‘दृष्टिविहीन भए पनि मनभित्रको उज्यालो निभेको छैन’

'साँझ घर फर्किन पाएका दिन मन हलुंगो हुन्छ । मागेर प्राप्त भएको रकम हातले समाउँदा एकछिन आनन्छ लाग्छ । बिहान बजार जानैपर्छ । घर छ, परिवार छ, जिम्मेवारी छ र मनमा अनेक आशा छन् ।'

मंसिर २६, २०८२

कर्णकर अधिकारी

”Even though I am blind, the light in my heart has not gone out.”

What you should know

डडेल्धुरा — इलम केही छैन । नडुली हुँदैन । त्यसैले कैलाली, कञ्चनपुरलगायत तराई र पहाडका जिल्लामा सहयोग माग्दै हिँड्छु । यसरी हात फैलाउँदै हिँड्ने क्रममा केही दिनअघि डडेल्धुरा आएको हुँ । अब केही दिन यतै भुलेपछि डोटी घुमेर तराई झर्ने विचार छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२, शान्ति टोलको बासिन्दा हुँ । अहिले ५४ वर्षको भएँ । तर, कहाँ डुलेँ, कुन ठाउँ डुले पत्तो पाउँदिनँ । आफू हिँडेको संसार कस्तो छ भन्नेसम्म मलाई थाहा हुँदैन । 

मेरो जीवनमा पनि हरेक बिहान नयाँ आश पलाउँछ । सानोतिनो सपना देखेको छु । जसरी हुन्छ, अब त्यो सपना पूरा गर्ने कोसिस गरिरहेको छु ।जन्मिँदै आँखा नदेख्ने समस्या थियो । संसारका बस्तुको रंग, आकार, रूप मलाई केही जानकारी छैन । बाल्यकालदेखि अहिलेसम्म आवाज, स्पर्श र कल्पनामा मेरो संसार स्ििमत छ । दृष्टिविहीन हुँ तर मनभित्रको उज्यालो निभेको छैन । संसार अन्धकार भए पनि बाँच्ने रहर नमर्दो रहेछ । त्यही रहरले मलाई अगाडि बढाइरहेको छ । काम गर्न नसकेपछि के गर्ने ? मागेर भए पनि पेट पाल्नै पर्‍यो । तर, माग्न त्यति सजिलो हुँदैन रहेछ । जब पेट भोकले कराउँछ, त्यस बेला अपमानभन्दा भोक ठूलो हुँदो रहेछ । मन भारी बनाएर दिनहुँ बिहानै घरबाट निस्किन्छु । मनमा जतिखेरै ‘आज सहयोग पाइएला कि नपाइएला’ भन्ने चिन्ता रहन्छ । 

श्रीमती सुस्त मनस्थितिकी छन् । उनी नै घरको भर हुन् । श्रीमतीले खेतबारीदेखि अरूको घरमा मजदुरी गरेर खर्च चलाइरहेकी छन् । उनको परिश्रमबाट परिवारको खानपिन जोहो भएको छ । 

बुवाको निधन भएको पनि १० वर्ष भइसक्यो । भाइटीकाको दिनमा आमाले पनि साथ छाडेर जानुभो । हामी तीन दाजुभाइ थियौं । एक भाइको पनि मृत्यु भइसक्यो । अर्को भाइ पनि मानसिक रूपमा अशक्त छ । काठमाडौं लगेर उसको उपचार गर्दा स्थानीय सरकारले केही सहयोग गर्‍यो । त्यति उपचारले धानेन । त्यसपछि राज्यको साथ मिलेन । भत्ता नियमित पाइन्छ तर त्यो भत्ता घर र दैनिकी धान्न पर्याप्त हुँदैन । अपुग भएपछि बजार डुलेर माग्ने नै हो ।

अब त माग्ने बानी परिसक्यो । बजारमा जाँदा कहिलेकाहीँ सडक पार गर्न नसक्ने स्थिति आउँछ । गाडी गुडेको आवाजमात्र सुनिन्छ । आफू कुन दिशातर्फ गइरहेको छु भन्ने मेसो पाउँदिनँ । धेरै नै समस्या हुन थालेपछि मेरो छिमेकी दाइ रामबहादुर मल्लसँगै हिँड्ने गरेको छु । उनी बाटो देख्छन् । कसरी, कहाँ जाने भन्ने पनि उनलाई थाहा छ । केही दिन डडेल्धुराका बजारमा सहयोग जुटाएर दिपायलसम्म जाने योजना बनाएका छौं । कैलाली र कञ्चनपुर दिनभरि सहयोग मागेपछि साँझ घरमै फर्किने गर्छु । पहाडमा आउँदा बासको ठेगान हुँदैन । जहाँ रात पर्छ, त्यहीँ बास हुन्छ । 

साँझ घर फर्किन पाएका दिन मन हलुंगो हुन्छ । मागेर प्राप्त भएको रकम हातले समाउँदा एकछिन आनन्छ लाग्छ । बिहान बजार जानैपर्छ । घर छ, परिवार छ, जिम्मेवारी छ र मनमा अनेक आशा छन् । जीवनलाई कहिल्यै दोष दिन्नँ । न कसैलाई नराम्रो भन्छु । 

प्रत्येक मान्छेका आ–आफ्नै दुःख हुन्छन् भन्ने मैले बुझेको छु । मेरो नसिबमा मागेर दिन कटाउन लेखेको रहेछ । तर, निराश छैन । मसित जसरी हुन्छ बाँच्ने साहस छ । मेरो जीवनमा पनि हरेक बिहान नयाँ आश पलाउँछ । सानोतिनो सपना देखेको छु । जसरी हुन्छ, अब त्यो सपना पूरा गर्ने कोसिस गरिरहेको छु । 

प्रस्तुतिः तर्कराज भट्ट

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

कर्णकर

Link copied successfully