दिनमा ५०/६० किलो सुन्तला बेच्छु । कहिले एकमुष्ट त कहिले फुटकर बिक्री हुन्छ । गाउँमा प्रतिकिलो ६०/७० रुपैयाँमा किनेर ठूला दानाको १ सय २० र साना दानाको ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको छु ।
What you should know
गुल्मी — तम्घासमा अहिले सुन्तलाको राम्रै व्यापार छ । मौसमी फल भएर पनि होला– चिसो भए पनि सुन्तला राम्रै बिक्छ । म मात्रै हैन, यहाँ सुन्तला बेच्ने धेरै छन् । तर पनि सुन्तलाको व्यापार राम्रो छ । मूल्य पनि राम्रै पाइरहेका छौं ।
मैले बेच्न ल्याएको सुन्तला फर्काएर लैजानु परेको छैन् । कहिलेकाहीँ धेरै बिक्री हुने भयो भने फेरि ल्याएर पनि बिक्री गर्छु । तम्घासमा सहिदचौक, चिदिचौर खेलमैदानअगाडि र लाँकुरीमञ्च आसपासमा सुन्तला बेच्न बस्छु । राम्रै बिक्री छ । अहिले यसबाटै घरखर्च टरेको छ, यसमै सन्तुष्ट छु ।
मेरो घरमा त खासै सुन्तला फल्दैनन् । तर, थोरैधेरै भए पनि बिक्री गर्न पाए अलिकति नाफा भए पनि घरखर्च चल्छ भनेर अन्यत्रबाट किनेर ल्याई बिक्री गर्न बस्छु । मेरो घर रेसुंगा नगरपालिका–६ मा पर्छ । म अहिले ३३ वर्षको भएँ । १० वर्ष पहिले विदेश गएको थिएँ । राम्रो काम नपाउँदा तीन महिनामै फर्कें । अहिले यतै गाउँमा दिन कटाइरहेको छु ।
हातमा सीप छैन । तैपनि, जसोतसो गरेर नुनतेलको जोहो गर्न सफल भएकामा खुसी नै छु ।वर्षमा २०/२२ दिनसम्म यसरी सुन्तला बिक्री गर्छु । सुन्तलाको सिजनभर बिक्री गर्ने गरेको छु । यो फलको धेरै समय हुँदैन । अहिले १०/१५ दिनजति भयो, दैनिक सुन्तला बेचिरहेको छु । दिनमा ५०/६० किलो सुन्तला बेच्छु । कहिले एकमुष्ट त कहिले फुटकर बिक्री हुन्छ । गाउँमा प्रतिकिलो ६०/७० रुपैयाँमा किनेर ठूला दानाको १ सय २० र साना दानाको ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको छु । सिजनको फल सिजनकै व्यापार हो । ठूलो आश गरेर पनि भएन । तर, अहिले जेजति व्यापार भएको छ, यसैमा सन्तुष्ट छु ।
गाउँमा फर्किएर खेतीपाती र बस्तुभाउ पाल्ने काम गरेँ । त्यो काम अहिले पनि छोडेका छैनौं । दूध खानलाई अहिले पनि घरमा भैंसी पालेका छौं । गाउँमा यताउता काम गरेपछि घरखर्च चल्छ । तर धेरै कमाइ हुँदैन । जसोतसो गरेर नुनतेलको जोहो गर्न सफल भएकामा खुसी नै छु । खानालाउनमा त्यस्तो ठूलो खर्च केही छैन । सामान्य दाल, भात र तरकारी भए पुगिहाल्छ । लगाउने कपडा राम्रै हुनुपर्छ भन्ने छैन । जस्तो छ, त्यसैमा सन्तुष्ट छु ।
धेरै कमाउनुपर्छ भन्ने लाग्दैन । त्यस्तो ठूलो कमाइ गर्न पाए हुन्थ्यो भन्ने लोभ पनि छैन । तर जिन्दगी चलाउनु पर्छ । मासिक २५/३० हजार कमाउन सके पुगिहाल्छ भन्ने लाग्छ । तर त्यति कमाउन पनि ज्याला मजदुरी गरेर गाह्रो छ । केही सीप नभएपछि गाह्रो हुँदोरहेछ । हातमा सीप भएको भए सायद जीवन यसभन्दा सहज हुन्थ्यो कि !
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
