‘गिट्टी कुटेर छाक टारिरहेछु, पसल त भुल्नका लागि मात्रै हो’

'गिट्टी मात्रै कुट्ने काम गर्दा काम नभएका बेला गाउँ डुल्ने र बिग्रने भएपछि पसल राखेको हुँ । पसल पनि के भन्ने यसलाई ! भुल्ने बाटो मात्रै हो । पसलको सबै सामान जोड्दा दुई हजार रुपैयाँ छैन होला !'

मंसिर ११, २०८२

बोमबहादुर थापा

”I'm just trying to make ends meet by pounding gravel, the shop is just for forgetting.”

What you should know

गुल्मी — भारतमा दुःख गरेर जम्मा गरेको र घरखर्च कटाएर बचेको केही रकम तथा दुई लाख रुपैयाँ ऋण लिएर घर बनाएको छु । विडम्बना ! त्यही घर पनि अहिले तलबाट पहिरोले तान्न लागेको छ । घरको अवस्था सम्झेर राति निद्रा लाग्न छाडेको छ । भत्किन थालेको घर अब मैले बचाउन सक्ने अवस्था छैन । मान्छे जीवित रहेसम्म दुःखकष्टले छोड्दो रहेनछ भनेर चित्त बुझाउँछु ।

म अहिले ५७ वर्षको भएँ । मेरो घर रेसुंगा नगरपालिका–१२ काब्रारुखमा पर्छ । अहिले हरेडाँडामा घर बनाएर बसेको छु । म घरमा एक्लै बस्छु । म पाँच वर्षको हुँदा बुबा बित्नुभएको हो । आमा एक्लैले मलाई पढाउन नसकेपछि मेरो पढाइ दुई कक्षाभन्दा अगाडि बढ्न सकेन । ११ वर्षको हुँदा भारत गएँ । सानै उमेरमा कामका लागि भारतमा गएपछि लामो समय उतै भुलेँ ।

पन्जाबमा झन्डै १८ वर्ष बिताएँ । गाउँमा मेलापर्वमा आउजाउ भने भइरहन्थ्यो । त्यही क्रममा उमेर बढ्दै गएपछि बिहे पनि भयो । दुई छोरा पनि भए । पछि श्रीमतीले छाडेर गइन् । अहिले १७ र १४ वर्षका दुई छोरा छन् । ठूलो चाहिँ बुटवलमा होटलमा काम गर्छ । आफ्नो खर्च आफैं पुर्‍याएको छ । कान्छो चाहिँ दिदीसँग यहीँ हाम्रै चारपाला ठूलचौरमा बसेर पढ्छ ।

परिवार पाल्न समस्या भएपछि ढुंगा बोकेर गिट्टी कुट्ने काममा लागेको हुँ ।म अहिले घरमा एक्लै बस्छु । दुई छाक खाना पकाएर खाँदिनँ । एक छाक बिहान पकाउँछु । साँझलाई राखेर त्यही खाना खान्छु । घरमा एक्लै भएपछि यस्तै हुने रहेछ । कुनै समयको टुंगो हुँदैन ।

एक ट्याक्टर गिट्टी कुट्न १५/२० दिन लाग्छ । ढुंगा नै पाइँदैन । धेरै तलबाट बोकेर ल्याउनुपर्छ । अनि गिट्टी तयार गर्नुपर्छ । सधैं सजिलोसँग हुँदैन । त्यसैले गिट्टी त सधैं कुट्ने तर एक ट्याक्टर पुर्‍याउन कहिलेकाहीँ लामो समय पनि लाग्छ । जे काम गरे पनि काम गर्नेलाई समस्या छ । काम फरक होला, समस्या सानो ठूलो होला तर समस्या भने छ । मेरो भोगाइमा यस्तै छ । 

गिट्टी मात्रै कुट्ने काम गर्दा काम नभएका बेला गाउँ डुल्ने र बिग्रने भएपछि पसल राखेको हुँ । पसल पनि के भन्ने यसलाई ! भुल्ने बाटो मात्रै हो । पसल नाम मात्रैको छ । सबै जोड्दा दुई हजार रुपैयाँको पसल होला ! बाटोमा हिँड्नेले कहिलेकाहीँ छिटफुट सामान किन्छन् । यो सानो छाप्रोको झुप्रोमा चाउचाउ, बिस्कुट, दालमोट र मिठाइँजस्ता कुरा राख्छु । कहिलेकाहीँ १० रुपैयाँको पनि बिक्री हुँदैन । कहिलेकाहीँ एक सय रुपैयाँसम्मको बिक्री हुन्छ । नाफा त कुरै भएन । भुल्नका लागि पसल भयो, घरखर्च चलाउन त गिट्टी कुट्नैपर्छ ।

बीचको समयमा बुटवल होटलमा पनि काम गरेँ । गाउँमा आएर पनि घर बनाउने काममा हिँडेँ । त्यसबाट कुनै प्रगति भएन । परिवार पाल्न समस्या भएपछि ढुंगा बोकेर गिट्टी कुट्ने काममा लागेको हुँ । बिहानैदेखि बेलुकासम्म गिट्टी कुट्छु । यसैबाट गुजारा चलेको छ ।

खानामा भातसँग दाल र तरकारीमध्ये एक भए भइहाल्छ । त्यस्तो मिठोमसिनो भन्ने छैन । छाक टार्न सके भइहाल्छ । कपडा लगाउन पनि सामान्य भए पनि हुन्छ । सामान्य लुगाफाटो लगाउँछु । समय कटाउन मात्रै सकिएको छ । अरु केही गर्न सकिएको छैन । घरमा खेतीपाती यताउता केही गरेको छैन । आफूले नै ज्यान पाल्न गाह्रो छ । बस्तुभाउ पालेर के गर्नु ! कसैले कृपा गरेर सहयोग गरे पनि हुने थियो जस्तो लाग्छ !

प्रस्तुति : सन्तोष महतारा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

बोमबहादुर थापा

Link copied successfully