‘आफैंले बनाएका बाजाको ताल गुञ्जिएको सुन्दा मनै प्रफुल्ल हुन्छ’

'गाउँदेखि सहरसम्म हुने विवाह, व्रतबन्ध र जात्रा–उत्सवमा जब आफ्नै हातले बनाएका बाजाको स्वर गुञ्जिन्छ, त्यो देख्दा र सुन्दा मनै प्रफुल्ल हुन्छ । त्यो आवाजमा आफ्नो पसिना मिसिएको महसुस हुन्छ । पसिनाको मिठो बास्ना आउँछ ।'

मंसिर ४, २०८२

छविलाल विश्वकर्मा

”It makes me happy to hear the rhythm of the instrument I made myself.”

What you should know

रामेछाप — आरन मेरो कर्म हो । यही काम गर्नु मेरो धर्म पनि बनेको छ । बाल्यकालमै बुबासित आरन चलाउन सिकेको हुँ । कहिलेदेखि आरन चलाउन सुरु गरेँ भन्ने त सम्झिन मुस्किल पर्छ । कहिलेदेखि घन समातेँ, कहिलेबाट फलाम तताएँ, त्यो समय पनि अब याद छैन ।

जहिलेदेखि फलाम पिट्न सिकेँ, त्यही बेलादेखि अहिलेसम्म यहीँ पेसा गरिरहेको छु । बरु बुवाले सिकाएको सीपलाई अझ तिखार्न अरू ठाउँमा गएर तालिम पनि लिएँ । पहिले फलाम पिट्ने काममात्र जानेको थिएँ । तालिम लिएपछि पञ्चेबाजा र नौमती बाजा बनाउन पनि सक्ने भएको छु । 

बेलैमा काम सिकेर त अहिले अर्डरअनुसार पञ्चेबाजा र नौमती बाजाका सबै उपकरण आफ्नै आरनमा बनाउँछु । कर्नाल, सनाई, दमाहा, नर्सिङ सबै बनाउँछु । गाउँदेखि सहरसम्म हुने विवाह, व्रतबन्ध र जात्रा–उत्सवमा जब आफ्नै हातले बनाएका बाजाको स्वर गुञ्जिन्छ, त्यो देख्दा र सुन्दा मनै प्रफुल्ल हुन्छ । त्यो आवाजमा आफ्नो पसिना मिसिएको महसुस हुन्छ । पसिनाको मिठो बास्ना आउँछ ।

तामाको एउटा कर्नाल १५ हजारमा, पित्तलको ११ हजार रुपैयाँमा बेच्दै आएको छु । अर्डरअनुसार कर्नाल बाक्लो वा पातलो बनाउने भएकाले मूल्य घटबढ पनि हुने गरेको छ । रामेछाप, दोलखा मात्रै होइन, काठमाडौंसम्मबाट पनि अर्डर आउने गर्छन् । उत्पादन गर्न खासै समस्या छैन । तर बजार भने सोचेजस्तो छैन । माग घट्दै गएको छ । 

कहिलेकाहीँ भनेको मूल्यमा बिक्री नहुने भएपछि सस्तोमै बेच्न बाध्य हुन्छु । यस्तै सामग्री बनाउन मेरो हातमा अझै बल छ । तर बजारमा त्यो उत्पादित सामग्रीको मूल्य दुःख अनुसार पाइन्न । खेतबारीबाट खासै आम्दानी हुँदैन । मेरो मुख्य आयस्रोत यही आरन हो । यही आरनको भरोसामा नै म बाँचिरहेको छु । यही पेसाबाट मैले तीन छोरा र दुई छोरीलाई हुर्काएँ, पढाएँ । अहिले पनि परिवारको सबै खर्च कटाएर वर्षमा दुई–तीन लाख रुपैयाँ बचत हुन्छ होला । 

पहिले फलाम पिट्ने काममात्र जानेको थिएँ । तालिम लिएपछि पञ्चेबाजा र नौमती बाजा बनाउन पनि सक्ने भएको छु ।मेरो घर मन्थली नगरपालिका–९ पुरानागाउँ बाहुनचुरा हो । पाँच दशकदेखि यही आरनमा फलाम पिट्दै, काट्दै, मोड्दै मेरो जीवनयात्रा चलिरहेको छ । पुरानै शैलीमा यो आरन पेसा अब टिकाउन मुस्किल छ । समयसँगै हिँड्न र प्रविधिको सहयोग लिन पनि जान्नुपर्छ । मैले पनि यही सोचेँ र आरनलाई बिस्तारै प्रविधियुक्त बनाउँदै लगेँ । 

अहिले अर्डर अनुसारका बाजा बनाउन अब पहिलेभन्दा सहज भएको छ । अब स्थानीय सरकारले गाउँमा उत्पादन भएका पञ्चेबाजा र नौमती बाजाको बजारमा पनि ध्यान दिए माल अनुसारको मूल्य पाइन्थ्यो कि !

पछिल्लो समयमा मानिसहरू स्थानीय स्तरमा बनेका सामान कमै किन्छन् । बजारमा बाहिरका सस्ता बस्तुहरूले ठाउँ लिँदै छन् । जसका कारण गाउँमा टिकेका पुराना आरन बिस्तारै हराउँदै छन् । कुनै समय गाउँको आर्थिक र सांस्कृतिक जीवनको आधार रहेको आरन पेसा अहिले संकटमा छ । यसलाई जोगाउन स्थानीय सरकारले बजार विस्तार, प्रविधिमा पहुँच र युवा पुस्तालाई आकर्षित गर्ने योजना ल्याउनुपर्छ भन्ने मेरो विश्वास छ । हामीले जोगाएको यो सीप हरायो भने केवल बाजा मात्र हराउने होइन– हाम्रो संस्कृतिको स्वर, हाम्रो गाउँको पहिचान पनि हराउनेछ ।

प्रस्तुति  : नवराज श्रेष्ठ

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

छविलाल

Link copied successfully