‘बचत गर्ने अवसर कहिल्यै मिलेन’

बिरामी परेँ भने उपचार गर्ने पैसा छैन । बुढेसकालमा सबैभन्दा ठूलो पिर नै यही छ । तर डरले खान लाउन रोकिन्न । काम गर्नैपर्छ । सारा जीवन संघर्षमै बित्यो ।

मंसिर १३, २०८२

रामचन्द्र कटुवाल

'Never had the opportunity to save'

What you should know

संखुवासभा — बिहान सबेरै सूचना बोकेर खाँदबारीका गाउँगाउँ पुग्छु । बुढ्यौली उमेर भए पनि पत्रपत्रिका बोकेर दौडधुप गर्न छाडेको छैन । मेरा हातमा पत्रिका, काँधमा झोला र अनुहारमा सधैं मुस्कान हुन्छ । मेरो पहिचान पनि यही हो । बुढेसकालमा पनि खान लाउन पैसा कमाउनु पर्छ, काम छाडेर बस्ने सक्दिनँ । किनभने, घर त चलाउनैपर्‍यो । अहिले ७५ वर्षको भएँ । तर, घरव्यवहारले छोडेकै छैन ।

चार दशकअघि काठ र माटोको भरमा बनाएको कच्ची घरमै बस्छु । मेरो परिवारमा दुई छोरा र पाँच छोरी छन् । एउटा सामान्य परिवारजस्तै मेरा पनि धेरै रहर छन् । तर रहरको तुलनामा मेरो आम्दानी निकै कम छ ।जीवनका धेरै मोडमा संघर्षसँगै उभिएँ, आज पनि त्यही संघर्षको बाटोमै हिँडिरहेको छु । सात सन्तान तर भविष्यको चिन्ता उस्तै छ । 

सहर घुम्ने रहर आज पनि मेरा मनमा ज्यूँदो छ । तर काम, खर्च र उमेरले रहरलाई काँधमा बोकेको झोलाजस्तै भारी बनाइदिएको छ ।मैले ७ कक्षासम्म पढेँ । त्यसभन्दा बढी पढ्न पाइनँ । मधेश घुम्न गएँ । त्यतै बरालिएपछि पढ्न सकिनँ । आफूले पढ्न नसकेपछि छोराछोरीलाई पठाउने ठूलो इच्छा छ । छोराछोरीलाई विदेश पठाउने सोचमा छैन । मेरो पहिलो श्रीमतीसँग २७ वर्षको उमेरमा विवाह भएको थियो । खोटाङमै पहिलो विवाह गरेपछि जीवनका परिस्थितिका कारण चार विवाह भए । परिवार बढ्दै गयो, रोजीरोटीको जिम्मेवारी पनि साथसाथै बढ्यो । सबैलाई हुर्काउने, पढाउने, लगाउने गुर्नपर्‍यो । सजिलो कहाँ छ र ? तर बुढाबुढीमा पनि अभाव नहोस् भनेर दुवै जनाले धेरै मिहिनेत गर्‍यौं । अहिले कान्छी श्रीमतीको साथमा छु ।

पत्रपत्रिका बाँडेर र सामान्य मजदुरी गरेर दिनको पाँच सयजति कमाउँछु । पत्रिका हप्तामा एकपटक मात्रै निस्कने भएकाले यो आम्दानी सबै दिन आउँदैन । महिनामा जम्मा १५ हजारजति हात पर्छ । श्रीमती शारदा अस्पतालको क्यान्टिनमा काम गर्छिन् । दुवैको आम्दानी मिलाएर घरखर्च चल्छ, तर महँगीको मारले सधैं चिन्तित बनाउँछ ।

घरखर्चमै मासिक १० हजारजति खर्च हुन्छ । बजारमा एक पोका नुन ३० रुपैयाँ पुगेको छ, एक किलो चिनी ११० रुपैयाँ । चामलको मूल्य त झन् भारी नै पर्छ । मासु, फलफूल, मिठाई त चाडपर्वका लागि मात्रै हो । दैनिक खानपान चलाउनै मुस्किल छ ।

मेरो घरमा लुत्ताकपडा फाटेपछि मात्र किनिन्छ । बर्खा, चाडपर्व वा काम नलागे मात्र नयाँ कपडा आउँछ । छोराछोरीलाई पनि भनेजस्तो नयाँ कपडा किन्न सकिँदैन । उनीहरूले आफैं कमाएर स्कुल र कलेजको खर्च व्यवस्थापन गर्छन् । ४० वर्षअघि बनाइएको कच्ची घर अहिले पनि उस्तै पुरानै अवस्थामा छ । काठ र माटोले बनेको घर समयसँगै जीर्ण बन्दै गइरहेको छ । मेरो अर्को ठूलो चिन्ता जग्गाको कागजपत्र हो । तिरो तिरेको छ, राजिनामा पास पनि भएको छ । तर धनीपुर्जा भने छैन । धनीपुर्जा नहुँदा घर मर्मत, निर्माण वा कुनै सरकारी सुविधा लिन पनि कठिनाइ भएको छ ।

आयव्यय बराबर हुने जीवनले मलाई बचत गर्ने अवसर कहिल्यै दिएन । बिरामी परेँ भने उपचार गर्ने पैसा छैन । बुढेसकालमा सबैभन्दा ठूलो पिर नै यही छ । तर डरले खान लाउन रोकिन्न । काम गर्नैपर्छ । सारा जीवन संघर्षमै बित्यो । सहर घुम्ने रहर आज पनि मेरा मनमा ज्यूँदो छ । तर काम, खर्च र उमेरले रहरलाई काँधमा बोकेको झोलाजस्तै भारी बनाइदिएको छ । सबै मनले सोचेको कुरा कहाँ पुग्छ र ? जति छ त्यत्तिमा जीवन चल्दै छ ।

प्रस्तुति : दीपेन्द्र शाक्य

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

रामचन्द्र

Link copied successfully