‘औजार बनाएर नगद कमाउन थालेपछि बालिघरेको काम छाडेँ’

पैसा लिएर सामान बनाइदिने गरेको छु । केही औजार तयार गरेर हाटबजारमा बिक्रीका लागि लैजाने गरेको छु । धेरैजसोले घरैमा आएर अर्डर गर्छन् ।

पुस ३०, २०८२

लोकबहादुर विश्वकर्मा 

'I quit my job as a gardener after I started making tools and earning cash'

What you should know

धनकुटा — आफूले जानेको सीपले गुजारा चलाएको देखेपछि अचेल प्रशंसा गर्ने भेटिन्छन् । पहिले यस्तो जमाना थिएन । केही गर्न नसक्नेले आरन चलाउने जस्तो व्यवहार गर्थे । हाम्रा पुर्खाले यही पेसा गरेका कारण मलाई पनि आरनको सीप सिक्न अन्त जानु परेन ।

आफू बुझ्ने भएदेखि नै यो काम सिक्दै गएँ । यो गर्न हुन्छ, त्यो गर्न हुँदैन भन्ने जानेदेखि आरनकै काम गरिरहेको छु । एकातिर बाउ–बाजेको ज्ञान–सीप जोगाएको छु । अर्कोतिर यसैबाट भएको आम्दानीले घरखर्च पनि चलाइरहेको छु । पाख्रिबासको मुगामा बसेर आरन चलाउँछु । 

आफ्नो सारा उमेर यही काम गरेर बिताएँ । अझै थाकेको छैन । बुढ्यौलीमा त आरन नै साथी बनेको छ । अहिले ७५ वर्षको भएँ । यही काम गर्न थालेको पनि ६५ वर्ष भइसकेछ । यति लामो समयमा गाउँघरमा धेरै परिवर्तन आए । मेरै सामुन्ने जुग–जमाना फेरिए । उहिलेको जस्तो समय छैन । अहिले त आरनकै भर पर्ने पनि धेरै छैनन् । बजारमा नयाँ–नयाँ औजार आइसके ।

यो पेसा राम्ररी गर्दा महिनाको २५/३० हजार कमाइ हुन्छ । खेतिपाती पनि गरिने भएकाले जीवन धान्न धौ–धौ परेको छैन ।मैले भने आरनको कामलाई मुख्य पेसा बनाउँदै आएको छु । यो काम गर्दा समय बितेको पनि पत्तो नहुँदो रहेछ । जे जसो भए पनि आरन चलाएर भएको आम्दानीबाटै दुई छोरा र दुई छोरी हुर्काएँ । उनीहरूलाई लेखपढ गराउनेदेखि बिहेबटुलोको काम पनि पूरा गरेँ । त्यो सम्झिँदा खुसी लाग्छ । 

बालिघरे हुँदा प्रतिघर १५/१६ पाथी अन्नको भरमा वर्षभरि फलामको औजार बनाउनु पर्थ्यो । त्यसले केही भरथेग भने हुन्थ्यो । अझै मेरा भाइ–भतिजाले बालीघरेको काम गर्दै आएका छन् । मैले चाहिँ २०७५ सालबाट छोडेँ । अन्न बोकेर घरसम्म ल्याउने मान्छे नभएपछि मैले त्यो काम छाडेको हुँ । आफैं गाउँ डुलेर अन्न बोक्न नसक्ने भइयो । 

अहिले चाहिँ पैसा लिएर सामान बनाइदिने गरेको छु । केही औजार तयार गरेर हाटबजारमा बिक्रीका लागि पनि लैजाने गरेको छु । धेरैजसोले घरैमा आएर अर्डर गर्छन् । खासगरी बन्चरो, खुर्पा, कोदालो हँसिया, फाली बनाउने गर्छु । यसैले घर व्यवहार धान्दै आएको छ । यो पेसा राम्ररी गर्दा महिनाको २५/३० हजार कमाइ हुन्छ । खेतिपाती पनि गरिने भएकाले जीवन धान्न धौ–धौ परेको छैन ।

आरनका लागि कोइला र औजार बनाउन फलाम किन्नु पर्छ । बिँडको लागि काठ किन्न खर्च लाग्छ । हिले, पाख्रिबास बजारबाट फलाम किन्ने गरेको छु । खुकुरी, हसियाँको बिँडका लागि सत्तिसाल, कान्दनको काठ चाहिन्छ । खुकुरीको बिँडमा पहिले पहिले भैंसीको सिङ पनि प्रयोग गरिन्थ्यो । 

बालखैदेखि गरिआएको काम भएर होला अझै केही समय गर्न सक्छु भन्ने जोस छ । मेरी जहान (श्रीमती) बच्चुमायाले पनि मलाई काममा सघाउँछिन् । कहिले कसो खेताला पनि लगाउने गरेको छु । नाति (छोरीको छोरा) विराटले पनि सघाउँछ ।

नाति सानै छँदा आमा गुमाएकाले उसलाई पनि घरैमा राखेर आफैंले हुर्काइरहेको छु । पढाउँदै पनि आएको छु । नाति अहिले ११ कक्षामा पढ्दैछ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको छिमेकी भएकाले पहिले थापाकाजीको घरमा प्रयोग हुने औजार बनाइदिन्थे । उहाँ पनि धेरै पटक मेरो घर आएको सम्झना छ ।

प्रस्तुतिः रमेशचन्द्र अधिकारी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

लोकबहादुर

Link copied successfully