‘छोरीको विवाह गर्दा लागेको ऋणले आनन्दसित बस्न-खान छैन’

'एक डोको सुन्तला बेच्दा २ हजारदेखि २ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । सुन्तला बेचेको पैसाले ऋण घटाउँदै छु । २५ धार्नी मासुको करिब ३० हजार र थप भैपरी ३२ हजार गरेर ६२ हजार रुपैयाँको ऋण थाप्लोमा बोकेर हिँडिरहेकी छु ।'

पुस ५, २०८२

डिलमाया थापा

'I can't live happily because of the debt I incurred when I married my daughter'

What you should know

तनहुँ — उमेरअनुसार त अब आराम गर्नुपर्ने समय हो । श्रीमान् र छोराछोरीसँग खुसीले रमाएर बस्नुपर्ने हो । यी सबै सपना बने । जवान छँदा दुःख गरेर बुढ्यौंलीमा रमाउला भन्नुमात्र भयो । ६० वर्ष पार गरे पनि छाक जुटाउन दुःख गरिरहेकी छु । 

छोरा जन्मिएनन्, छोरी आ–आफ्नो घर व्यवहार सम्हाल्नतिर लागे । सहारा श्रीमान् बितेपछि जिन्दगीको सबै भार आफैंले बोक्नुपरेको छ । अब त मेरो गुनासो गर्ने ठाउँ पनि छैन, सुन्दिने मान्छे पनि छैनन् ।

गाउँबाट तरकारी र फलफूल बजारमा ल्याएर बेच्यो अनि बजारबाट नुन, तेल, चामल किनेर घर लग्यो । तरकारीबाहेक अन्य सबै सामान किनेर खाने हो ।व्यास नगरपालिका–१३ माझकोटमा बस्छु । आफ्नो गुजारा चलाउनुपर्ने त छँदैछ । त्यहीमाथि छोरीहरूको विवाह गर्दा लागेको ऋणले पनि आनन्दसित बस्न–खान सक्ने अवस्था छैन । घरखर्च पुर्‍याउन, बिसन्चो हुँदा उपचारका लागि लिएको ऋण तिर्न पनि बारीमा फलाएका दाल, तरकारी र फलफूल डोकोमा बोकेर बिक्रीका लागि दमौली बजार झर्छु । यसबाट हुने आम्दानीले केही दिन नुनतेल किन्न पुग्छ । त्यसमा सामाजिक सुरक्षा भत्ता र सुन्तला खेतीले ठूलो भरथेग गरिरहेको छ । मेरो माइत पनि माझकोटै हो । 

कान्छी छोरी र म सँगै बस्छौं । कान्छो ज्वाइँ रोजगारीका लागि भारतमा जानुभएको छ । गाउँमा घर, जग्गा–जमिन छ । परिवार अटाउने सानो घर छ । जग्गा कति रोपनी हो ? त्यो त थाहा छैन । करिब ५ सय वटा सुन्तलाका बिरुवा लगाएकी छु । तरकारी उब्जाउन बारी छ । रोग लागेर सुन्तलाका धेरै बोट सुकेका छन् । अहिले २ सय १० राम्रा बोट बाँकी छन् ।

मौसमअनुसारका तरकारी र फलफूल खेती गर्छु । केही आफैं र इष्टमित्रले खान्छौं । बाँकी दमौली बजार लगेर बिक्री गर्छु । २०७५ सालमा श्रीमानको मृत्यु भयो । त्यसपछि पालिकाबाट तीन महिनामा ८ हजार रुपैयाँ भत्ता मिल्छ । 

यस वर्ष ठेक्कामा सुन्तला बेचेर ४५ हजार रुपैयाँ हात पर्‍यो । सुन्तलाका बोटमा रोग नलागेको भए मनग्गे आम्दानी हुने रहेछ । सुकेका सुन्तलाका केही बोट भाँचेर दाउरा बनाएँ । केही बारीमै ढलेका छन् । रहलपहल सुन्तला डोकोमा हालेर बजार लगेर बेच्छु । एक डोको सुन्तला बेच्दा २ हजारदेखि २ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । सुन्तला बेचेको पैसाले ऋण घटाउँदै छु । २५ धार्नी मासुको करिब ३० हजार र थप भैपरी ३२ हजार गरेर ६२ हजार रुपैयाँको ऋण थाप्लोमा बोकेर हिँडिरहेकी छु ।

काम पर्दा आमा समूह, छरछिमेक र आफन्तसँग सापटी, ऋण लिन्छु । पछि कमाएर घटाउँदै जान्छु । ऋण लिएको ठाउँबाट पैसाको ताकेता लगाएका छन् । तर, अहिले कमाइ छैन । एक्लोले कमाएर सबै ठाउँमा पुर्‍याउन पनि ग्राहो हुँदोरहेछ । 

गाउँबाट तरकारी र फलफूल बजारमा ल्याएर बेच्यो अनि बजारबाट नुन, तेल, चामल किनेर घर लग्यो । तरकारीबाहेक अन्य सबै सामान किनेर खाने हो । महंगी पनि अचाक्ली छ । २ हजारको १ बोरा चामल एक महिनालाई पुगनपुग हुन्छ । पाहुना आउँदा त्यही पनि पुग्दैन । कहिले ग्यास, कहिले दाउरा बालेर खाना पकाउँछु ।

कहिलेकाहीँ बारीको काम गर्दा खेताला लगाउनु पर्छ । उनीहरूलाई दिनमा ५/६ सय रुपैयाँका दरले ज्याला दिनुपर्छ । आम्दानी थोरै छ तर खर्च चौतर्फी छ । तैपनि हार मानेकी छैन । संघर्ष गरिरहेकी छु । जस्तोसुकै परिस्थिति भए पनि जतिसम्म जिउँछु, त्यतिसम्म खुसी भएर बाँच्न पाऊँ । 

प्रस्तुति : सम्झना रसाइली

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

डिलमाया थापा

Link copied successfully