'एक साताअघि छोरा जन्मिएको खुसीमा छिमेकीले भोज गरेका थिए । त्यहाँ गएर कुखुराको मासु–भात खाएँ । आफैंले किनेर माछा–मासु खाएको दिन याद पनि छैन ।'
What you should know
सप्तरी — पारिवारिक जिम्मेवारीले थिचिएको छु । जिन्दगी चल्न त चल्या छ तर पिरैपिरमा छ । मरिहत्ते गरेर ज्याला–मजदुरी गर्दा पनि जिन्दगीका सपना र रहर पूरा हुँदैनन् । सपना पनि ठूलो छैन । त्यही एउटा नयाँ साइकल चढ्ने धोको त हो ! त्यही धोको पनि कहिले पूरा हुन्छ, ठेगान छैन ।
मेरो ओत लाग्ने ठेगाना भने हनुमाननगर कंकालिनी नगरपालिका–११, इनर्वा हो । त्यहाँ पनि ऐलानी जग्गामा घर छ । मेरा पुर्खाले पनि ज्याला–मजदुरी गरेर जुनी बिताए । मैले पनि त्यही गरिरहेको छु । मजदुरी गरेर जसोतसो खर्च चलाइरहेको छु ।
छोराछोरीका लुगाफाटा किनेको महिना नुन–भात खाएर सुत्नुपर्ने अवस्था छ । कति रात त्यसरी सुतेको पनि छु ।म अहिले ३६ वर्षको भएँ । परिवारमा आमा–बुवा, श्रीमती, छोरा र छोरी गरी ६ जना छौं । ऋणधन गरेर दुई छोरीको बिहे गरिदिएँ । छोरीको बिहेमा खर्च टार्न एक लाख रुपैयाँ ऋण लिएको थिएँ । अहिलेसम्म चुक्ता गर्न सकेको छैन । मासिक ५ हजारका दरले किस्ता तिर्नुपर्छ । त्यसका लागि मजदुरी गरेर कमाएको आधा ज्याला छुट्याउनुपर्छ । मजदुरी गरेर दिनमा ६ सय रुपैयाँ ज्याला आउँछ । फेरि हरेक दिन काम पाइन्छ भन्ने पनि छैन ।
छोराछोरीका लुगाफाटा किनेको महिना नुन–भात खाएर सुत्नुपर्ने अवस्था छ । कति रात त्यसरी सुतेको पनि छु । त्यसरी रात कटाएको भोलिपल्ट मजदुरी गर्न जाँदा शरीर काँम्ने गर्छ । यो समस्या घरमा कसैलाई सुनाएको छैन । मिठो–मसिनो खानेकुरा र माछा–मासु खान बेस्सरी मन लाग्छ । तर, किनेर खाने अवस्था छैन । एक साताअघि छोरा जन्मिएको खुसीमा छिमेकीले भोज गरेका थिए । त्यहाँ गएर कुखुराको मासु–भात खाएँ । आफैंले किनेर माछा–मासु खाएको दिन याद पनि छैन । सायद महिना कटिसक्यो होला । माछा–मासु किनेर खाउँ भने किस्ता तिर्नै मुस्किल पर्छ । काम नपाएरै धेरै पटकसम्म तनाव सहनु परेको छ ।
एक वर्षअघि काम खोज्दै राजविराज पुगेँ । गाउँदेखि ९/१० किलोमिटरको दूरीमा राजविराज छ । सधैं गाडी भाडा तिरेर आउजाउ गर्दा पैसै नबच्ने देखेँ । साइकल भए ओहोरदोहोर गर्न सकिने रहेछ । पहिल्यैदेखि साइकल चढ्ने रहर पनि थियो । बाध्य भएर राजविराज आउजाउ गर्न १५ सय रुपैयाँमा पुरानो साइकल किनेँ ।
एक वर्षदेखि त्यही साइकल चढ्दैछु । बिहान ९ बजेसम्म यहाँ (राजविराज) आइपुग्छु । यहाँका महाजन पनि राम्रो हुनुहुन्छ । यहाँ आइपुग्दा त्यसै फर्काउनु हुन्न । केही न केही काममा लगाउनु हुन्छ । दिनभरि यहीँ काम गर्छु । साँझ त्यही साइकल चढेर घर फर्किन्छु । तर, यो साइकल पुरानो भएर जहिले बाटोमै बिग्रिन्छ । कति दिन त हिँडेरै घर पुगेको छु । तर, काम गरेर अति थाकेको दिन त हिँड्नै मन लाग्दैन । त्यस दिन यतै बस्नुपर्ने बाध्यता आइलाग्छ । अनि बास माग्छु । लगनशीलताका साथ महिनाभरि मिहिनेत गर्दा पनि अझै नयाँ साइकल किन्ने हैसियत बनेन । अब जिन्दगीको सपना र आवश्यकता पनि त्यही एउटा नयाँ साइकल बनेको छ ।
प्रस्तुतिः विद्यानन्द राम
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
