श्रीमान्लाई व्यवहार चलाउन केही सहयोग मिल्छ कि भनेर यहाँ चोकमा बसेर मैले तरकारी/धुप बेचेकी हुँ । यहाँको आम्दानीले तरकारी, नुनतेल किन्न पुग्यो भने श्रीमान्को कमाइले कोठाभाडा र छोराछोरीलाई पढाउन सहयोग हुन्थ्यो ।
What you should know
तनहुँ — यहाँसम्मको जीवनयात्रा सहज रहेन । दुःखका अनगिन्ती पहाड कटाएर यहाँसम्म आइपुगेकी हुँ । अहिले पनि सामान्य तरिकाले जीवनयापन भइरहेको छैन । घरखर्चका लागि दिनभरि बजारका चोक–चोक डुलेर तरकारी बिक्री गर्नुपर्छ । कहिलेकाहीँ दिनभरि घामपानी नभनी धूलो पचाएर बस्दा पनि बेलुका रित्तै हात घर फर्किनु पर्छ ।
तनहुँकै देवघाट गाउँपालिका–२ मा माइतीघर छ । ५ कक्षासम्म मात्रै पढेकी छु । अहिले ४० वर्षकी भएँ । २० वर्षको उमेरमा विवाह भयो । देवघाटको कालिगंगाका होमबहादुर बाच्चे मगरसित विवाह भएको हो ।
विवाह त भयो, तर के खाने, के लाउने भन्ने अवस्था थियो । त्यसैले श्रीमान् र म सुखी भविष्यको कल्पना गर्दै २०६२ सालमा सदरमुकाम दमौली बजार आयौं । दमौली आएपछि थुप्रै हिउँद र वर्खा फेरिए तर हाम्रो जिन्दगीमा कुनै परिवर्तन ल्याउन सकिएन । बिहान–बेलुकीको गुजारा चलाउन र बालबच्चाको पठनपाठनका लागि अझै पनि संघर्ष गरिरहेका छौं ।
मेरा दुई सन्तान छन् । २० वर्षकी छोरी पुष्पा र १५ वर्षको छोरा मुस्कान । छोरी १२ कक्षाको परीक्षा दिएर बसेकी छन् र छोरो ९ कक्षामा पढ्दै छ । यहाँ आएदेखि नै मैले पनि श्रीमान् सँगसँगै काम गर्न थालेँ । करिब ६ वर्ष मजदुरी काम गरेँ । पछि स्वास्थ्यमा समस्या देखिन थाल्यो । कति झारफुक, धामी झाँक्री गरेँ तर सन्चो भएन ।
पोखरामा गएर डाक्टरलाई देखाउँदा कलेजोमा जन्डिसको दाग देखिएको छ भन्नुभयो । आफूले काम गरेर केही पैसा बचत गरेकी थिएँ, त्यसले पनि नपुगेर ५० हजार रुपैयाँ ऋण निकालेर उपचार गरेँ । उपचारपछि लामो समयसम्म औषधि खाएँ । उपचार गर्दा के कति खर्च भयो, ठ्याक्कै त भन्न सक्दिनँ तर अहिले सबै ऋण तिरेर सकेँ ।
दिनभरि तरकारी बेच्यो, बेलुका पैसा देख्छु । भोलिपल्ट साहुलाई बुझाउन त्यो ठिक्क हुन्छ, आफ्नो गोजी भने सधैं रित्तैको रित्तै ।करिब २ वर्ष भएको छ– व्यास नगरपालिकाको १ र २ नम्बर वडा जोड्ने बुल्दी खोला पुलको चोकमा तरकारी र धुप बेच्न थालेको पनि । तरकारी किनेर ल्याउने गरेकी छु । धुप आफैंले बनाएर बिक्री गर्छु । साहुबाट किनेर ल्याएको तरकारी केही रकम बढी लिएर बिक्री वितरण गर्दै आएकी छु । बोडी, गोलभेंडा, पिँडालु, घिरौला, काँक्रो, बदाम, सुन्तला लगायत मौसम अनुसारका फलफूल तथा तरकारी ल्याएर बिक्री गर्ने गर्छु ।
व्यास नगरपालिका–१ को भादगाउँमा मासिक ५ हजार रुपैयाँका दरले भाडा तिर्ने गरी २ वटा कोठा लिएर बसेका छौं । मैले कमाएकाले मासिक भाडा पनि तिर्न पुग्दैन । दिनभरि तरकारी बेच्यो, बेलुका पैसा देख्छु । भोलिपल्ट साहुलाई बुझाउन त्यो ठिक्क हुन्छ, आफ्नो गोजी भने सधैं रित्तैको रित्तै । तरकारी बेचेर पैसा कत्ति पनि बच्दैन । एक दिनमा ल्याएको सामान एकै दिनमा बिक्री भए बच्थ्यो पनि होला तर एक दिनमा ल्याएको तरकारी ४/५ दिनसम्म पनि बिक्री नहुँदा कहिले काही खेर जान्छ । तरकारी ओइलाएपछि ग्राहकले लग्नुहुन्न, त्यो हामीले नै पकाएर खान्छौं ।
श्रीमान्लाई व्यवहार चलाउन केही सहयोग मिल्छ कि भनेर यहाँ चोकमा बसेर मैले तरकारी/धुप बेचेकी हुँ । यहाँको आम्दानीले तरकारी, नुनतेल किन्न पुग्यो भने श्रीमान्को कमाइले कोठाभाडा र छोराछोरीलाई पढाउन सहयोग हुन्थ्यो । तर, बिहान ७ बजेदेखि बेलुका अँध्यारो नभएसम्म बस्दा पनि २/३ सय कमाइ हुन्न ।
श्रीमान्ले ढुङ्गा काट्ने काम गर्नुहुन्छ । काम हुँदा उहाँको महिनामा करिब ३० हजार रुपैयाँ कमाइ हुन्छ । अहिले घरहरू पनि खासै बन्दैनन् । त्यसैले काम पनि छैन भन्नुहुन्छ । काम नभएपछि कमाइ हुने पनि त त्यस्तै हो । मेरो केही रहँदैन, बिहानदेखि काम गर्यो, बेलुका साहुलाई बुझाउनुपर्छ, आफ्नो हात त रित्तै ।
श्रीमान्को कमाइ पनि छोराछोरीको पढाइ भन्यो, कोठा भाडा, यताउता भन्यो सकिन्छ । अझै पनि बचत गर्न सकेका छैनौं । ऋण नहुँदा भने खुसी छौं । दुई जनाको कमाइले बिहान–बेलुकाको छाक भने टुटेको छैन ।
प्रस्तुति : सम्झना रसाइली
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
