‘जनताका लागि भन्दै बन्दुक चलाएको सम्झिँदा भक्कानो फुट्छ’

'घाइते भएकाले सेना समायोजनमा परिनँ । सँगै लडेका साथीहरू अहिले नेता, ठूला व्यवसायी बनेका छन् । तर, घाइते भएकाले मैले केही गर्न सकिनँ । कहिलेकाहीँ त लडाइँमै मरेको भए सुख त मिल्थ्यो जस्तो पनि लाग्छ ।'

मंसिर २९, २०८२

मोतीलाल रोकाया

'It makes me shudder when I remember firing a gun for the people'

What you should know

जुम्ला — हुने खाने होइन, हुँदा खाने परिवारमा हुर्किएँ । म जन्मिएको गाउँ पनि विकट छ । तिला गाउँपालिका–७ पोखरी गाउँ जिल्लामै दुर्गम हो । गाउँमा लेखपढ गर्ने वातावरण थिएन । अनि त केको पढाइ हुनु ? पढेलेखेका व्यक्ति पनि ज्यादै न्यून थिए । अलि उमेर भयो कि रोजगारी गर्न कालापहाड जाने चलन थियो ।

अहिले ४३ वर्षको भएँ । गाउँमा लखरलखर डुलेर दिन कटाउँदै थिएँ । २०५७/०५८ को कुरा हो । अवस्था र व्यवस्था परिवर्तनका लागि भनेर तत्कालीन माओवादी विद्रोहमा होमिएँ ।

उतिबेला हाम्रो गाउँ माओवादी कार्यकर्ताको जमघट थलो थियो । म पनि कलिलै उमेरमा विद्रोहमा सामेल भएँ । पार्टीले ‘कमरेड अर्जुन’ नाम राख्यो । त्यतिबेला माओवादीका नारा मार्मिक लाग्थे । विद्रोहका क्रममा माओवादीको छैटौं डिभिजनको सेक्सन कमान्डर बनेँ । 

माओवादी विद्रोहका जिम्मेवारी पूरा गर्ने क्रममा परिवार बिर्सिएँ । युद्धका क्रममा घाइते भएपछि माओवादी पार्टीले पनि हेर्न छाड्यो । रित्तो हात घर फर्किनुबाहेक विकल्प भएन । शान्ति प्रक्रियासँगै पार्टी सत्तामा पुग्यो । हामीजस्ता घाइतेहरू अलपत्र पर्ने अवस्था आयो । देश र जनताको मुक्तिका लागि भन्दै बन्दुकको ‘ट्रिगर’ दबाइरहेको क्षण अहिले सम्झिँदा मन त्यसै भक्कानिन्छ ।

घरको उत्पादनले ६ महिना खान पुग्दैन । यस्तो बेला उपचार गर्ने कुरा त कल्पना गर्न पनि सकिँदैन ।घाइते भएकाले सेना समायोजनमा परिएन । गाउँ फर्किनु पर्‍यो । त्यतिबेला सँगसँगै लडेका साथीहरू अहिले नेता, ठूला व्यवसायी बनेका छन् । तर, घाइते भएकाले मैले केही गर्न सकिनँ । कहिलेकाहीँ त लडाइँमै मरेको भए सुख त मिल्थ्यो जस्तो पनि लाग्छ । 

जुम्ला सदरमुकाम खलंगादेखि कैलालीको पाण्डौन, म्याग्दीको बेनी, बाँकेको कुसुमलगायत ठाउँका भएका भिडन्तको स्मरण गर्दा निकै पछुतो लाग्छ । भविष्य बर्बाद बनाउन लडिएजस्तो अनुभूति हुन्छ । तत्कालीन माओवादी पार्टी पनि धेरै टुक्रामा विभक्त भइसक्यो । हुँदाहुँदा माओवाद नै नरहने गरी नेपाली कम्युनिस्ट पार्टी बन्यो भन्छन् । यसले झन् पीडा थप्ने गरेको छ ।

कैलालीको पाण्डौन भिडन्तमा दायाँ खुट्टामा गोली लाग्यो । अहिले वरपर हिंड्दा पनि सहारा चाहिन्छ । दायाँ हात र कम्मरमा बमका छर्रा छन् । अहिले त परिवारकै लागि खाने खर्च जुटाउन कठिन भइरहेको छ । घरको उत्पादनले ६ महिना खान पुग्दैन । यस्तो बेला उपचार गर्ने कुरा त कल्पना गर्न पनि सकिँदैन । 

मेरा ६ छोरी छन् । सबै स्कुल जान्छन् । कापी, कलम र पोसाक किन्न कल चलाएर हुने आम्दानीले धान्दैन । औषधि किन्न ऋण गर्नु परिरहेको छ । जीउ दुखेर न सजिलोसँग सुत्न मिल्छ, न त सहजै हिँड्डुल गर्न । आर्थिक अभावले औषधि छुट्यो, पार्टीले कुनै मूल्यांकन गरेन । खेतबारीमा काम गर्न सकिँदैन । दायाँ खुट्टाको घुडामुनि रहेको घाउ निको भइसकेको छैन ।  भारी बोक्न सकिँदैन ।

एकातिर परिवार पाल्ने जिम्मेवारी छ भने अर्कोतिर कसरी बाँच्ने भन्ने पिर छ । १४ वर्षअघि अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रको कार्यक्रममा सहभागी भएर पीडा सुनाएँ । आफूले गर्न सक्ने कामबारे प्रस्ताव राखेँ । केन्द्रले दाताको सहयोगमा ८० प्रतिशत अनुदानमा सिलाइकटाइ मेसिन दियो । 

केही पनि गर्न सक्दैन भन्ने गाउँले अहिले छक्क पर्छन् । साबिक शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गतको द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलका अनुसार सशस्त्र द्वन्द्वका क्रममा जुम्लामा ३ सय ३८ जनाको ज्यान गएको थियो । ७ जना बेपत्ता छन् । २७ जना विस्थापितमध्ये १ सय ४२ जनाले अपाङ्ग जीवन बिताइरहेको कार्यदलको तथ्यांक छ । त्यसमा म पनि पर्छु ।

कपडा सिलाएर वर्षमा न्यूनतम ६० देखि ८० हजार रुपैयाँसम्म आम्दानी गर्छु । सबै रकम छोरीका लागि कापी, कलम, लत्ताकपडा, खानामा खर्च हुन्छ । कहिलेकाहीँ बचत भइहाले कपडा किन्छु । धागो र सियो खरिद गर्छु ।

प्रस्तुति : डीबी बुढा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

मोतीलाल

Link copied successfully