइरल पन्तजी’ भनेर सम्बोधन गर्न थालेका छन् । सुरुमा अचम्म लाग्थ्यो, तर पछि त्यसमा पनि रमाउन थालेँ । हाँस्न सक्ने र अरूलाई हँसाउन सक्ने क्षमता पनि त जीवनकै एउटा कमाइ हो नि !
कहिलेकाहीँ सोच्ने गर्छु, विदेशमा बसेर पैसा जम्मा गरेको भए सायद ठूलो पसल हुन्थ्यो, तर सन्तोष र माया पाउँथिनँ । अहिले पैसा त कम छ, तर मन ठूलो र दरिलो बनेको छ । अर्काको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा पसल खोलेकामा सन्तोष महसुस गरेको छु । जीवनले मलाई सिकाएको एउटै कुरा हो– ठूलो हुनेभन्दा पनि आफ्नो हुनु ठूलो कुरा रहेछ । त्यसैले गर्वसाथ भन्न सक्ने भएको छु, म यहीँ छु, आफ्नै गाउँठाउँमा रमाएको छु ।
प्रस्तुतिः तर्कराज भट्ट
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
