‘सीप सिकेर अरूलाई पनि आत्मनिर्भर बनाउन सक्दा सन्तुष्टि मिलेको छ’

'श्रीमान‍्को मात्र भर परेर बस्नु हुँदैन भन्ने कुराले मलाई बारम्बार घोचिरहन्थ्यो । महिलाले पनि आफ्नै खुट्टामा उभिनुपर्छ, आफूले कमाउन सके पक्कै आत्मसम्मान बढ्छ भन्ने लाग्यो । त्यसपछि नै सिलाइ व्यवसायमा जोडिएकी हुँ ।'

पुस १९, २०८२

प्रमिला तोलाङ

”I feel satisfied when I can learn skills and make others self-reliant.”

What you should know

डडेल्धुरा — बिहानै सुरु हुने सिलाइ मेसिनको खटखट आवाज साँझसम्मै कानमा ठोक्किरहन्छ । यही आवाजले आत्मविश्वास पनि बढाइरहेको हुन्छ । तर, मेसिन चलाउन मैले गरेको संघर्ष सहज थिएन । दुई वर्षअघिसम्म म घरधन्दा र परिवारले तय गरेको घेरामा सीमित थिएँ ।

घरको कमाइ–धमाइको जिम्मेवारी श्रीमान‍्को काँधमा थियो । जुरुक्क उठेर उहाँ काममा जानुहुन्थ्यो । उहाँमात्र खटिएको देख्दा मनभित्र सधैं ‘म केही पनि गर्न सक्दिनँ र ?' भन्ने प्रश्नले पोलिरहन्थ्यो । महिलाले घरभित्र मात्र बसिरहनुपर्छ र भन्ने लागिरहन्थ्यो । 

अहिले मेरो उमेर २८ वर्ष पुग्यो । अमरगढी नगरपालिका–५ मा मेरो घर छ । तुफानडाँडामा सानो खोका (पसल) मा सिलाइ व्यवसाय गरिरहेकी छु । श्रीमान‍्को मात्र भर परेर बस्नु हुँदैन भन्ने कुराले मलाई बारम्बार घोचिरहन्थ्यो । महिलाले पनि आफ्नै खुट्टामा उभिनुपर्छ, आफूले कमाउन सके पक्कै आत्मसम्मान बढ्छ भन्ने लाग्यो । त्यसपछि नै सिलाइ व्यवसायमा जोडिएकी हुँ ।

विस्तारै ‘म पनि कमाउन सक्छु’ भनेर आफूलाई आश्वस्त पारेँ । परिवारलाई विश्वास दिलाएँ । त्यही बेला एकीकृत विकास समाज संस्थाले सिलाइकटाइ तालिमको अवसर दियो । म पनि तालिममा सहभागी भएँ । 

मिहिनेतको कमाइ थोरै भए पनि मिठो निन्द्रा लाग्दो रहेछ । आत्मसम्मान बढ्दो रहेछ ।सुरुमा त कठिन कामजस्तो लाग्थ्यो । मेसिन चलाउन डर लाग्थ्यो । हात काँप्थे । अभ्यास गर्दै गएपछि हात बस्न थाल्यो । विश्वास पनि बढ्दै गयो । तालिम सकिएपछि ठूलो सपना देखिनँ । थोरै लगानी गरेर काम सुरु गरेँ । तर, बेस्सरी मिहिनेत गर्ने सोच बनाएकी थिएँ । दुई वर्षअघि ५० हजार रुपैयाँ जुटाएर सिलाइ व्यवसाय सुरु गरेँ । तुफानडाँडामा मासिक ४ हजार रुपैयाँ भाडा तिरेर एउटा सानो टिनको खोका लिएँ । यसरी सानो पसलमा ‘प्रमिला सिलाइ सेन्टर’ सुरु भयो । 

अचेल बिहान १० बजे पसल खोल्छु । सामान्य दिनमा पनि साँझ ५–६ बजेसम्म काम गर्छु । चाडपर्व, विवाहको सिजनमा राति ९–१० बजेसम्म पनि काम गर्छु । सामान्यतया दिनमा तीन–चार जोर कपडा सिलाउँछु । त्यसबाट दिनको १ हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी हुन्छ ।

त्यही आम्दानीले परिवारको आर्थिक आवश्यकता पूरा गर्न ठूलो सहयोग पुगेको छ । यो आम्दानीले हाम्रो दैनिकीमा पनि परिवर्तन ल्याएको छ । अहिले त साँझ–बिहान खानको चिन्ता छैन । घरमै पकाएको खाना खान पाइन्छ । दालभात, तरकारी र कहिलेकाहीँ मासु पाक्छ । यो सबै मेरै कमाइको भरमा सम्भव भएको छ । पसलमै बसेर कहिलेकाहीँ खाजा खानुपर्छ, त्यसबाहेक खानपिनको खर्च धानिएको छ । पहिला खर्च गर्नुपर्दा धेरै सोच्नुपर्थ्यो, अहिले सामान्य लुगाफाटा, खानपिन र घरखर्च चलाउन सजिलो भएको छ । आफ्नै कमाइले पकाएको खाँदा छुट्टै सन्तुष्टि मिल्छ । 

आफू व्यवसायमा स्थापित भएपछि अरूलाई पनि सिकाउने निर्णय गरेँ । अहिले चार जना महिलालाई सिलाइसम्बन्धी काम सिकाइरहेकी छु । उनीहरूलाई कपडाको पिसको आधारमा काम पनि दिएकी छु । सिक्दै कमाउँदै गरिरहेका छन् । उनीहरूको पनि घरखर्च यहीबाट चलिरहेको छ । महिलाले महिलालाई साथ दिनुपर्छ । अरूलाई पनि आत्मनिर्भर बनाउन पाउँदा सन्तुष्टि मिल्छ । मेरो यात्रामा परिवारको साथ छ । श्रीमान् र परिवारका अरू सदस्यले सहयोग गर्नुभएको छ । 

‘तिमीले जे गर्छौ, राम्रो गर’ भनेर भन्नु हुन्छ । अहिले त मलाई गर्व लाग्छ । श्रीमान‍्सँग पैसा मागिरहनु पर्दैन । मिहिनेतको कमाइ थोरै भए पनि मिठो निन्द्रा लाग्दो रहेछ । आत्मसम्मान बढ्दो रहेछ । जीवनमा मैले सिकेको कुरा भनेकै लाज मान्नु पर्ने कुनै काम हुँदैन भन्ने हो । सीप सिक्नुपर्छ, काम गर्नुपर्छ । 

प्रस्तुतिः तर्कराज भट्ट

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

प्रमिला

Link copied successfully