‘धूवाँरहित चुलो बनाउने सीपले कालापहाड जानु परेको छैन’

स्थानीय स्रोतसाधन प्रयोग गरेर बनाइएको चुलो ३५ सयदेखि ९ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । चुलोको आकार, मोटाइ, डिजाइन र हिटिङ क्षमताका आधारमा मूल्य तोक्ने गरेको छु ।

मंसिर २७, २०८२

नरबहादुर सुनार

'The skill of making smokeless stoves doesn't require going to Kalapahad'

What you should know

जुम्ला — पहिले आफूसित सीप थिएन । अरुले चुलो बनाएको देख्दा आफूलाई कमजोर ठान्थेँ । अहिले चुलो बनाएर अरुलाई धूवाँमुक्त बनाउन पाउँदा आनन्द लाग्छ । यही सीपले अहिले घरखर्च चलिरहेको छ ।

अहिले म सानोतिनो कारखाना (वर्कसप) चलाइरहेको छु । यहीँबाट हुने कमाइले परिवार खुसी तुल्याउन सकेको छु । मैले बनाउने चुलो आधुनिक र धूवाँरहित छ । 

अहिले ७१ वर्षको भएँ । ४२ वर्षको उमेरबाट यो काम सुरु गरेको थिएँ । चन्दननाथ नगरपालिका–५, कार्कीबाडामा बसोवास छ । सुरुमा चुलो बिक्री गर्न समस्या हुन्थ्यो । अहिले मागपूर्ति गर्नै हम्मे–हम्मे हुन्छ । चुलो बनाउन अर्डर गर्नेदेखि खरिद गरेर लैजानेको भीड लाग्छ । 

मंसिर महिना सकिन लाग्यो । यो चिसोयाममा हथौडाले फलाम पिट्दा बेग्लै आनन्द मिल्छ । २०४० सालतिरको कुरा हो । भोटबाट आएका व्यापारीले आधुनिक चुलो बेच्न ल्याए । त्यो देखेपछि मनमा खुलदुली लाग्यो । कसरी बनाउने होला भनेर सोच्न थालेँ । त्यही भोटका व्यापारीले ल्याएको चुलो हेरीहेरी बनाउन सिकेँ । तत्कालै लगानी गर्न पैसा भएन । केही समय सीप पनि खेर गयो । 

अहिले ७१ वर्षको भएँ । ४२ वर्षको उमेरबाट यो काम सुरु गरेको थिएँ ।बाह्र वर्षपछि खोलो फर्किन्छ भन्ने उखान छ । मेरो जीवनमा पनि त्यस्तै भयो । २०५२ सालमा इसिमोड नामक संस्थाले चुलो बनाउने तालिमका लागि काठमाडौं लैजाने तयारी गर्‍यो । त्यसबेलाको जति खुसी अहिलेसम्म मिलेको छैन । काठमाडौं गएर चुलो कसरी निर्माण गर्ने भन्ने विषयमा गहिरिएर सिकेँ । अहिले जिल्लाबाहिरबाट ल्याइएका तयारी चुलो फिट गर्नेदेखि आफैं बनाएर बेच्नेसम्मको काम गरिरहेको छु । आफूले बनाएको चुलो बिक्री हुँदा अत्यन्तै खुसी मिल्छ । 

पहिले फोनको सुविधा थिएन । ‘रैबार’ पठाएर अर्डर गर्ने चलन थियो । अहिले फोनमै टिपाउने गर्छन् । कोही–कोहीले बैंक खातामा पैसा जम्मा गरिदिन्छन् । केहीले खुसीपूर्वक हातमै थमाएर जान्छन् । यो पेसा नअँगाल्दासम्म बेरोजगारजस्तै थिएँ । जता हेरे पनि चित्त बुझाउने ठाउँ हुँदैनथ्यो । स्थानीय स्रोतसाधन प्रयोग गरेर बनाइएको चुलो ३५ सयदेखि ९ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । नेपालगन्जबाट जस्तापाता मगाएर यतै पाइप बनाउँछु । चुलोको आकार, मोटाइ, डिजाइन र हिटिङ क्षमताका आधारमा मूल्य तोकिन्छ ।

मैले बनाएको चुलोबाट ग्राहक सन्तुष्ट छन् । बलियो चुलो बनाउने भएकाले पनि ग्राहकले अधिक माग गरिरहेका छन् । अहिले स्थानीय सरकारले पनि धूवाँमुक्त गाउँ बनाउने अभियान चलाइरहेका छन् । जसले गर्दा पनि चुलोको माग अधिक बढेको पाएको छु । 

वर्षायाममा चुलो बनाएर राख्ने गरेको छु । त्यसैले हिउँदमा अर्डरअनुसार चुलो उपलब्ध गराउन सहज छ । अहिले समय बदलिएको छ । तैपनि, पुरानो सीपलाई आधुनिक तुल्याएर सामग्री बनाइरहेको छु । चुलो बेचेर भएको आम्दानीले केटाकेटी पढाइरहेको छु । यही आम्दानीले नुन–तेल खरिद गर्छु । यही उद्यमले कालापहाड धाउनु परेको छैन । परिवार छाडेर विदेशिनुपर्ने बाध्यता छैन ।

मैले बनाएको चुलोले धेरैका घरको धूवाँ–धूलो हटेको छ । चुलो बेचेर वार्षिक चारदेखि साढे चार लाखसम्म कमाइ गरिरहेको छु । जसमध्ये नुनतेल, चामल, केटाकेटीको पढाइ, लुगालत्ता लगायतमा साढे २ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । बचेको रकमले चुलो बनाउने कच्चा पदार्थ खरिद गरिरहेको छु । चुलो बनाएरै अहिले १२ जनाको खर्च चलेको छ । 

प्रस्तुति : डीबी बुढा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

नरबहादुर सुनार

Link copied successfully