‘कमाउनै पर्ने बाध्यता छैन तर काम नगर्दा निद्रै लाग्दैन’

'घरमा त्यत्तिकै बसेर खानै रुचेन । त्यसैले डेढ वर्षदेखि आफ्नै गाउँको चोकमा साइकल फिट्टर खोलेर फेरि काममा फर्किएको छु । छोराहरू त आराम गर्न भन्छन् तर बाल्यकालदेखि गरेको काम छोड्नै मन लाग्दैन ।'

मंसिर ८, २०८२

हरेराम राय

”There is no obligation to earn, but if you don't work, you won't be able to sleep.”

What you should know

सप्तरी — बाल्यकालदेखि निरन्तर काम गर्दा अहिले बुढेसकालमा आएर बसेर खानै रुच्दैन । म अहिले ६८ वर्ष पार गर्न लागेँ । छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा घर छ । १४/१५ वर्षकै उमेरमा सदरमुकाम राजविराजको कुनौली मोडमा साइकल मर्मतको काममा लागेँ ।

साइकल चलाउन मलाई बहुत राम्रो लाग्थ्यो । फेरि त्यो बेला रिक्सा र साइकलबाहेकका सवारीसाधन पनि कमै थिए । त्यही भएर पनि साइकल फिट्टर अर्थात् साइकल मर्मतकै काम रोजेँ । अलिअलि साइकल मर्मत गर्न तथा पन्चर बनाउनचाहिँ आउँथ्यो । सुरुमा पन्चरै बनाउँथेँ ।

त्यतिबेला जताततै साइकल र रिक्सा चल्थे । तर, मर्मत गराउन कोही पनि आउँदैनथे । समय बित्दै जाँदा पन्चर बनाउन आउनेहरू बढ्दै भीडभाड नै लाग्न थाल्यो । पछि मर्मत गराउनेहरू पनि अत्यधिक आउन थाले । मन लगाएर काम गर्थें । मर्मत गराउनेहरूसँग धेरै प्रशंसा पनि पाउँथेँ । म पनि खुसी थिएँ । तर, त्यही बेला सरकारी जागिरमा जानका लागि सबैतिर मारामार भइरहेको थियो । 

बसेर खानुभन्दा दुई पैसा कमाएर खाँदा जिन्दगी आनन्दको लाग्दो रहेछ ।मेरो पनि मन त्यतैतिर जान थाल्यो । सामान्य लेखपढ गर्न मलाई पनि आउँथ्यो । हाम्रै जिल्लाका एक जना न्यायाधीश थिए । संयोगवश उनीसँग चिनजान थियो । म पनि सरकारी जागिर गर्न चाहन्छु भनेर न्यायाधीशसमक्ष इच्छा राखेर आग्रह गरेँ । भोलिदेखि नै सबै समान बोकेर आउन भनेपछि म पनि भोलिपल्ट पुगेँ । त्यसको एक दिनपछि न्यायाधीशसँग डोटी जिल्ला अदालत पुगेँ । उनी त्यहीँ न्यायाधीश थिए ।

फेरि फिट्टरकै रूपमा काम गर्न सुरु गरेँ । त्यसको केही समयपछि बिहे पनि भयो । जिम्मेवारी थपिँदै गयो । छोराछोरी जन्मिए । अब गम्भीरतापूर्वक काम गर्नु बाहेकको विकल्प रहेन । सडक बाटो अहिलेको जति विस्तार भइसकेको थिएन । सबै साइकल र रिक्सालाई ७/८ दिनमा मर्मत गराउनै पर्थ्यो । त्यसैले पनि मर्मत गराउन साइकल र रिक्सा लिएर काफी ग्राहक आउँथे । पन्चर बनाउनेको त भीड नै लाग्थ्यो । अझै बिर्सेको छैन । सडकमा अहिलेको जति चाप हुँदैन्थ्यो । मर्मतको काम गरिरहँदा पन्चर बनाउनेहरू साइकल र रिक्सा लगाउँदै आधा सडक छेकिदिन्थे । अनि मलाई मर्मतभन्दा पहिला पन्चर नै बनाउनु पर्थ्यो । 

मन लगाएर महिनाभरि काम गर्दा ४/५ हजार रुपैयाँ आम्दानी भइहाल्थ्यो । साइकल फिट्टरको काम गर्दै दुई जना छोरालाई पढाएँ पनि । मेरा तीन जना छोरी पनि छन् । तर, परिवारको गुजारा चलाउन कहिल्यै समस्या भएन । बिहानैदेखि बेलुकासम्मै काम गर्थें । बेलुका प्रायः खाना खाने बेलामा मात्रै घर फर्किन्थेँ । पछि छोराहरू कमाउन थाले । एक जना छोरा वैदेशिक रोजगारीमा छन् । कमाउनैपर्ने बाध्यता रहेन । त्यसैले पनि राजविराजमा गर्दै आएको साइकल फिट्टरको काम छोडेँ ।

तर, घरमा बसेर खानै रुचेन । काम गर्ने बानी परिसकेको थियो । अनि डेढ वर्षदेखि आफ्नै गाउँको चोकमा साइकल फिट्टर खोलेर फेरि काममा फर्किएँ । छोराहरू त आराम गर्न भन्छन् तर बाल्यकालदेखि गरेको काम छोड्नै मन लाग्दैन । फेरि काम नगर्दा निद्रै पनि लाग्दैन । 

अहिले चोकमा राखेको घुम्तीको मासिक ५ सय रुपैयाँ तिर्छु । मर्मत र पन्चरका सामानको खर्च काटेर दैनिक ३ देखि ५ सय रुपैयाँसम्म आम्दानी पनि भइहाल्छ । अहिले त्यो बेलाको जस्तो न रिक्सा रह्यो, न त साइकल नै । त्यसैले पनि काममा खासै व्यस्त हुन पर्दैन । दैनिक २/३ वटा ठेला/रिक्सा र ७/८ वटासम्म साइकल मर्मतका लागि ल्याउँछन् । पन्चर लगाउने पनि आउँछन् ।

अहिले रिक्सा र साइकलमा हावा भरेको पैसा लिन्नँ । मर्मत गराउनेसँग पनि पैसाका लागि धेरै कर गर्दिनँ । फेरि सबै गाउँले नै हुन्छन् । कोही ३० त कोही ५० रुपैयाँसम्म दिन्छन् । तर, कामबापत हुने पैसाभन्दा कमै लिन्छु ।  दिनभर काम गरेर साँझ घर फर्किन लाग्दा तरकारी र केही खित्रिकमित्रिक समान किन्छु । तरकारी र किराना पसलबाट किनेको सामान लिएर घर फर्किंदा सबै खुसी हुन्छन् । सबै कुरा राम्रो चलेको छ । बसेर खानुभन्दा दुई पैसा कमाएर खाँदा जिन्दगी आनन्दको लाग्दो रहेछ । 

प्रस्तुतिः विद्यानन्द राम

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

हरेराम

Link copied successfully