‘माछा–मासु किनेर खाउँ भने किस्ता तिर्न मुस्किल पर्छ’

'एक साताअघि छोरा जन्मिएको खुसीमा छिमेकीले भोज गरेका थिए । त्यहाँ गएर कुखुराको मासु–भात खाएँ । आफैंले किनेर माछा–मासु खाएको दिन याद पनि छैन ।'

पुस ४, २०८२

विष्णु सदा 

'If we buy fish and meat and eat them, it will be difficult to pay the installments'

What you should know

सप्तरी — पारिवारिक जिम्मेवारीले थिचिएको छु । जिन्दगी चल्न त चल्या छ तर पिरैपिरमा छ । मरिहत्ते गरेर ज्याला–मजदुरी गर्दा पनि जिन्दगीका सपना र रहर पूरा हुँदैनन् । सपना पनि ठूलो छैन । त्यही एउटा नयाँ साइकल चढ्ने धोको त हो ! त्यही धोको पनि कहिले पूरा हुन्छ, ठेगान छैन ।

मेरो ओत लाग्ने ठेगाना भने हनुमाननगर कंकालिनी नगरपालिका–११, इनर्वा हो । त्यहाँ पनि ऐलानी जग्गामा घर छ । मेरा पुर्खाले पनि ज्याला–मजदुरी गरेर जुनी बिताए । मैले पनि त्यही गरिरहेको छु । मजदुरी गरेर जसोतसो खर्च चलाइरहेको छु । 

छोराछोरीका लुगाफाटा किनेको महिना नुन–भात खाएर सुत्नुपर्ने अवस्था छ । कति रात त्यसरी सुतेको पनि छु ।म अहिले ३६ वर्षको भएँ । परिवारमा आमा–बुवा, श्रीमती, छोरा र छोरी गरी ६ जना छौं । ऋणधन गरेर दुई छोरीको बिहे गरिदिएँ । छोरीको बिहेमा खर्च टार्न एक लाख रुपैयाँ ऋण लिएको थिएँ । अहिलेसम्म चुक्ता गर्न सकेको छैन । मासिक ५ हजारका दरले किस्ता तिर्नुपर्छ । त्यसका लागि मजदुरी गरेर कमाएको आधा ज्याला छुट्याउनुपर्छ । मजदुरी गरेर दिनमा ६ सय रुपैयाँ ज्याला आउँछ । फेरि हरेक दिन काम पाइन्छ भन्ने पनि छैन ।

छोराछोरीका लुगाफाटा किनेको महिना नुन–भात खाएर सुत्नुपर्ने अवस्था छ । कति रात त्यसरी सुतेको पनि छु । त्यसरी रात कटाएको भोलिपल्ट मजदुरी गर्न जाँदा शरीर काँम्ने गर्छ । यो समस्या घरमा कसैलाई सुनाएको छैन । मिठो–मसिनो खानेकुरा र माछा–मासु खान बेस्सरी मन लाग्छ । तर, किनेर खाने अवस्था छैन । एक साताअघि छोरा जन्मिएको खुसीमा छिमेकीले भोज गरेका थिए । त्यहाँ गएर कुखुराको मासु–भात खाएँ । आफैंले किनेर माछा–मासु खाएको दिन याद पनि छैन । सायद महिना कटिसक्यो होला । माछा–मासु किनेर खाउँ भने किस्ता तिर्नै मुस्किल पर्छ । काम नपाएरै धेरै पटकसम्म तनाव सहनु परेको छ । 

एक वर्षअघि काम खोज्दै राजविराज पुगेँ । गाउँदेखि ९/१० किलोमिटरको दूरीमा राजविराज छ । सधैं गाडी भाडा तिरेर आउजाउ गर्दा पैसै नबच्ने देखेँ । साइकल भए ओहोरदोहोर गर्न सकिने रहेछ । पहिल्यैदेखि साइकल चढ्ने रहर पनि थियो । बाध्य भएर राजविराज आउजाउ गर्न १५ सय रुपैयाँमा पुरानो साइकल किनेँ । 

एक वर्षदेखि त्यही साइकल चढ्दैछु । बिहान ९ बजेसम्म यहाँ (राजविराज) आइपुग्छु । यहाँका महाजन पनि राम्रो हुनुहुन्छ । यहाँ आइपुग्दा त्यसै फर्काउनु हुन्न । केही न केही काममा लगाउनु हुन्छ । दिनभरि यहीँ काम गर्छु । साँझ त्यही साइकल चढेर घर फर्किन्छु । तर, यो साइकल पुरानो भएर जहिले बाटोमै बिग्रिन्छ । कति दिन त हिँडेरै घर पुगेको छु । तर, काम गरेर अति थाकेको दिन त हिँड्नै मन लाग्दैन । त्यस दिन यतै बस्नुपर्ने बाध्यता आइलाग्छ । अनि बास माग्छु । लगनशीलताका साथ महिनाभरि मिहिनेत गर्दा पनि अझै नयाँ साइकल किन्ने हैसियत बनेन । अब जिन्दगीको सपना र आवश्यकता पनि त्यही एउटा नयाँ साइकल बनेको छ ।

प्रस्तुतिः विद्यानन्द राम

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

विष्णु

Link copied successfully