‘बदाम बिक्री गरेर दिनमा दुई हजारसम्म कमाइ भइरहेको छ’

'कोशी गाउँपालिकाले दिएको अपाङ्गता भएका व्यक्तिले पाउने पहेँलो कार्ड भए पनि सुविधा उपभोग गर्न पाएको छैन । सरकारी सुविधा उपलब्ध भइदिएको भए बाँच्नलाई केही सहज हुन्थ्यो कि !'

पुस २५, २०८२

श्यामकरण मुखिया

'Up to two thousand rupees are being earned a day by selling almonds'

What you should know

भैरहवा — लौ मलाई यो समस्या छ, त्यो समस्या छ भनेर कहाँ छुटकारा मिल्छ र ? यो जीवन चलाउन मजस्ता धेरैले अनेकौं काम गर्छन् । मेरै साथीहरू कोही किसान छन् । कोही मजदुरी गर्छन् । कोही व्यापारी छन् । तर, सबैको एउटै सपना घरखर्च चलाउने र परिवारलाई खुसी राख्ने हो । तर, सोचेजस्तो कहाँ हुन्छ र ? कहिलेकाहीँ जिन्दगीको यात्रामा अनेक हण्डर आइपर्छन् । म पनि त्यस्तै पात्र हुँ । 

मेरो जन्म सुनसरीको कोशी गाउँपालकिा–१ मा भएको हो । हाम्रो पाँच जनाको परिवार छ । श्रीमती नलिम, जेठी छोरी श्रृजना, कान्छी छोरी सबिनी र छोरा अनमोल छन् । यहाँसम्मको मेरो यात्रा सुखद छैन । १३ वर्षको उमेरमा काकाको कल्याण चिउरा मिलबाट काम गर्न सुरु गरेँ । त्यही बेला मिलको पङ्खामा मेरो देब्रे हात पर्‍यो । गहिरो चोट लाग्यो ।

एक वर्षसम्म त अस्पतालमै बस्नु पर्‍यो । तर पनि च्वाट्टै निको भएन । हातको घाउमा सङ्क्रमण फैलियो । अनि डाक्टरको सल्लाहअनुसार देब्रे हात काट्नुपर्ने अवस्था आयो । हात गुमाएपछि मेरो जीवन ठप्प बनेजस्तो लाग्यो । केही समय त के गर्ने भनेर सोच्न पनि सकिनँ । 

मेरो दुःखको चक्र यत्तिमै सीमित भइदिएन । त्यसपछि मलाई हुर्काउने आमाको स्वास्थ्य बिग्रियो । त्यतिबेला १७ वर्षको थिएँ । आमालाई क्यान्सर लाग्यो । उपचार गर्दागर्दै ४२ वर्षको उमेरमा आमा बित्नुभयो । मेरो संसार झन् अन्धकार बन्यो । आमाको मृत्युले मलाई भित्र–भित्रै टुक्र्यायो । केही समयपछि आफैंलाई सम्हालेँ । अनि काम खोज्दै रूपन्देहीसम्म आएँ ।

हात गुमाएपछि मेरो जीवन ठप्प बनेजस्तो लाग्यो । केही समय त के गर्ने भनेर सोच्न पनि सकिनँ ।यहाँ आएर केही महिना माइलो दाइ धनराजसित बसेँ । एउटै हातको सहयोगले भए पनि केही समय रिक्सा चलाएर गुजारा गरेँ । यही बाँच्न संघर्ष गरिरहेका बेला मेरो भेट नलिम लोधसँग भयो । हाम्रो भेटघाट बाक्लिएपछि माया बढ्यो । सामाजिक मान्यता, जात, रूप–रंग केहीले हाम्रो सम्बन्धलाई छेक्न सकेन । 

धेरै वर्षसम्म मैले रिक्सा चलाएर गुजारा गरेँ । कोरोना महामारीको समयमा लकडाउन भएपछि यात्रु पाउन छाडेँ अनि रिक्सा थन्क्याएँ । तर, साँझ–बिहान खान र एकसरो लाउन त कमाउनु पर्ने बाध्यता छँदै थियो । अनि मौसम अनुसारको व्यापार गर्न थालेँ । गर्मी याममा फलफूल र आइसक्रिम बिक्री गर्छु । जाडोमा बदाम बेचेर कमाउँछु । अहिले बदाम बिक्री गरेर दिनमा १५ सयदेखि दुई हजारसम्म कमाइ हुन्छ । यही कमाइले ‘गाँस, बास र कपास’ चलेको छ ।

जेठी छोरी श्रृजना १० कक्षामा पढिरहेकी छन् । कान्छी सबिनी र अनमोल भैरहवाकै सरकारी स्कुलमा पढ्छन् । मसित बचत केही छैन । यिनै छोराछोरीको पढाइ मेरो सम्पत्ति हो । जसोतसो पढाइरहेको छु । छोरी हुर्किरहेका छन् । त्यो देख्दा मनमा चिसो पसिरहन्छ । छोरीहरूको बिहे खर्च कसरी जुटाउने होला भन्ने कुराले पिरोलिरहन्छ । तैपनि, सकेको काम गर्दै जाऊँ, भविष्यमा देखाजाल भन्दै अगाडि बढिरहेको छु ।

मसँग कोशी गाउँपालिकाले दिएको अपाङ्गता भएका व्यक्तिले पाउने पहेँलो कार्ड छ । तर, परिचयपत्र भएबापत पाउनुपर्ने सुविधा उपभोग गर्न पाएको छैन । सरकारी सुविधा उपलब्ध भइदिएको भए बाँच्नलाई केही सहज हुन्थ्यो कि ! जिन्दगीले मसित धेरै परीक्षा लियो । जस्तोसुकै परिस्थिति भए पनि मुस्कुराउन छाडेको छैन । 

सुखदुःखमा श्रीमती नलिम सहारा बनेर उभिन्छिन् । त्यसले पनि मेरो आत्मविश्वास बढ्ने गरेको छ । अनि अपाङ्ग हुनु हार होइन, परिआएको काम गर्न सकिन्छ भन्ने विश्वास पलाउँछ । मनले नहारेसम्म जीवन रोकिन्न । मिहिनेत र लगनले जिन्दगीका अप्ठ्यारा जित्न सकिँदो रहेछ । मैले गरिरहेको संघर्ष अरूका लागि प्रेरणा बन्न सक्छ । मजस्ता व्यक्तिलाई मेरो अनुरोध छ, ‘अप्ठ्यारो पर्‍यो भनेर हतास नहुनूस् । संघर्ष गर्दै अघि बढ्नूस । जीवनमा सुख भनेकै निरन्तरता रहेछ ।’

प्रस्तुति : दीपेन्द्र बडुवाल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

श्यामकरण मुखिया

Link copied successfully