पुर्ख्यौली थलो छाडेर चितवन आएपछि नाडी खियाएर खाइरहेको छु । २०७२ वैशाख १२ गते आएको भूकम्पले घरबार मात्र क्षति पुर्याएन, मेरो जीवनमा पनि बज्रपात ल्र्यायो । त्यही भूकम्पमा श्रीमती गुमाएपछि रन्थनिएको छु ।
What you should know
गोरखा — अजिरकोट–४, सिम्जुङको झ्यावाँ जन्मघर हो । तर, फर्किएर जन्मघर जानै मन लाग्दैन । जायजेथा भएको ठाउँ नगएर पनि सुखै भएन । चाडपर्वका बेला पारेर गाउँ गइरहेको हुन्छु । तर गाउँ जाँदा अहिले पनि मन भारी हुन्छ । आउनासाथै कहिले चितवन फकिऊँजस्तो लागिहाल्छ ।
२०७२ वैशाख १२ गते आएको भूकम्पले घरबार मात्र क्षति पुर्याएन, मेरो जीवनमा पनि बज्रपात ल्र्यायो ।
श्रीमती गुमाएपछि रन्थनिएँ । त्यसपछि जन्मिएको गाउँ भारी लाग्न थाल्यो । त्यही रन्कोमा चितवन बसाइँ सरेर आएको पनि १० वर्षजति भयो । अहिले चितवनमै जे काम पाउँछु, त्यही गरिरहेको छु । ज्याला–मजदुरी गर्दा जति कमाइ हुन्छ, त्यतिले गुजारा चलाउने हो । कहिले कृषि फार्ममा त कहिले ठेकेदारले अर्हाएको काम गर्दै दिन कटेको पत्तै पाइँदैन । त्यही हो- पाखुरी चलुन्जेल गरेर खाने हो ।
२०७२ वैशाख १२ गतेको दिन बेसी झरेको थिएँ । त्यही बेला भूँइचालो गयो । आकाश धूलाम्मे बन्यो । मन आत्तियो । के भयो होला ? कसो भयो होला भन्दै दौड्दै घर फर्किएँ । बाटोभरि सबैका घर ढलेका थिए । आफ्नो घर के भयो होला ? मनमा पिर पर्यो ।
आँगनमा पुग्दा घर भत्किसकेको देखेँ । अनि श्रीमती (कुन्तादेवी)लाई डाको लाएँ । कतैबाट डाको फर्काइनन् । खोज्दा भेटिनँ । गोठमा रहेको लैनो भैंसी, एक हल गोरु, ४/५ वटा बाख्रा च्यापिएर मरेछन् । त्यो रात छटपटिँदै बित्यो । भोलिपल्ट आर्मी, पुलिस घरमा आए । उनीहरूले घरका अवशेष पन्छाएर हेर्दा च्यापिएर श्रीमतीको मृत्यु भइसकेको रहेछ । श्रीमतीको एउटा आँखा कमजोर थियो । म घरमा थिइनँ ।
काम गरे पनि सुख पाए त ठिकै हो, सधैं दु:ख मात्रै कति गर्ने ! दुःख अनुसार कमाइ नभए पनि खानलाई भने पुगेकै छ ।जेठो छोरो मलेसिया थियो । कान्छो छोरा पनि त्यस दिन खेतमा पानी लगाउन गएको थियो । तर, जीवनसाथी गुमाएपछि संसार रित्तै लाग्यो । जसोतसो १३ दिनको काजकिरियाको काम सकाएँ । केही समय पुरानै ठाउँमा कटेरो हालेर केही दिन बितायौं । बस्तुभाउ पनि भूकम्पमा परेर मरे । त्यसपछि बेसी झरेर बाख्रा फार्म सञ्चालन गरेँ । एक लाख भन्दा बढी लगानी गरेर बाख्रा फार्म खोलेर के गर्नु । चितुवाले बाख्रा खाएर हैरान बनायो । बिरक्तिएको मन लिएर त्यसपछि गाउँ छाडेँ । लगत्तै छोराहरू पनि भएका बाख्रा बेचेर चितवन झरे ।
कुनै फार्ममा काम गर्दा महिनाको १० हजारसम्म कमाइ हुन्छ । जहाँ काम गर्यो त्यही खान र बस्न मिल्ने गरेको छ । काम गरे पनि सुख पाए त ठिकै हो, सधैं दु:ख मात्रै कति गर्ने ! दुःख अनुसार कमाइ नभए पनि खानलाई भने पुगेकै छ । ज्यानमा ‘ग्याष्ट्रिक’ बाहेक अरू रोग छैन ।
नाडी चलुन्जेल धेरथोर कमाउँछु, बचाउँछु जस्तो त लाग्छ । दुई छोराहरू चितवनमा छन् । उनीहरूको पढाइ राम्रो भएन । उमेर छँदै विदेश गएर कमाइदिए हुन्थ्योजस्तो लाग्छ । बरू, उनीहरूले विदेश जान रुचि देखाए म पनि रकम थपथाप गरिदिन्थेँ । तर, विदेश जान मन गरेका छैनन् । मलाई श्रीमती गुमाउनु पर्दाको चोटले पीडा दिन छाडेको छैन । श्रीमान्–श्रीमतीको जस्तो साथ अरूबाट नहुँदो रहेछ ।
प्रस्तुति : हरिराम उप्रेती
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
