ट्याक्टर, जीप, बस चल्न थालेपछि काम पाउन छाडियो । त्यसपछि म तानसेनतिर आएँ । यहाँ आएको पनि ३७ वर्ष भयो । हुन त अहिले म ७० वर्षको भएँ । तर अझै पनि भारी बोक्न छाडेको छैन ।
What you should know
पाल्पा — तानसेन नगरपालिका–७, काजीपौवानजिकै दुई तलाको घर बनाएको छु । ४३ हजारमा घडेरी लिएको थिएँ । बिस्तारै बिस्तारै ऋणधन गरेर दुई तलाको घर खडा गरेको छु । तर घर त्यति सजिलै बनेको भने होइन । दैनिक भारी बोक्न थालेको पनि ४७ वर्ष भएछ । त्यही भारी बोकेर जम्मा गरेको पाइपाइ रकमले मेरो घर खडा भएको हो ।
१० वर्षजति सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि रामपुर, बाँकामलाङ, गाँडाकोटसम्म भारी बोकेरै पुगियो । ३७ वर्षजति भयो तानसेनमा बसोवास गर्न थालेको । धेरै वर्ष डेराभाडामै बसेको हुँ ।
लाहुरेको भारी बोक्दा निकै माया गर्थे । कपडा दिन्थे । खान पनि मिठो मिठो दिने गर्थे । भारी बोकेर टाढाटाढा गएको ९० रुपैयाँसम्म दिन्थे । ट्याक्टर, जीप, बस चल्न थालेपछि काम पाउन छाडियो । त्यसपछि म तानसेनतिर आएँ । यहाँ आएको पनि ३७ वर्ष भयो । हुन त अहिले म ७० वर्षको भएँ । तर अझै पनि भारी बोक्न छाडेको छैन ।
घरघरमा ग्यास पुर्याउने गरेको छु । पसलबाट सामानहरू बोकेर घरसम्म लगिदिन्छु । तानसेनका सबै टोलमा रेफ्रिजेनेरेटर, वासिङ मेसिन, स्टिल दराज, चामल, काठका सामग्री बोकेर घरसम्म पुग्ने गर्छु । कहिलेकाहीँ कमाइ राम्रै हुन्छ तर सधैं भने राम्रो हुँदैन । ग्यास बोकेको ३० रुपैयाँ पाइन्छ । ठूला सामान, टाढाटाढा पुर्याउनु पर्यो भने ३ सयसम्म दिन्छन् । कसै कसैले बुढो मान्छेले बोकेर ल्याएको भन्दै सय/दुई सय रुपैयाँ बढी दिन्छन् ।
मेरो जन्मघर भने पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाको बैछाप हो । म सानैदेखि केही गर्नुपर्छ भनेर घरबाट निस्किएँ । साथीभाइ भारततिर जाँदा म भने आर्यभन्ज्याङमा लाहुरेको भारी बोक्ने काम पाएँ । नगद पैसा दिन थाले । भारी बोक्दै लाहुरेले ल्याएका ‘टेपरिकर्डर’ को गीत सुन्दै गाउँघर पुगिथ्यो । पैसा पनि दिने अनि खाना पनि मिठो पाइने अनि हातमा नगद पनि पाइने भएपछि यतै रमाउन थालेँ । १० वर्षजति लाहुरेसँगै हिँडेर गाउँगाउँ पुग्दा निकै रमाइलो गरी दिन बित्यो ।
हुन त अहिले म ७० वर्षको भएँ । तर अझै पनि भारी बोक्न छाडेको छैन ।
पछि तानसेन आएपछि भने बसपार्कमा भारी बोकेँ । पछि पसल पसलबाट सामान छाड्न जान थालेँ । धेरै वर्षपछि ४३ हजार हालेर घडेरी किनेँ । श्रीमती बितेको पनि २७ वर्ष भइसकेछ । दुई छोरा छन् । दुवैलाई पढाउन सकिनँ । जेठो शेरबहादुरले पनि खासै पढेन । कान्छो बलबहादुरले ५ कक्षा पढ्यो । मैले पढ् पढ् भनेको हो तर पढेनन् । दुवै छोराले गाडी चलाउने काम गर्छन् । बुहारीहरू पनि सँगै छन् । नाति–नातिना भइसकेका छन् । अहिले खर्च बढेको छ । दैनिक ३ सयदेखि २ हजारसम्म कमाउने गर्छु । तर पनि घर खर्च धान्न गाह्रो छ ।
पहिला जस्तो अहिले भारी बोक्ने काम पनि पाउन समस्या छ । पहिले धेरै काम पाइन्थ्यो । अहिले निकै थोरै काम पाइन्छ । मान्छेको भीडभाड नै कम भइसक्यो । बसपार्कमा १०/१५ जना भरिया हुन्थे । तर मेरा छुट्टै ग्राहक थिए । उनीहरूले बोलाउने र काममा लगाउने गर्थे । त्यही अनुसारको आम्दानी पनि हुन्थ्यो । दाल, चामल, तरकारी, लत्ता कपडा धेरै महँगो भएको छ । हामीजस्ता विपन्न परिवारका लागि कुनै पनि सरकारले सहयोग गर्दैन । तीनवटा सरकार छन् भन्ने सुनेको छु तर राजनीति मलाई थाहा छैन । मजस्ताका लागि राजनीतिक दलले केही गर्दैनन् । राजनीतिक किन गर्छन् ? मलाई केही थाहा छैन । महँगी नियन्त्रण गर्न कुनै सरकारले सकेका छैनन् ।
१ सय ५० रुपैयाँमा एक बोरा चामल घर लगेर खाएको मैले नै हो । अहिले २ हजार रुपैयाँमा २५/३० किलोको बोरा दिन्छन् । पहिलाको जस्तो बोरामा चामल नै आउँदैन । महँगी बढेको यहाँ नेपालमा धान, मकै, कोदो नरोपेर पनि हो । पहिले पहिले सबै गाउँमा मकै, धान, कोदो, फापर, तोरी हुन्थ्यो । केही समय पहिला सिलुवा गाउँ जाँदा सबै खेतबारी बाँझो देखेको थिएँ । यसरी त किनेर खाने बाहेक केही भएन । गाउँगाउँमा मोटरबाटो लगेका छन् । तर चाउचाउ खाएका छन् । गाउँमा उब्जनी छैन । महँगी त्यसै पनि बढ्छ । हाम्रा साथीभाइहरू कोही भेटिँदैन । महँगी बढेर होला– मान्छेले दुःखसुखका कुरा गर्न पनि छाडेजस्तो लाग्छ । जे भए पनि सरकार जनताका लागि हुनुपर्छ । जनताले भोट दिएर जिताएर पठाउनेले महँगी बढाएर हुँदैन । गरिब जनता पनि बाँच्न सक्ने व्यवस्था चाहियो ।
