‘कर्जा नभएको भए जिन्दगी खुसीसाथ बित्थ्यो’

युवाहरू विदेशिएको देख्दा उदेक लाग्छ । म त १३/१४ वर्षदेखि साइकल बनाइरहेको छु । यसैबाट आम्दानी पनि भइरहेको छ । तर यसलाई सानो काम मान्छन् । कुनै काम पनि सानो–ठूलो हुन्छ र ?

मंसिर १४, २०८२

वृहस्पति बुढा क्षेत्री

'Life would be happier if there were no debt'

What you should know

धनगढी — उमेर बढेर के गर्नु ? मन अझै चञ्चल छ । उमेरमा ब्रेक लाग्ला तर इच्छा र आकांक्षा रोकिनेवाला छैनन् । सानै उमेरदेखि यो गर्न पाए, त्यो गर्न पाए भन्ने लागिरह्यो । तर, अहिलेसम्म कुनै चाहना पूरा भएका छैनन् । तैपनि, मन न हो– आश लागिरहन्छ ।

कहिलेकाहीं निकै अपेक्षा गरिँदो रहेछ । त्यस्तो बेला इच्छा अधुरै रहे भने मन दुख्दो रहेछ । मन दुखे पनि सुनाउने कसलाई ! नहुनेको सुन्दिने पनि कोही नहुँदो रहेछ । अचेल यस्तै लाग्छ । 

अहिले म ५६ वर्षको भइसकेँ । केही वर्षपछि अहिलेको बचेको जोश र जाँगर सेलाएर जानेछ । आफैंसित कति दुखेसो गर्नु भनेर २०६९ सालदेखि धनगढी उपमहानगरपालिका पछाडि सानो ठाउँमा खोका राखेर साइकल मर्मत गर्ने काम गर्छु । उसबेला पढाइ पूरा गर्न सकिएन, नपढेपछि श्रम गर्नु सिवाय के नै काम मिल्छ र ? तर, पढ्ने इच्छा मार्न सकिनँ । त्यसैले पढाइलाई निरन्तरता दिइरहेको छु ।

यो उमेरमा पनि मैले पढेको देखेर धेरै मान्छे दंग पर्ने पनि छन् । कति त आश्चर्य पनि मान्छन् । कैलाली बहुमुखी क्याम्पसमा अंग्रेजी विषयबाट एमए अध्ययन गरिरहेको छु । हुन त यो उमेरमा पढेर के नै गरौंला र ! तर पनि बिहानदेखि ३ बजेसम्म काम गर्छु । त्यसपछि कलेज जान्छु । 

जिन्दगीमा जे आउँछ, भोगिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको छु ।मेरो घर धनगढी उपमहानगर–६ मटियारीमा पर्छ । घरमा श्रीमती र दुईवटा छोरा छन् । सबै घरखर्च यही साइकल मर्मत गरेर चलेको छ । पहिलापहिला त दिनकै १५ सयदेखि २ हजार कमाइ हुन्थ्यो । मासिक ४०/५० हजारसम्म पनि कमाएको थिएँ । तर अहिले त्यस्तो कमाइ छैन । बल्लतल्ल दिनमा ९ सय/हजार कमाइ हुन्छ । सबै जोडेर मासिक ३०/३५ हजार जति पुग्छ ।

यसै पैसाबाट बजारमा खोका राखेबापत नगरपालिकालाई मासिक ३ हजार कर बुझाउनुपर्छ । घर बनाउँदाखेरि १० लाख ऋण लागेको छ । नम्बरी जग्गा नहुनाले बैंकले ऋण दिएन । दुईवटा सहकारीबाट ऋण लिएको छु । १७ हजार एउटा सहकारी र ८ हजार अर्को सहकारीको गरी मासिक २५ हजार किस्ता तिर्नुपर्छ । १४ प्रतिशत ब्याज छ । एक महिनाको पनि किस्ता छुट्यो भने घरमै आइपुग्छन् सहकारीवालाहरू । 

समूहमा भएका सबैलाई बोलाएर तिम्रो मान्छेले किस्ता तिर्न सकेन, सबै मिलाएर देऊ भनेर टर्चर गर्छन् । यसभन्दा बैंकको ऋण सहज हुन्थ्यो । तर बैंकले हामीजस्तालाई ऋण दिन्न । घरजग्गा, सम्पत्ति हेर्छ, कमाइ हेर्छ । कमाएको सबै पैसा चाहिने काममै खर्च गर्छु । फजुल खर्च केही पनि छैन । 

छोराहरू ग्यालेक्सी बोर्डिङ स्कुलमा पढ्छन् । जेठोको ३४ सय ५० र कान्छोको ३१ सय ५० मासिक फिस तिर्नुपर्छ । किस्ता र छोराहरूको पढाइलेखाइमै बढी खर्च छ । सबैभन्दा बढी दुःख त कर्जा लागेकामा लाग्छ । यदि कर्जा हुन्थेन भने जिन्दगी खुसीसाथ बित्थ्यो ।

तर पनि खासै चिन्ता गर्दिनँ । जिन्दगीमा जे आउँछ, भोगिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको छु । स्वास्थ्यको खासै समस्या छैन । स्वस्थ नै छु । तर कहिलेकाहीँ परिवारका अन्य सदस्य बिरामी पर्छन् कि भन्ने चिन्ता लाग्छ । हरेक महिनाको २४ गते १७ हजार किस्ता बुझाउनु पर्नेछ । सँगै छोराहरूको फिस पनि बुझाउनु पर्नेछ । त्यो पैसा जसरी पनि जुटाउनुपर्ने छ ।

सरकारले पिँधमा रहेको समुदायका लागि काम गरेर उनीहरूको जीवन माथि उकास्न सक्थ्यो तर गर्दैन । सरकारमा भएका व्यक्तिहरूले आफूलाई नै सरकार ठान्छन् । मनमर्जी चलाउँछन् । तिनीहरूका कामले ठूलालाई चेन र सानालाई ऐन भएको छ । जनता पनि त्यस्तै भए । 

युवाहरू विदेशिएको देख्दा उदेक लाग्छ । आफ्नै देशमा काम गर्न सक्दैनन् । अरूको देशमा गएर दुःख पाउँछन् । म त १३/१४ वर्षदेखि साइकल बनाइरहेको छु । यसैबाट आम्दानी पनि भइरहेको छ । तर यसलाई सानो काम मान्छन् । कुनै काम पनि सानो–ठूलो हुन्छ र ?

मेरो खासै ठूलो सपना त केही छैन । तर एउटा राम्रो मोबाइल चलाउने इच्छा भने मनमा गढेर बसेको छ । धेरै कुरा नेटबाटै पढ्नु पर्छ । राम्रो मोबाइल किन्न सकेको छैन । किस्ता, स्कुल फिस, घरखर्च गर्दा गर्दै पैसा सकिन्छ । आफ्नो इच्छाको लागि पैसा खर्च गर्नु त कहाँ हो कहाँ ?

प्रस्तुति : रञ्जना बिसी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

वृहस्पति

Link copied successfully