'रासनपानीका निम्ति केही न केही इलम गर्नु पर्यो भनेर दुई वर्षअघि गाउँमै खुद्रा पसल सुरु गरेँ । चाउचाउ, बिस्कुट, तेल, चिनी, बच्चालाई चाहिने कापी–कलम, धागो बेचेर दिनमा ५/६ सय कमाइ हुन्छ । त्यसैबाट ९ जनाको परिवार धानिएको छ ।'
What you should know
कालिकोट — जाँगर गरेर पढ्ने बेला मायापिरिमको भाउँतोमा परेर भागी विवाह गरेकाले १० कक्षामै पढाइ छुट्यो । हाम्रो गाउँमा कलिलैमा बिहे गर्ने चलनजस्तै थियो । धेरै दिदीबहिनीले सानैमा बिहे गरिसकेका थिए । त्यो देखेर मलाई पनि पढाइभन्दा त बिहेवारी राम्रो लाग्यो । अनि, १५ वर्षकै उमेरमा नरहरिनाथ–२, कुमालगाउँका तेज दर्जीसँग भागेँ ।
त्यतिबेला १८ वर्षका तेज मेरो गाउँमा आफ्नी दिदी भेट्न आइराख्थे । नातामा म साली पर्थें । जिस्क्याउँदा जिस्काउँदै माया बस्यो । बिहे गरेपछि पढ्न पाइएन । सानैमा बच्चा जन्मिए । कमाइ थिएन । घरमा खाने मुख बढेपछि छाक टार्न मुस्किल भयो ।
रासनपानी नभएपछि केही न केही इलम गर्नु पर्यो भनेर दुई वर्षअघि गाउँमै खुद्रा पसल सुरु गरेँ । चाउचाउ, बिस्कुट, तेल, चिनी, बच्चालाई चाहिने कापी–कलम, धागो बेचेर दिनमा ५/६ सय कमाइ हुन्छ । त्यसैबाट ९ जनाको परिवार धानिएको छ ।
मेरा ससुरा लाल दमाई घरमै कलमा गाउँलेले टालटुल गर्न ल्याएका पुराना कपडा सिउने र तुन्ने काम गर्नुहुन्छ । त्यसरी काम गरेबापत वर्षको एक पटक (बाली घरे प्रथा) धान, मकै, गहुँ पाउनु हुन्छ । श्रीमान् बेरोजगार छन् । सासु घङ्ग्रा, एक देवर महेश, नन्द विनीता, छोरा डिजाइनर र डिसेन्ट, छोरी दियना एकै छानोमुनि बस्छौं । सबैको भरोसा यही पसल हो ।
जग्गा–जमिन धेरै छैन । बाजा बजाएर, लुगा सिलाएर परिवार पाल्ने पुरानो चलन अहिले पनि कायमै छ । खेतबारीको उत्पादनले एक महिना मात्र खान पुग्छ । बाँकी समय बेसाहा गरेर खानुपर्छ ।जग्गा–जमिन धेरै छैन । बाजा बजाएर, लुगा सिलाएर परिवार पाल्ने पुरानो चलन अहिले पनि कायमै छ । खेतबारीको उत्पादनले एक महिना मात्र खान पुग्छ । बाँकी समय बेसाहा गरेर खानुपर्छ । छोराछोरी पढाउनै पर्यो । श्रीमान् अहिले बीएड पढिरहनु भएको छ । मलाई पनि पढ्न छुटाएकामा पछुतो लाग्यो । अनि माइती गाउँको पञ्चदेव मावि मान्ममा यसै वर्ष एसईई दिने गरी परीक्षा फारम भरेकी छु । घरखर्चको तनाव एकातिर छँदै थियो, अहिले पढाइको चिन्ता थपिएको छ ।
१६ वर्षको उमेरमा पहिलो सन्तान जन्माएँ । त्यसपछि १८ वर्षमा छोरी र २० वर्षमा अर्को छोरा जन्मिएँ । विवाहका लागि योग्य उमेर हुँदासम्म लगालग तीन सन्तान जन्मिसकेका थिए । यही समय ०८१ जेठमा गाउँपालिकामा १८ देखि २४ वर्ष उमेर समूहका युवाका लागि व्यवसाय रोज्न तालिम खुलेको थाहा पाएर निवेदन दिएँ । मैले खुद्रा पसल रोजेँ । गाउँपालिकाले ०८१ मंसिर १४ देखि पाँचदिने तालिम दियो । त्यसपछि जीवनले नयाँ मोड लियो ।
खुद्रा पसल चलाउन सशक्त बालिका परियोजनाले ३७ हजार रुपैयाँ दिएपछि व्यवसाय सुरु गरेँ । पसल चलाएपछि छरछिमेक र अन्य संस्थाले पनि ऋण पत्याएका छन् । पसलबाट व्यापार हुन थालेपछि सहकारी र छिमेकीबाट गरेर ६ लाख २० हजार रुपैयाँ ऋण लिएर पक्की घर बनाइसकेँ ।
श्रीमान् र सासूले पनि घरमा कुखुरा पालन सुरु गर्नु भएको छ । गत भदौमा १ सय २७ गोटा अण्डा दिने कुखुराका चल्ला खोरमा हाल्नु भएको थियो । अहिले ८० वटाले अण्डा दिन थालेका छन् । खुद्रा बेच्दा प्रतिअण्डा २० रुपैयाँ पर्छ । अहिले जेठो छोरो रूपादेवी आविमा कक्षा ४ मा पढ्छ । साना दुई सन्तानलाई गायकी बोर्डिङमा नर्सरीमा भर्ना गरेका छौं ।
मेरो घर हुँदै ग्रामीण सडक गाउँपालिकाको केन्द्र कुमालगाउँ र डाँडा खलामा पुग्छ । त्यसैले सामान ढुवानीको समस्या छैन । गाउमै गाडी चल्ने भएपछि सामान ल्याउन सुर्खेतसम्म पुग्न पनि कठिन छैन । छिमेकीहरू रोजगारीका लागि भारत जान्छन् । मेरो परिवार साथै छ ।
परिवारसँगै बस्न पाउनु पनि खुसीकै कुरा हो । गाउँकै हिमचुली सहकारी संस्थामा एक सय रुपैयाँ बचत गर्छु । संस्थाबाट घर बनाउन र खुखुराका चल्ला हाल्न लिएको ऋण पनि घटाउँदै गएकी छु । यही गतिमा व्यापार भयो र भाग्यले साथ दियो भने एक वर्षभित्र सबै ऋण तिर्न सकिन्छ भन्ने लागेको छ ।
प्रस्तुति : तुलाराम पाण्डे
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
