अहिले मलाई आनन्द छ । एकातिर पढाइ भइरहेको छ भने अर्कोतर्फ कपाल काटेर कमाइ पनि गरिरहेको छु । यसबाट पढाइ खर्चमात्र टरेको छैन, कहिलेकाहीँ यहीँबाट परिवारका लागि घरखर्च पनि पठाइरहेको छु ।
What you should know
भैरहवा — बावु–बाजेले पनि कपाल काटेरै जुनी कटाए । मेरो बुवा बिसम्बर त अहिले पनि कपाल काट्नु हुन्छ । बुवाबाटै सीप सिकेर मैले पनि त्यही पेसा अपनाएको छु । १३ वर्षको हुँदा म कक्षा ७ मा पढ्थेँ । त्यही बेलादेखि बुवासित कपाल काट्न सिक्न थालेँ । त्यसैले मेरो गुरु नै बुवा हुनुहुन्छ । एक वर्षजति बुवासित काम गरेपछि सिपालु भएँ ।
कपाल काट्दा काट्दै गौडहवा गाउँपालिका–१ मा रहेको श्री मलावरदेवी माविबाट ३ दशमलव ५० जीपीए ल्याएर एसईई उत्तीर्ण गरेँ ।
गाउँकै हरैया माविबाट १२ कक्षा पनि पास गरेँ । त्यसपछि स्नातक तह अध्ययन गर्न भैरहवा बहुमुखी क्याम्पसमा भर्ना भएँ । अहिले व्यवस्थापन संकायतर्फ दोस्रो वर्षमा पढिरहेको छु । भैरहवा आएपछि वैदेशिक रोजगारी गर्न दक्षिण कोरिया जाने सोच पनि बनाएँ । त्यसका लागि ६ महिना कोरियन भाषाको कक्षा लिएँ । पढाइलाई निरन्तरता दिँदै भाषा सिक्न समय अपुग भएपछि भाषा कक्षा छाडिदिएँ ।
पहिले विदेश जाने सोच बनाएँ । तर, पछि यहीँ काम गर्दै पढ्ने योजना बनाएँ । अरुको कपाल काट्न सिपालु भए पनि मैले आफ्नै कपाल नकाटेको चाहिँ ९ महिना पुग्यो । झन सैलुन सुरु गरेपछि व्यस्तता बढेको छ ।
अहिले सिद्धार्थनगर–१२, शान्तिनगरमा प्रदीप हेयर ड्रेसर एन्ड जेन्स पार्लर सञ्चालन गरिरहेको छु । आफ्नै लगानीमा सैलुन खोल्नुअघि मामाको पसलमा काम गर्थें । त्यहाँ काम गर्दा कपाल काटेबापत पाइने ज्यालाको ६० प्रतिशत मिल्थ्यो । बचेको ४० प्रतिशत मामाको भागमा पर्थ्यो ।
सीप सिकेर मुलुकमै केही गर्ने हो भने जति पनि कमाइ हुँदो रहेछ भन्ने अनुभव गरेको छु । अहिले म दिनमा १५ सयदेखि २५ सयसम्म कमाइरहेको छु ।सीप सिकेर मुलुकमै केही गर्ने हो भने जति पनि कमाइ हुँदो रहेछ भन्ने अनुभव गरेको छु । अहिले म दिनमा १५ सयदेखि २ हजार ५ सयसम्म कमाइरहेको छु ।
महिनाको १२ हजार रुपैयाँ सटर भाडा छ । भैरहवा बसे पनि घरबाट चामल, दाल र भाँडाकुँडा ल्याएर आफैंले पकाएर खान्छु । सानो कोठामा खाटमा सिरानी, तन्ना मात्र छ । झुलले ओछ्यान छोप्छु । अधिकांश समय पसलमा बित्छ । ग्राहक खाली हुँदैनन् । घुमफिर गर्ने समय नै हुँदैन । घरबाट भैरहवा क्याम्पस आउन २५ किलोमिटर यात्रा गर्नुपर्छ । त्यसैले भैरहवा बसेर कमाउँदै पढिरहेको छु ।
अहिले मलाई आनन्द छ । एकातिर पढाइ भइरहेको छ भने अर्कोतर्फ कपाल काटेर कमाइ पनि गरिरहेको छु । यसबाट पढाइ खर्चमात्र टरेको छैन, कहिलेकाहीँ यहीँबाट परिवारका लागि घरखर्च पनि पठाइरहेको छु ।
मेरो बुवा बिसम्बरले पनि हजुरबुबाबाट सीप सिक्नु भएको हो । बाजेको सीप बुवा हुँदै मसम्म आइपुगेको छ । मैले यही सीप सदुपयोग गरेको देखेर बुवा खुसी हुनुहुन्छ । कुनै पनि काम सानो हुँदैन भन्ने बुझेको छु ।
ग्राहक बढेपछि मेरो ठूलो बुवाको छोरा अशान्त पनि मेरै सैलुनमा काम गरिरहेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि भाइ भैरहवा आएको हो । मसितै काम गरेबापत भाइलाई पनि उसको आम्दानीको आधा ज्याला दिने गरेको छु । एक व्यक्तिको कपाल र दार्ही काटेबापत १ सय ५० रुपैयाँ ज्याला लिने गरेका छौं ।
सहरमा आएर यो पेसा अपनाउन मलाई धेरै दुःख भएन । तर, मेरो बुवाले धेरै दुःख सहनु परेको थियो । बुवाले सुरुमा पसल खोलेर कपाल काट्न पाउनु भएन । गाउँगाउँ, चोकचोक र घरघरमा गएर बुवाले कपाल काटनु हुन्थ्यो । त्यतिबेला एक जनाको कपाल काटेबापत ३० रुपैयाँ मिल्थ्यो । दिनभरि कपाल काटेर बुवाले तीन सय रुपैयाँजति कमाउनु हुन्थ्यो ।
लखरलखर डुल्दै कपाल काटेर कतिन्जेल गुजारा चलाउन सकिएला भनेर बुवाको मनमा खुलदुली मच्चिरहन्थ्यो । धेरै सोचेपछि बुवाले गाउँमा सानो टंकी (काठको घुम्ती) बाट कपाल काट्न सुरु गर्नुभयो । पहिले गाउँका डुलुवा नाउँका रूपमा चिनिनु भएका बुवा पसले भइसक्नु भो ।
बुवाले पसल आकर्षक बनाउनु भएको छ । खेतीपातीले मात्र नथेग्ने भएपछि बुवाले कपाल काटेरै आमा, दुई बहिनी र दुई भाइ र आफ्ना लागि आवश्यक खर्च पुर्याउनु भएको छ । बुवाले गाउँमा काम गरेर खर्च चलाउनु भएको छ । घरखर्च नपुगेका बेला म यहाँबाट कमाएर पठाउन थालेको छु ।
प्रस्तुति : दीपेन्द्र बडुवाल
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
