‘होटल व्यवसाय गर्दा बेहोरेको घाटा भैंसीपालनबाट पूर्ति गरिरहेको छु’

१३ रोपनी जग्गा भाडामा लिएर गाई-भैंसी पालेको छु । अहिले दुध दिने र सानाठूला गरी २१ भैंसी र ७ वटा गाई छन् । दैनिक ६० लिटर दुध दिन्छन् । त्यसबाट महिनामा १ लाखभन्दा बढी कमाइ हुन्छ ।

पुस १६, २०८२

प्रेमकुमार रोका 

'I am making up for the losses incurred in the hotel business through buffalo farming'

What you should know

सल्यान — हाम्रो परिवारमा पैसाको कतिसम्म अभाव थियो भन्ने एउटा घटना दिमागमा आइरहन्छ । त्यतिबेला म १४ वर्षको थिएँ । कक्षा ८ मा भर्ना हुन ३५ रुपैयाँ चाहिएको थियो । बुवा–आमाले त्यही पनि जुटाउन नसकेपछि पढाइ छाड्नु पर्‍यो ।

स्कुल छाडेपछि गाउँमा लखरलखर हल्लिन पनि सुहाएन । २०४९ सालमा पढाइ छाडेर मजदुरी गर्न भनेर भारतको पन्जाब पुगेँ । त्यहाँ लगातार १४ वर्ष काम गरेँ । त्यहाँ दुःखमसुखम आर्जेको रकमले घर फर्किएर एक बिघा पाखो जमिन र सात रोपनी खेत किनेँ । गाउँमै चारकोठे घर बनाएँ । यति भएपछि किन कमाउन पन्जाब जानु भन्ने सोच आयो । अनि यतै खेतीपाती गर्न थालेँ । 

खेतीपातीबाट खानलाई मात्र ठिक्क हुन्थ्यो । बचत केही नहुने भएपछि शारदा–५, पिपलनेटाबाट बसाइँ सरेर २०६८ मा श्रीनगर आएँ । ऋण लिएर घर बनाएँ । त्यही घरमा होटल चलाएपछि राम्रो कमाइ भयो । 

सबै राम्रो हुँदै थियो । २०७६ मा कोराना महामारी फैलिएपछि होटल व्यवसाय ठप्प भयो । तीन महिना होटल बन्द गरेर घरभित्रै बस्न बाध्य भइयो । जसका कारण महिनामै एक लाखजति घाटा बेहोर्नु पर्‍यो । थाप्लामा ऋण थपिँदै गयो । कोरोना महामारीदेखि सुस्ताएको होटल व्यवसाय त्यसपछि फस्टाउनै सकेन । 

कमाइ नभएपछि ऋण तिर्न गाह्रो भयो । एकछिन त के गर्ने ? कसो गर्ने भयो । रिँगटा चलेजस्तो लाग्थ्यो । सबैको सल्लाहअनुसार कोरोना महामारी कम भएपछि २०७८ सालमा भैंसीपालन व्यवसायमा जोडिएँ । अहिले त्यही भैंसीपालन मेरो आय आर्जनको मुख्य र गतिलो आधार बनेको छ । 

भैंसीपालनबाट कमाएको रकमले अहिले घर निर्माण, होटल सञ्चालन तथा छोराछोरीलाई विदेश पठाउँदा बैंकबाट लिएको ऋण तिर्न सहज भएको छ ।सुरुमा शारदा–११, सुकेखोलामा शारदा युनिटी भैंसी फार्म खोलेँ । २० लाख रुपैयाँ ऋण र त्यसमा थपथाप गरेर ३५ लाखमा टहरा बनाएर भैंसीपालन सुरु गरेको थिएँ । चिसोका कारण दुध उत्पादन र घाँसपातमा समस्या भएपछि भैंसी फार्म त्यहाँबाट श्रीनगरमा सारेको छु । वार्षिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरी १३ रोपनी जग्गा भाडामा लिएर भैंसी पालेको छु । अहिले दुध दिने र सानाठूला गरी २१ भैंसी र ७ वटा गाई रहेका छन् । दैनिक ६० लिटर दुध दिन्छन् । त्यसबाट महिनामा १ लाखभन्दा बढी कमाइ हुन्छ । परिवारमा चार जना छौं । छोराछोरी दुवै पढ्दै कमाउँदै गर्ने भनेर विदेश गएका छन् । घरमा श्रीमान् र श्रीमती मात्र छौं । 

अहिले म ४५ वर्षको भएँ । फार्ममा म र मेरी श्रीमती दैनिक ८ घन्टा खटिने गरेका छौं । दुध, पाडापाडी र मल बिक्री गरेर वार्षिक २० लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ । फार्ममा पालेका गाईभैंसीलाई दाना, घाँसपात, औषधि, जग्गाको भाडा, बत्ती, पानीमा झन्डै १० लाख जति खर्च हुन्छ । वर्षमा १० लाख जति चोखो बचाइरहेको छु ।

भैंसीपालनबाट कमाएको रकमले अहिले घर निर्माण, होटल सञ्चालन तथा छोराछोरीलाई विदेश पठाउँदा बैंकबाट लिएको ऋण तिर्न सहज भएको छ । मासिक १ लाख रुपैयाँ भन्दा बढी बैंकमा किस्ता बुझाउँछु । होटल व्यवसाय गर्दा बेहोरेको घाटा पनि भैंसीपालनबाटै पूर्ति गरिरहेको छु । कोरोना महामारीदेखि सुस्ताएको होटल व्यवसाय अहिलेसम्म फस्टाउन सकेको छैन ।

अहिले होटलमा दुई/चार जना भन्दा बढी मानिस आउँदैनन् । त्यही भएर होटललाई भन्दा बढी समय भैंसीपालनलाई दिइरहेको छु । मैले भारतको पन्जाबस्थित मोक्सर भन्ने ठाउँमा बसेर जति संघर्ष गरेँ, त्यही संघर्षले अहिले मलाई यहाँसम्म पुर्‍याएको छ । 

प्रस्तुति : विप्लव महर्जन

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

प्रेमकुमार रोका 

Link copied successfully