'घरमा त्यत्तिकै बसेर खानै रुचेन । त्यसैले डेढ वर्षदेखि आफ्नै गाउँको चोकमा साइकल फिट्टर खोलेर फेरि काममा फर्किएको छु । छोराहरू त आराम गर्न भन्छन् तर बाल्यकालदेखि गरेको काम छोड्नै मन लाग्दैन ।'
What you should know
सप्तरी — बाल्यकालदेखि निरन्तर काम गर्दा अहिले बुढेसकालमा आएर बसेर खानै रुच्दैन । म अहिले ६८ वर्ष पार गर्न लागेँ । छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा घर छ । १४/१५ वर्षकै उमेरमा सदरमुकाम राजविराजको कुनौली मोडमा साइकल मर्मतको काममा लागेँ ।
साइकल चलाउन मलाई बहुत राम्रो लाग्थ्यो । फेरि त्यो बेला रिक्सा र साइकलबाहेकका सवारीसाधन पनि कमै थिए । त्यही भएर पनि साइकल फिट्टर अर्थात् साइकल मर्मतकै काम रोजेँ । अलिअलि साइकल मर्मत गर्न तथा पन्चर बनाउनचाहिँ आउँथ्यो । सुरुमा पन्चरै बनाउँथेँ ।
त्यतिबेला जताततै साइकल र रिक्सा चल्थे । तर, मर्मत गराउन कोही पनि आउँदैनथे । समय बित्दै जाँदा पन्चर बनाउन आउनेहरू बढ्दै भीडभाड नै लाग्न थाल्यो । पछि मर्मत गराउनेहरू पनि अत्यधिक आउन थाले । मन लगाएर काम गर्थें । मर्मत गराउनेहरूसँग धेरै प्रशंसा पनि पाउँथेँ । म पनि खुसी थिएँ । तर, त्यही बेला सरकारी जागिरमा जानका लागि सबैतिर मारामार भइरहेको थियो ।
बसेर खानुभन्दा दुई पैसा कमाएर खाँदा जिन्दगी आनन्दको लाग्दो रहेछ ।मेरो पनि मन त्यतैतिर जान थाल्यो । सामान्य लेखपढ गर्न मलाई पनि आउँथ्यो । हाम्रै जिल्लाका एक जना न्यायाधीश थिए । संयोगवश उनीसँग चिनजान थियो । म पनि सरकारी जागिर गर्न चाहन्छु भनेर न्यायाधीशसमक्ष इच्छा राखेर आग्रह गरेँ । भोलिदेखि नै सबै समान बोकेर आउन भनेपछि म पनि भोलिपल्ट पुगेँ । त्यसको एक दिनपछि न्यायाधीशसँग डोटी जिल्ला अदालत पुगेँ । उनी त्यहीँ न्यायाधीश थिए ।
फेरि फिट्टरकै रूपमा काम गर्न सुरु गरेँ । त्यसको केही समयपछि बिहे पनि भयो । जिम्मेवारी थपिँदै गयो । छोराछोरी जन्मिए । अब गम्भीरतापूर्वक काम गर्नु बाहेकको विकल्प रहेन । सडक बाटो अहिलेको जति विस्तार भइसकेको थिएन । सबै साइकल र रिक्सालाई ७/८ दिनमा मर्मत गराउनै पर्थ्यो । त्यसैले पनि मर्मत गराउन साइकल र रिक्सा लिएर काफी ग्राहक आउँथे । पन्चर बनाउनेको त भीड नै लाग्थ्यो । अझै बिर्सेको छैन । सडकमा अहिलेको जति चाप हुँदैन्थ्यो । मर्मतको काम गरिरहँदा पन्चर बनाउनेहरू साइकल र रिक्सा लगाउँदै आधा सडक छेकिदिन्थे । अनि मलाई मर्मतभन्दा पहिला पन्चर नै बनाउनु पर्थ्यो ।
मन लगाएर महिनाभरि काम गर्दा ४/५ हजार रुपैयाँ आम्दानी भइहाल्थ्यो । साइकल फिट्टरको काम गर्दै दुई जना छोरालाई पढाएँ पनि । मेरा तीन जना छोरी पनि छन् । तर, परिवारको गुजारा चलाउन कहिल्यै समस्या भएन । बिहानैदेखि बेलुकासम्मै काम गर्थें । बेलुका प्रायः खाना खाने बेलामा मात्रै घर फर्किन्थेँ । पछि छोराहरू कमाउन थाले । एक जना छोरा वैदेशिक रोजगारीमा छन् । कमाउनैपर्ने बाध्यता रहेन । त्यसैले पनि राजविराजमा गर्दै आएको साइकल फिट्टरको काम छोडेँ ।
तर, घरमा बसेर खानै रुचेन । काम गर्ने बानी परिसकेको थियो । अनि डेढ वर्षदेखि आफ्नै गाउँको चोकमा साइकल फिट्टर खोलेर फेरि काममा फर्किएँ । छोराहरू त आराम गर्न भन्छन् तर बाल्यकालदेखि गरेको काम छोड्नै मन लाग्दैन । फेरि काम नगर्दा निद्रै पनि लाग्दैन ।
अहिले चोकमा राखेको घुम्तीको मासिक ५ सय रुपैयाँ तिर्छु । मर्मत र पन्चरका सामानको खर्च काटेर दैनिक ३ देखि ५ सय रुपैयाँसम्म आम्दानी पनि भइहाल्छ । अहिले त्यो बेलाको जस्तो न रिक्सा रह्यो, न त साइकल नै । त्यसैले पनि काममा खासै व्यस्त हुन पर्दैन । दैनिक २/३ वटा ठेला/रिक्सा र ७/८ वटासम्म साइकल मर्मतका लागि ल्याउँछन् । पन्चर लगाउने पनि आउँछन् ।
अहिले रिक्सा र साइकलमा हावा भरेको पैसा लिन्नँ । मर्मत गराउनेसँग पनि पैसाका लागि धेरै कर गर्दिनँ । फेरि सबै गाउँले नै हुन्छन् । कोही ३० त कोही ५० रुपैयाँसम्म दिन्छन् । तर, कामबापत हुने पैसाभन्दा कमै लिन्छु । दिनभर काम गरेर साँझ घर फर्किन लाग्दा तरकारी र केही खित्रिकमित्रिक समान किन्छु । तरकारी र किराना पसलबाट किनेको सामान लिएर घर फर्किंदा सबै खुसी हुन्छन् । सबै कुरा राम्रो चलेको छ । बसेर खानुभन्दा दुई पैसा कमाएर खाँदा जिन्दगी आनन्दको लाग्दो रहेछ ।
प्रस्तुतिः विद्यानन्द राम
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
