‘दिनमा दुईवटासम्म डोको बुन्छु, तर पनि घरखर्च चलाउनै धौधौ छ’

पछिल्लो पुस्ता यो पेसाप्रति आकर्षित छैन । मेरै छोराहरू पनि यो काम सिक्न चासो देखाउँदैनन् । उनीहरूलाई दोष दिन्नँ । किनकि, दिनभर काम गरे पनि साँझ–बिहान हातमुख जोड्न गाह्रो हुन्छ भने कसरी यो पेसाप्रति आकर्षण बढ्छ ?

पुस २२, २०८२

कमल कैनी

'I weave up to two headscarves a day, but it's still hard to make ends meet'

What you should know

डडेल्धुरा — अमरगढी–७, पोखराको कैनी टोलमा बसोबास छ । अहिले ५६ वर्षको भएँ । अब पहिले जस्तो जोस जाँगर पनि छैन । शरीर थाक्दै गएको छ । बाँस र निगालोको चोया केलाउँदै दिमागमा कुरा खेलाउँछु । बाँस तथा निगालोका चोयाले डोको, सुप्पो, भकारी बुनेर बिक्री गर्छु । जानेको सीप नै यत्ति हो ।

जति सामान बुनेर सकिन्छ, त्यति बेचेर कमाइ गर्ने हो । यसैबाट भएको कमाइले गुजारा चलिरहेको छ । वर्षौंदेखि हाम्रो परिवारको पेसा नै यही हो । 

बाउबाजेका पालादेखि सीप हस्तान्तरण हुँदै मसम्म आइपुगेको हो । यो काम सुरु गर्ने बेला म १६ वर्षको थिएँ । बुवाले चोयाबाट डोको, सुपो, टोकरी, नाङ्लो, छाप्रा, भकारी बनाउन सिकाउनु भयो । त्यति बेला यो काम त्यति ठूलो र विशेष कुरा जस्तो लाग्थेन । 

गाउँमा धेरैले यस्ता सामान बनाउँथे । त्यति बेला घरायसी कामदेखि खेतीपातीमा यस्ता सामग्रीको प्रयोग अनिवार्यजस्तै थियो । अहिले समय फेरियो, बजार फेरियो, तर, हामीजस्ताको अवस्था फेरिन सकेन । 

सानैदेखि सिकेको यो सीपले कहिल्यै राम्रो बजार मूल्य पाएन । मिहिनेत मात्र धेरै लाग्छ । आम्दानी खासै हुँदैन । तर पनि जिन्दगीले जता धकेल्यो, उतै बाँच्न सिकियो । 

आम्दानी मात्रै हेरेको भए यो काम उहिल्यै छोडिसकेको हुन्थेँ ।चोयाले डोको, डालो बुन्दै उकालो–ओरालो गरेर यहाँसम्म आइपुगेको छु । आजभन्दा करिब ४० वर्षअगाडिको कुरा हो । त्यतिबेला निगालो र बाँस सहजै पाइन्थ्यो । महाभारत क्षेत्रको ‘तेले लेक’ बाट निगालो काटेर ल्याइन्थ्यो । जंगल खुला थियो, कच्चा पदार्थको अभाव थिएन । त्यो भनेर काम त सजिलो कहाँ पो हुन्थ्यो र !

मलाई डोको बनाउन १५ देखि २० वटा निगालो चाहिन्छ । एक दिनमा बढीमा दुईवटा डोको बुन्न सक्छु । तर पनि घरखर्च चलाउनै धौ धौ छ । काम सजिलो देखिए पनि धैर्य चाहिन्छ । हात दुख्छ, आँखा थाक्छ, तर पनि काम रोकिँदैन ।

यहीँको पोखरा बजारमा लगेर प्रतिडोको तीन सय रुपैयाँमा बिक्री गर्छु । गाउँ–गाउँ डुल्न पाए पाँच सयसम्म पाइन्छ । कहिलेकाहीँ १०–१५ वटा डोको पिठ्युँमा बोकेर हिँड्छु, तर सबै बिक्दैनन् । मिहिनेतअनुसारको आम्दानी कहिल्यै भएन । दिनभर काम गरेर पनि हातमा आउने पैसा सामान्य नुनतेल खर्च धान्न पुग्यो भने त्यही नै ठूलो कुरा हुन्छ । 

मेरो परिवार ठूलो छ । म, श्रीमती, तीन छोरी र दुई छोरा गरी ७ जनाको परिवार छ । आम्दानी हेरेर यो काम गरिरहेको छैन । आम्दानी मात्रै हेरेको भए यो काम उहिल्यै छोडिसकेको हुन्थेँ । पढाइका नाममा १० कक्षासम्म पढेको छु । पढाइ सकेर राम्रो काम पाउने आशा थियो, तर पढाइ पूरा गर्नै पाइनँ । 

अमरगढी नगरपालिकाले एकपटक सीप प्रवर्द्धनका लागि प्रयास गरेको थियो । सीप हस्तान्तरणका लागि ल्याइएको कार्यक्रममा म स्वयं प्रशिक्षक थिएँ । आफूले जानेको कुरा नयाँ पुस्तालाई सिकाउन पाएँ भनेर खुसी पनि लागेको थियो । तर, त्यो खुसी धेरै समय टिकेन । प्रशिक्षणमा आउनेको आकर्षण देखिएन । त्यसैले यो सीप लोप हुने अवस्थामा पुगेको यथार्थ अझ प्रस्ट बनाइदियो । 

पछिल्लो पुस्ता यो पेसाप्रति आकर्षित छैन । मेरै छोराहरू पनि यो काम सिक्न चासो देखाउँदैनन् । उनीहरूलाई दोष दिन्नँ । किनकि, यो काममा मै पनि भविष्य देखिँदैन । दिनभर काम गरे पनि साँझ–बिहानको हातमुख जोड्न गाह्रो हुन्छ भने कसरी यो पेसाप्रति आकर्षण हुन्छ ?

आजको बजार डोको र सुपोको होइन । प्लास्टिक, फलाम र आधुनिक सामग्रीले ठाउँ लिइसकेका छन् । गमला, कुर्सी, टेबल, मुडाजस्ता सामग्री बनाउन सके केही मात्रामा बिक्री हुन सक्ने देखिन्छ । तर, त्यसका लागि नयाँ डिजाइन, नयाँ तालिम र लगानी चाहिन्छ । त्यो सम्भावना देखिए पनि व्यवहारमा उतार्न सकिएको छैन ।

साँझ–बिहान हातमुख जोड्न निकै समस्या छ । बजारबाट गहुँ, चामल उधारो ल्याएर दुई–तीन महिनामा कहीँबाट पैसाको जोहो गरेर पसलको उधारो तिर्ने गरेको छु । तर, गाउँलेहरूकै पसल भएकाले उदारो लिन त्यति समस्या छैन । मेरो दैनिक कमाइको कुनै ठेगान हुँदैन । हरेक दिन डोको–सुपो बनाइन्छ भन्ने पनि छैन । 

प्रस्तुतिः तर्कराज भट्ट

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

कमल

Link copied successfully