जुन जिल्ला पुग्दा पनि एउटा कोठा भाडामा लिन्छु । त्यहीँ चिया बनाउँछु । त्यसलाई थर्मसमा बोकेर घर/घरै पुगेर बिक्री गर्छु । नौ वर्ष भयो, यसरी चिया बेच्दै देशका विभिन्न सहर घुम्न थालेको ।
What you should know
गोरखा — मेरा साथी भन्नु नै थर्मस, कागती र गिलास हुन् । यति कुरा साथमा भएपछि गाउँघर पुगेर चिया बेच्दै डुल्छु । अहिले जाडो सुरु भयो । अब चिया खाने ग्राहक धेरै भेटिन्छन् । गर्मीमा चिया बिकाउन धौ धौ हुन्थ्यो । अहिले दिनमै डेढ सय कप चिया बिक्री गर्छु । यसबाहेक मेरो अरू कुनै इलम छैन ।
घर/घरमा डुल्दै चिया बेच्दा कहिले दिनमा १५ सय त कहिले तीन हजारसम्म कमाइ हुन्छ । चिया बेचेको पैसाले छोराहरू पढाउन र नुन–तेल किन्न पुगेको छ ।
म गाेरखाको स्थायी बासिन्दा होइन । मेरो घर अछाम हो । ११ वर्षअघि अछामबाट कैलालीको लम्कीचुवा नगनरपालिका–१ मा बसाइँ सरेको छु । अहिले ५६ वर्षको भएँ । पहाडमा हुँदा खेती किसानीमै दिन बित्थ्यो । मकै, धान, कोदो खेती गरेर समय जान्थ्यो । ११ वर्षअघि पहाडबाट झरेँ । बसाइ सरेपछि जग्गा–जमिन छुट्यो । कमाउन केही त गर्नुपर्छ भन्ने लाग्यो । कैलालीमा ६ कोठाको घर बनाएको छु । दुई छोरा छन् । उनीहरूलाई पनि पढाउन पर्यो । त्यसमा धेरै खर्च छ । घर बनाउँदाको ऋण पनि छ ।
चिया बचेरै महिनामा ३० देखि ४० हजारसम्म कमाइ गर्छु । यही कमाइले छोराहरूलाई काठमाडौंमा राखेर पढाएको छु ।२०७२ सालमा कर्णालीको चिसापानी पुल नजिकै होटल व्यवसाय गरेँ । होटल चलाउँदा दाउरा किन्दामा धेरै खर्च हुने, लगानी पनि उठाउन सकिनँ । खान, छोराहरू पढाउन त पर्यो भनेर त्यसपछि चिया बेच्न यता आएको हुँ । अरूको चिया बेच्ने स्टाइल र मेरो अलि फरक छ । जुन जिल्ला पुग्दा पनि एउटा कोठा भाडामा लिन्छु । त्यहीँ चिया बनाउँछु । त्यसलाई थर्मसमा बोकेर घर/घरै पुगेर बिक्री गर्छु । ९ वर्ष भयो, चिया बेच्दै देशका विभिन्न सहर घुम्न थालेको । गोरखा आउजाउ हुन थालेको पनि साढे तीन वर्ष हुन आँट्यो ।
चिया पनि मान्छेको स्वाद अनुसार फरक पर्दो रहेछ । कसैले सुगर लागेकाले चिनी नहालेको खोज्छन्, कसैले दुध चिया भन्छन् । थर्मसमा बोकेर हिँडेको चिया उनीहरूको चाहनाअनुसार पुर्याउन त गाह्रै छ । तर पनि म मानिसहरूले अर्गानिक चियाको स्वाद चाखून् भन्ने चाहन्छु । कपको २० रुपैयाँ लिन्छु । यसरी चिया बचेरै महिनामा ३० देखि ४० हजारसम्म कमाइ गर्छु । यही कमाइले छोराहरूलाई काठमाडौंमा राखेर पढाएको छु । घर बनाउँदा लागेको ऋण पनि धेरथोर यही कमाइले तिरिरहेको छु ।
जति कन्जुस्याइँ गरे पनि महिनामा ४० हजार त खर्च भएरै छाड्छ । दसैं–तिहार मान्न पर्यो । लुगा किन्नै पर्यो । दुईवटा छोरा कम्प्युटर साइन्स पढ्दै छन् । काठमाडौं बसेर पढिरहेका छोराहरूलाई कोठाभाडा, कलेज खर्च, नुन–तेल, कपडा गर्दा महिनामा ४० हजारले पुग्दैन ।
चिया बेचेको पैसाले घरको सबै गर्जो टरेको छ । ठूलो छोरो विदेश जान्छु भनेको छ । छोरा विदेश गएपछि ऋण तिर्ला, केही न केही कमाउला अनि सुख पाइएला जस्तो लाग्छ । जीवनमा सुख दुःख भन्ने बेहोर्नै पर्ने कुरा रहेछ ।
विभिन्न जिल्ला डुल्दै हिँड्दा साना–ठूला सजिला–अप्ठ्यारा त आइहाल्छन् । त्यसलाई आफूले सहज मान्न सक्नु पर्यो । सानातिना समस्यालाई दुःख मानेर दिक्क मान्नु भएन ।
प्रस्तुति : हरिराम उप्रेती
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
