विदेशको जस्तै कमाइ यहीँ भएको छ । आफ्नो ठाउँमा इज्जतसँगै पैसा पनि कमाइरहेको छु । जस्तोसुकै परिस्थितिमा पनि हिम्मत राख्नुपर्ने रहेछ । हिम्मत र मिहिनेत गरेपछि एक दिन अवश्य सफल भइँदो रहेछ ।
बैतडी — अहिले विदेसिने चलनै छ । गाउँठाउँमै बसेर कमाइ हुँदैन भन्ने जमात बढ्दो छ । त्यही जमातको पछि लाग्ने धेरै छन् । मलाई यस्ता कुरामा एक रत्ति विश्वास छैन । कुरा सुनेको र पछि लागेको भए म पनि कुनै खाडी मुलुकतिर हुन्थेँ होला ।
मेरो घर सदरमुकाम छेउकै दशरथचन्द नगरपालिका–४, शाहीलेकमा छ । तर, जिल्ला मात्र नभएर बाहिरका मानिससँग पनि उठबस र चिनजान छ । म अहिले २७ वर्षको भएँ । मेरो चिनजान सर्वसाधारणदेखि कर्मचारी, नेता र अन्य पेसाकर्मीसँग पनि छ ।
म सामान्य व्यापारी हुँ । गोठलापानी बजारमा मेरो कम्प्युटर इन्स्टिच्युट छ । त्यहाँ म कम्प्युटर मात्र सिकाउँदिनँ, फोटो खिच्ने, कम्प्युटर, ल्यापटप, प्रिन्टर मर्मत गर्छु । साथैं फोटोकपी, विद्यार्थीका परिचयपत्र डिजाइन, छपाइका साथै र विवाह व्रतबन्ध र कार्यक्रमका भिडियो खिच्ने र डकुमेन्ट्रीको काम गर्छु । मैले तीन वर्षदेखि फेलेक्स प्रिन्टिङ हाउससमेत संचालन गरेको छु । व्यानर पनि छाप्ने गर्दछु । मलाई साथीभाइसँग भेटघाट र घुम्ने समय हुँदैन । बिहानदेखि साँझसम्म काममै व्यस्त हुन्छु । यसबाट घरखर्च मात्र नभएर बचत पनि गरेको छु ।
मैले कहिल्यै पनि विदेश जानेबारे सोचिनँ । चाहे जागिर होस् या व्यापार– आफ्नै ठाउँमा केही गर्छु भनेर सुरु गरेको व्यवसायबाट अहिले राम्रै कमाइ भइरहेको छ ।घरको आर्थिक अवस्था कमजोर भएकैले मैले धेरै पढ्न पाइनँ । मैले कक्षा १२ मात्र पास गरेको छु । परिवारको जेठो छोरो भएकाले पनि मैले पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचेर कम्प्युटर डिप्लोमा अध्ययन गरेँ । सुरुमा घर नजिकैको कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर पढाउन सुरु गरेँ । सरले नै मलाई कम्प्युटर मर्मत गर्न सिकाए । पछि सर तराईतिर झरेपछि मैले गोठलापानीमा आफ्नै कम्प्युटर इन्स्टिच्युट खोलेको हुँ ।
विदेशको जस्तै कमाइ यहीँ भएको छ । आफ्नो ठाउँमा इज्जतसँगै पैसा पनि कमाइरहेको छु । म एउटा कुरा सधैं सम्झिने गर्छु- मिहिनेत गरे बन्जर जमिनमा पनि अन्न फलाउन सकिँदो रहेछ । जस्तोसुकै परिस्थितिमा पनि हिम्मत राख्नुपर्ने रहेछ । हिम्मत र मिहिनेत गरेपछि एक दिन अवश्य सफल भइँदो रहेछ ।
मैले कहिल्यै पनि विदेश जानेबारे सोचिनँ । चाहे जागिर होस् या व्यापार– आफ्नै ठाउँमा केही गर्छु भनेर सुरु गरेको व्यवसायबाट अहिले राम्रै कमाइ भइरहेको छ । यस व्यवसायलाई पैसा कमाउने मात्र नभएर सेवा पनि सम्झने गरेको छु । मैले कम्प्युटर पढाएका धेरै विद्यार्थीले रोजगारी पाएका छन् । कहिलेकाहीँ भेट हुँदा सम्झिन्छन् । कोही त भेट्नै पनि आउँछन् । उनीहरूले फलानो ठाउँमा फलानो पोस्टमा काम गर्छु भन्दा मलाई गर्व लाग्छ ।
म विदेश गएको भए पैसा मात्र कमाउँथेँ होला । तर यतिका साथीभाइ, आफन्त हुन्थेनन् होला । यो नै मेरो ठूलो कमाइ हो । अहिले मलाई भाइले सघाइरहेको छ । मैले अहिलेसम्म कुनै सरकारी अनुदान लिएको छैन । आफ्नै लगानीमा काम गरिरहेको छु ।
परिवार पनि सम्पन्न भएको भए म यो ठाउँसम्म पुग्ने थिइनँ होला । किनकि, दुःख आइनपरेको भए मिहिनेत गर्नुपर्छ भन्ने सिक्ने थिइनँ । म कर्ममा विश्वास गर्छु । कर्म गर्दै गयो भने फल पाइँदो रहेछ । विदेश गएर कमाइ ल्याएका साथीहरूको जीवनशैली भन्दा मेरो जिन्दगी पनि कम छैन ।
मैले यही सानो व्यापारबाटै घरखर्च चलाउनुका साथै एउटा पक्की घर बनाएँ । बिहे गरेँ, मोटरसाइकल किनेँ । पछिल्लो समय तराईतिरको पलायनले गर्दा अलि व्यापारमा मन्दी आउन थालेको छ । पढ्न चाहने र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क कम्प्युटर सिकाइदिने गरेको छु ।
प्रस्तुति : मोहन चन्द
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
