बिहान आगो बाल्छु, फलाम रातो पारेर बञ्चरो बनाउँछु, कुटो, कोदालो पिट्दै दिन कट्छ । बिग्रिएका औजार मर्मत गर्छु । यति गर्दा कहिलेकाहीँ दिनमै एक हजारजति जम्मा हुन्छ । कहिलेकाहीँ भने रित्तो हात बस्नुपर्छ ।
What you should know
डढेल्धुरा — बाल्यकालमा आँगनछेउ जहिल्यै धूवाँको मुस्लो देखिन्थ्यो । बुवा आगोको राप नजिक बस्नुहुन्थ्यो । आरनमा आगो बाल्दा धूवाँ उड्थ्यो । सधैं फलाम पिट्ने भएकाले बुवाको हात कालै हुन्थे ।
भागेश्वर गाउँपालिका–४, रोतकट्टेमा आरन थियो । बुवा–बाजेको जीवन आरनमा बित्यो । हँसिया, बञ्चरो, कुटो, कोदालो, फाली बनाउनु हुन्थ्यो । गाउँका किसान हाम्रा ग्राहक थिए । पारिश्रमिकका रूपमा उनीहरू खलो (चामल, गहुँ) दिन्थे । त्यसबाटै भान्सा चल्थ्यो । त्यो परम्परालाई सम्झिँदा अहिले पनि छाती चसक्क हुन्छ । हुन त अहिले म पनि यहीँ पेसामा छु ।
पेसा उही भए पनि समय बदलिएको छ । खलो दिने चलन (बालिघरे प्रथा) हटिसक्यो । आरन पनि नयाँ ठाउँमा सारेको छु । घरभन्दा टाढा चलाइरहेको छु । सुरुमा त बाउबाजेको पेसा छाडौं जस्तो लागेको थियो । केही नयाँ व्यवसायतिर लागौं कि जस्तो सोचेको थिएँ । सात वर्षजति प्लम्बिङको काम गर्न बजार पनि घुमेँ । पाइप जोड्ने, घरमा पानीको लाइन जडान गर्नेजस्ता काम गरेँ । यस्तो कामबाट कहिल्यै घरखर्च जोहो भएन । कमाइभन्दा खर्च दोब्बर हुन्थ्यो ।
आरनमा एक दिन नआए भोलिको खाना जोहो गर्नै मुस्किल हुन्छ ।केही उपाय नलागेपछि एक दिन मनमनै अठोट गरेँ– प्लम्बिङको काम त धेरैले गर्छन्, तर आरन चलाउने व्यक्ति पाउनै मुस्किल छ । त्यसपछि पुर्ख्यौली पेसामा फर्किएँ । पुर्खाले सिकाएको सीप उपयोग गर्न थालेँ । आरन पेसा व्यावसायिक नभएकाले घरबाट आरन नयाँ ठाउँमा सार्ने निर्णय गरेँ । सदरमुकाम गएर आरन चलाउनु पर्छ कि भन्ने सोचेँ । त्यहाँ केही पुराना आरन व्यवसायी भएका कारण चल्दैन कि भन्ने सोचेँ र दुई वर्षअघि बजार नजिकैको अमरगढी नगरपालिकाको आइतबजारमा आरन राख्ने निर्णय गरेँ । आइतबजार, यहाँका धेरै बासिन्दाको मुख्य बजार चोक हो ।
दिनभरि आरन चलाउँदा साँझ लखतरान बनाउँछ । प्रायः यतै रात बिताउँछु । अहिले आरनबाट घरसम्म पुग्न एक घण्टा हिँड्नुपर्छ । यहाँ बसेका दिन भात, आलुको तरकारी र दाल खाएर सुत्छु । माछा–मासु चाहना हुँदा हुँदै पनि महिनामा एक–दुई पटक मात्रै घरमा पाक्छ । हाम्रो पाँच जनाको परिवार छ । श्रीमती, दुई छोरा, एक छोरी अनि म । छोरा–छोरीको पढाइ, घर–खर्च, कपडा, औषधि सबै कुरा यतैको आम्दानीबाट चल्छ । आरनमा एक दिन नआए भोलिको खाना जोहो गर्नै मुस्किल हुन्छ ।
दुई वर्षअघि गाउँबाट यहाँ आउँदा पेसा टिक्ला कि नटिक्ला भन्ने ठूलो डर थियो । अहिले स्थिर छु । बिस्तारै ग्राहक बढिरहेका छन् । सानो बजार भए पनि यहाँबाट धेरै गाउँ छुट्टिने बाटो छ । त्यसैले पनि आरन चलेको छ । लगानी थप्ने र आधुनिक उपकरण किन्न मसित धन छैन । समय अघि बढिरहेको छ । बजारमा आयातित औजार बढी छन् । दुई सय रुपैयाँमै हँसिया पाइन्छ । तर, त्यस्तो हँसिया एक/दुई सिजन मात्रै टिक्छ । परम्परागत आरनमा आगोमा गलाएर बनाएको हँसियाले १० वर्ष धान्छ ।
यो पेसालाई थप व्यवसायीकरण गर्न तालिम छैन । नयाँ प्रविधि ल्याउन पैसा छैन, काम गर्ने ठाउँ साँघुरो छ । स्थानीय सरकार वा सम्बन्धित निकायले आरनलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउँछन् कि भन्ने आशा कहिलेकाहीँ पलाउँछ । तर अहिलेसम्म कुनै ठोस सहयोग आएको छैन । मसँग लगानी छैन, लगानी भए धेरै गर्न सक्थेँ भन्ने लाग्छ ।
प्रस्तुतिः तर्कराज भट्ट
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
