मोटरसाइकलमा सानो माइक अगाडि राखेको छु । जसमा ‘ताजा अर्गानिक तम्घासको च्याउ आयो’ भनेर मेरो आवाज रेकर्ड छ । त्यही आवाज बजाउँदै हिँड्छु । मेरो त्यही आवाज सुनेपछि च्याउ किन्न घरबाट बाटोमा निस्कन्छन् मानिसहरू ।
What you should know
गुल्मी — मुलुकमा केही उपाय नलागेपछि धन कमाउन भनेर विदेश गएँ । विदेशबाट फर्किएको पनि १२ वर्ष भयो । ६ वर्ष साउदी अरब बसेर फर्किएको हुँ । अहिले तम्घासमा आएर गुजारा चलाउन लागेको १० वर्ष भइसक्यो । यहाँ आएर च्याउ बेच्न थालेपछि राम्रै भएको छ ।
लामो समय बेकरीमा काम गरें । तलब पनि राम्रै थियो । बेकरीको काम झन्झटिलो लागेर कामै छाडें । बीचमा केही काम गरिनँ । पछि गुजारा चलाउन च्याउ बेच्न थालेको हुँ । जसबाट राम्रै भएको छ ।
अहिले म ४१ वर्षको भएँ । मेरो घर अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खोरधारामा छ । सानैदेखि गुल्मीको सदरमुकाम तम्घास आउजाउ गरियो । त्यसैले अहिले बसोबास पनि यतै छ ।
अहिले तम्घासबाट च्याउ र माछा बेच्न गाउँगाउँ पुग्ने गरेको छु । डल्ले च्याउ, राधे च्याउ र पराले च्याउ बेच्छु । बेचेर आएको रकमबाट २० प्रतिशत मलाई हुन्छ । यसो भनौं त्यति नाफा हुन्छ । यसबाट मासिक ३०/३५ हजार कमाइ हुन्छ । मोटरसाइकलको खर्च र खाना–नास्तामा १०/१५ हजार खर्च हुन्छ । अहिले च्याउ र माछा बेच्न गुल्मी जिल्लाभर, अर्घाखाँची र बाग्लुङका केही ठाउँमा पुग्ने गर्छु । मेरा केही नियमित ग्राहक छन् ।
पराले च्याउ प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री हुन्छ । माछा प्रतिकिलो ५ सय रुपैयाँमा बिक्छ । डल्ले च्याउ र राधे च्याउ प्रतिकिलो ५ सय रुपैयाँ पर्छ । घरमा आमाबुबा, दुई छोरा र श्रीमती छन् । उनीहरू सबै गाउँमै बस्छन् । मासिक २०/२५ हजार रुपैयाँमा घरखर्च सबै उम्किन्छ ।
कमाएको रकम खर्च भएपछि गुजारा चल्ने गरेको छ । घरमा दुई भैंसी र १० बाख्रा, स्थानीय जातका केही कुखुरा छन् । घरमा बसेपछि आम्दानी नभए पनि यो सामान्य कुरा नै हो । घरमा कहिलेकाहीँ सानो खर्च यसैबाट पनि चल्छ । ठूलो खर्च हुने भएपछि मैले खर्चिन्छु । काम गरेपछि सानोतिनो खर्चका लागि आत्तिनु पर्दैन ।
दैनिक ४० किलो आसपास सामान बोकेर ८० किलोमिटरको दूरी तय गर्छु ।काम गर्दा दुःख सबैलाई हुन्छ । चिसो मौसममा मोटरसाइकलमा टाढा टाढा जानुपर्दा दुःख भइहाल्छ । नहुने कुरा भएन । तर दुःख भए पनि गुजारा त चलाउन काम गर्नुपर्छ । मोटरसाइकल, पेट्रोल र नास्ता खर्च कटाएर घरखर्च चल्छ । दैनिकी गुजारा चलेको छ भन्नुपर्छ । दिनभर कमाउने र साँझ खाने भने पनि भयो ।
म बाग्लुङको बुर्तिवाङसहित गुल्मी र अर्घाखाँचीसम्म पुग्छु । शान्तिपुर, पुर्कोट दह, हाडहाडे, सौतामारे, सिमलटारी, खनदह, अर्खबाङ र वामीटक्सार लगायत ठाउँमा च्याउ बिक्री गर्न पुग्छु । दैनिक ४० किलो आसपास सामान बोकेर हिँड्ने गर्छु । ८० किलोमिटर दूरी बराबर दैनिक यात्रा तय गर्नुपर्छ ।
गाउँमा मान्छे छैनन् । मेलोमेसोमा मान्छे भेटिन्छन् । अघिपछि मान्छे भेटिँदैनन् । १/२ जना भेटिने हुन् । बुढाबुढी बाहेकका मानिस गाउँमा भेट्न दुर्लभ नै छ । बिक्री गर्न कहिलेकाहीँ अप्ठ्यारो पनि पर्छ । मोटरसाइकलको पछि क्यारेट लिएर हिँड्नुपर्छ । ट्राफिकले क्यारेट हाल्न नमिल्ने भन्छन् । तर गरिखानका लागि काम त गर्नैपर्छ ।
नियमकानुन मान्ने कुरा त सही हो । तर नियम मानेर भोकै बस्न पनि त सकिएन । ठूलो गाडी किनेर बेच्न हिँड्ने आर्थिक क्षमता छैन । त्यसैले मोटरसाइकलमै यसरी बोकेर हिँड्न दिनुपर्छ भन्छु । कहिलेकाहीँ असहजता हुँदा दुःखसुख बताएपछि छाडिदिन्छन् ।
लत्ताकपडा र खानपिनमा त्यस्तो ठूलो खर्च हुँदैन । तर, चिसो मौसममा तातो कपडा लगाउनु पर्छ । यसमा सामान्य खर्च त भइहाल्छ । विदेश पनि त्यस्तै हो । विदेश गएर पनि काम गरियो । त्यस्तो खास केही प्रगति भएन । दुःख मात्रै पाएँ । नेपालमै केही गर्छु भन्ने लाग्यो । त्यस्तो छुट्टै केही गर्न नसके पनि सामान्य काम गरेर गुजारा चलिरहेको छ ।
मोटरसाइकलमा सानो माइक अगाडि राखेको छु । जसमा ‘ताजा अर्गानिक तम्घासको च्याउ आयो’ भनेर मेरो आवाज रेकर्ड छ । त्यही आवाज बजाउँदै हिँड्छु । मेरो त्यही आवाज सुनेपछि च्याउ किन्न घरबाट बाटोमा निस्कन्छन् मानिसहरू । यसरी नै चलिरहेको छ मेरो खुद्रे व्यापार ।
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
