‘चोया चिरेरै जिन्दगी बितेको छ’

आफ्नै धुनमा डोको बुन्न बाँस (निगालो) चिर्छु । डोको बुन्छु । बिक्रीका लागि पहिले आफैं जान्थेँ, अहिले अरुले बेचिदिन्छन् ।

पुस २९, २०८२

टीकाराम बयम्बु 

'Life has been spent in pieces'

What you should know

पाल्पा — निस्दी गाउँपालिका–३, झिरुवासको खादरमा हामी मगर समुदायको बसोवास छ । मेरो घर पनि यहीँ छ । म अहिले ७० वर्ष पुगेँ । बुढेसकालमा रोगले च्यापेकाले म भारी काम गर्न सक्दिनँ । मेरै उमेरका साथीभाइले घाँस–दाउरा गरिरहेका छन् । त्यो देख्दा मलाई पनि रहर लाग्छ । तर के गर्नु १० वर्षदेखि चिनी रोग (डायविटिज)ले च्यापेको छ ।

पहिला नियमित औषधि खान परेको थियो । औषधि खाएर अहिले चिनी रोग ठिकै ठाउँमा आएको छ । गाउँका गरिबी छ । धेरै परिवारलाई खान–लाउने समस्या छ । गाउँमा विकास पनि छैन । सात वर्षअघिसम्म धारा थिएन । पानी लिन मूल खोज्दै टाढा जानु पर्थ्यो । 

अहिले खानेपानीको सुविधा त छ तर पर्याप्त छैन । गाउँमा सडक बनाउन आफैं खटिएका थियौं । हेल्भेटास भन्ने संस्थाले मित्यालबाट धार्केसिंसम्म सडक खन्यो । म पनि ज्यालादारीमा काम गर्न गएको हो । अहिले धुले सडक छ । पहिलेका जिल्ला विकास समिति, गाउँ विकास समितिले यो ठाउँलाई खासै हेरेनन् । नेताहरूले धेरैले चुनाव जितेर पनि गए । तर गाउँमा कबुलियती वन विकास कार्यक्रम नआएको भए धेरैजसो अरुणखोलातिर झरिसक्थे । यहाँ कमाइ केही थिएन । तानसेनबाट ७५ किलोमिटरभन्दा टाढा छ । पढ्ने कमै थिए । मैले पनि पढिनँ । हाम्रो उमेरका धेरैले पढेनन् । 

डोको बुनेर महिनामा १० देखि १२ हजार कमाउँछु । तर, महँगी बढेकाले त्यतिले खान पनि पुग्दैन ।घरखर्च चलाउनै समस्या थियो । सबै जना आम्दानीको बाटो खोज्दै मधेश झरे । मलाई पनि तराई झरौं जस्तो लाग्थ्यो । तर, के गरेर कमाउने भन्ने चिन्ता भयो । मेरा चार छोरी, दुई छोरा छन् । छोरीको बिहे भइसक्यो । छोराहरूले पनि कमाउन सकेनन् । मै बुढोले दुःख गर्नु परेको छ । घरमा खर्च बढी हुन्छ । म बिरामी भएकाले नगद चाहिन्छ । बेसाहा (अन्न, नुन, मसला) खान पनि परेको छ । पहिले दिनमा दुई वटा डोको बुन्थेँ । अहिले एउटा बुन्छु । एउटा डोको ४ देखि ५ सयमा बिक्री हुन्छ । गाउँमै कमै बिक्री हुन्छ, धेरै त बजार पठाउनुपर्छ । 

महेन्द्र राजमार्गमा पर्ने नवलपुरको अरुणखोलामा आइतबार हाट बजार लाग्छ । शनिबार र आइतबार सामान पठाउन पाइएको छ । पहिले बोकेर लैजानु पर्थ्यो । अहिले जीपले लैजान्छ । गाउँगाउँमा बोकेर बिक्री गर्नु परेको छैन । पहिले पाल्पाकै रामपुर क्षेत्रमा लगेर बिक्री गरिन्थ्यो । डोको बुनेर महिनामा १० देखि १२ हजार कमाउँछु । तर, महँगी बढेकाले त्यतिले खान पनि पुग्दैन । श्रीमती, छोरा–बुहारी छन् । दुई छोरा मलेसिया र साउदी गए । तर खासै कमाउन सकेनन् । उनीहरू रमाएर फर्किए । मलाई अझै उनीहरूको चिन्ता छ । 

राजनीति मैले बुझेको छैन । गएको चुनावमा आँखाले देख्दैनस् भनेर अरुले नै भोट हालिदिए । हाम्रातिर धेरै बुढाको भोट अरुले हाल्ने गर्छन् । राजनीतिले हामीलाई खान दिएन । काम नगरीकन सुखै छैन । पैसा कमाउने वातावरण छैन । कबुलियती वन समूह भएपछि अम्लिसोबाट आम्दानी राम्रो भएको छ । बसाइँसराइ हुनबाट जोगाएको छ । यति मात्र होइन, आम्दानीको बाटो खुलेको छ । अदुवा लगाइन्थ्यो । बजार भाउ पाइँदैनथ्यो । अलैची खेती गरियो । खडेरीले सबै मासियो । अहिले फेरि अलि अलि लगाएका छौं । गाउँपालिकाले पनि हामीलाई आम्दानी हुने बाटो देखाएन । वडाले पनि खासै आर्थिक आम्दानी हुने काम गरेको छैन । 

वर्षा अनि हिउँद महिना आउँछ । आफ्नो काम आफैं गर्ने हो । एक सय रुपैयाँमा एक बोरा चामल बोकेर अरुणखोलाबाट ल्याएको अहिले पनि सम्झना छ । तर अहिले त २ हजारमा पनि आउँदैन । अहिले मलाई कोही कसैप्रति मतलब छैन । हाम्रो गाउँमा राजनीतिक चेतना भन्ने केही छैन । नेता वा गाउँका अगुवा आएर जे भन्छन्, त्यही गर्ने हो । 

मेरो त चोया चिरेरै जिन्दगी बितेको छ । आफ्नै धुनमा डोको बुन्न बाँस (निगालो) चिर्छु । डोको बुन्छु । बिक्रीका लागि पहिले आफैं जान्थेँ, अहिले अरुले बेचिदिन्छन् । रामपुर (कालीगण्डकी करिडोर)तिरबाट आउने बाटो काट्न ज्यादै दुःख छ । 

प्रस्तुति : माधव अर्याल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

टीकाराम

Link copied successfully