'गिट्टी मात्रै कुट्ने काम गर्दा काम नभएका बेला गाउँ डुल्ने र बिग्रने भएपछि पसल राखेको हुँ । पसल पनि के भन्ने यसलाई ! भुल्ने बाटो मात्रै हो । पसलको सबै सामान जोड्दा दुई हजार रुपैयाँ छैन होला !'
What you should know
गुल्मी — भारतमा दुःख गरेर जम्मा गरेको र घरखर्च कटाएर बचेको केही रकम तथा दुई लाख रुपैयाँ ऋण लिएर घर बनाएको छु । विडम्बना ! त्यही घर पनि अहिले तलबाट पहिरोले तान्न लागेको छ । घरको अवस्था सम्झेर राति निद्रा लाग्न छाडेको छ । भत्किन थालेको घर अब मैले बचाउन सक्ने अवस्था छैन । मान्छे जीवित रहेसम्म दुःखकष्टले छोड्दो रहेनछ भनेर चित्त बुझाउँछु ।
म अहिले ५७ वर्षको भएँ । मेरो घर रेसुंगा नगरपालिका–१२ काब्रारुखमा पर्छ । अहिले हरेडाँडामा घर बनाएर बसेको छु । म घरमा एक्लै बस्छु । म पाँच वर्षको हुँदा बुबा बित्नुभएको हो । आमा एक्लैले मलाई पढाउन नसकेपछि मेरो पढाइ दुई कक्षाभन्दा अगाडि बढ्न सकेन । ११ वर्षको हुँदा भारत गएँ । सानै उमेरमा कामका लागि भारतमा गएपछि लामो समय उतै भुलेँ ।
पन्जाबमा झन्डै १८ वर्ष बिताएँ । गाउँमा मेलापर्वमा आउजाउ भने भइरहन्थ्यो । त्यही क्रममा उमेर बढ्दै गएपछि बिहे पनि भयो । दुई छोरा पनि भए । पछि श्रीमतीले छाडेर गइन् । अहिले १७ र १४ वर्षका दुई छोरा छन् । ठूलो चाहिँ बुटवलमा होटलमा काम गर्छ । आफ्नो खर्च आफैं पुर्याएको छ । कान्छो चाहिँ दिदीसँग यहीँ हाम्रै चारपाला ठूलचौरमा बसेर पढ्छ ।
परिवार पाल्न समस्या भएपछि ढुंगा बोकेर गिट्टी कुट्ने काममा लागेको हुँ ।म अहिले घरमा एक्लै बस्छु । दुई छाक खाना पकाएर खाँदिनँ । एक छाक बिहान पकाउँछु । साँझलाई राखेर त्यही खाना खान्छु । घरमा एक्लै भएपछि यस्तै हुने रहेछ । कुनै समयको टुंगो हुँदैन ।
एक ट्याक्टर गिट्टी कुट्न १५/२० दिन लाग्छ । ढुंगा नै पाइँदैन । धेरै तलबाट बोकेर ल्याउनुपर्छ । अनि गिट्टी तयार गर्नुपर्छ । सधैं सजिलोसँग हुँदैन । त्यसैले गिट्टी त सधैं कुट्ने तर एक ट्याक्टर पुर्याउन कहिलेकाहीँ लामो समय पनि लाग्छ । जे काम गरे पनि काम गर्नेलाई समस्या छ । काम फरक होला, समस्या सानो ठूलो होला तर समस्या भने छ । मेरो भोगाइमा यस्तै छ ।
गिट्टी मात्रै कुट्ने काम गर्दा काम नभएका बेला गाउँ डुल्ने र बिग्रने भएपछि पसल राखेको हुँ । पसल पनि के भन्ने यसलाई ! भुल्ने बाटो मात्रै हो । पसल नाम मात्रैको छ । सबै जोड्दा दुई हजार रुपैयाँको पसल होला ! बाटोमा हिँड्नेले कहिलेकाहीँ छिटफुट सामान किन्छन् । यो सानो छाप्रोको झुप्रोमा चाउचाउ, बिस्कुट, दालमोट र मिठाइँजस्ता कुरा राख्छु । कहिलेकाहीँ १० रुपैयाँको पनि बिक्री हुँदैन । कहिलेकाहीँ एक सय रुपैयाँसम्मको बिक्री हुन्छ । नाफा त कुरै भएन । भुल्नका लागि पसल भयो, घरखर्च चलाउन त गिट्टी कुट्नैपर्छ ।
बीचको समयमा बुटवल होटलमा पनि काम गरेँ । गाउँमा आएर पनि घर बनाउने काममा हिँडेँ । त्यसबाट कुनै प्रगति भएन । परिवार पाल्न समस्या भएपछि ढुंगा बोकेर गिट्टी कुट्ने काममा लागेको हुँ । बिहानैदेखि बेलुकासम्म गिट्टी कुट्छु । यसैबाट गुजारा चलेको छ ।
खानामा भातसँग दाल र तरकारीमध्ये एक भए भइहाल्छ । त्यस्तो मिठोमसिनो भन्ने छैन । छाक टार्न सके भइहाल्छ । कपडा लगाउन पनि सामान्य भए पनि हुन्छ । सामान्य लुगाफाटो लगाउँछु । समय कटाउन मात्रै सकिएको छ । अरु केही गर्न सकिएको छैन । घरमा खेतीपाती यताउता केही गरेको छैन । आफूले नै ज्यान पाल्न गाह्रो छ । बस्तुभाउ पालेर के गर्नु ! कसैले कृपा गरेर सहयोग गरे पनि हुने थियो जस्तो लाग्छ !
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
