दिनभरि कमाएर साँझ–बिहान खान ठिक्क हुन्छ । अलिकति बचेको पैसाले छोराछोरीको फिस बुझाउन पुगेको छ । मिठो–मसिनो खान पनि पुगेकै छ ।
What you should know
काठमाडौँ — प्रेमबहादुर राना मगरमेरो ६ जनाको परिवार छ । श्रीमान्–श्रीमती, तीन छोरी र एक छोरा छन् । ठूली छोरीले यसपटक १२ कक्षा पास गरिन् । माइली छोरी ९, छोरा ८ र कान्छी छोरी ३ कक्षामा पढ्छन् । उनीहरूको पढाइ खर्च चलाउन र साँझ–बिहान खाने कुरा जोहो गर्न जाडो याममा सुन्तला बेच्छु । गर्मी सुरु भएपछि आइसक्रिम बेच्छु ।
म अहिले ५६ वर्षको भएँ । प्यूठानको गौमुखी गाउँपालिका–२ बाइचौर घर हो । तर, १७ वर्षदेखि तम्घासमा बस्दै आएको छु । अहिले कोठा भाडामा लिएर बसिरहेको छु । मासिक दुई हजार रुपैयाँ भाडा तिर्छु । मंसिर र पुस दुई महिनामा सुन्तला बेचेर ७० हजार कमाउँछु । खरिद रकम कटाएर ३० हजार जति बचत हुन्छ । सुरुका दिनमा ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा खरिद गरेर १ सय रुपैयाँमा बिक्री गरो ।
मंसिर र पुस दुई महिनामा सुन्तला बेचेर ७० हजार कमाउँछु । खरिद रकम कटाएर ३० हजारजति बचत हुन्छ ।अहिले सुन्तला निख्रिादै छन् । अहिले प्रतिकिलो १ सय ५० रुपैयाँमा बिक्री हुन्छ । दैनिक ३५ किलो सुन्तला बिक्री गर्छु । जसबाट दिनमा ६ सय रुपैयाँसम्म बचाउने गरेको छु । सुन्तलाका लागि प्रख्यात भाडा गाउँमा गएर सुन्तला किनेर ल्याउँछु । तम्घास बजारमा बसेर दिनभर सुन्तला बेच्ने गरेको छु । गर्मीमा आइसक्रिमबाट पनि त्यस्तो ठूलो आम्दानी त हुँदैन तैपनि दिनमा ५ सय रुपैयाँ जति बचत भइहाल्छ ।
यसरी हुने कमाइले छोराछोरीको पढाइ र घरखर्च पुगेको छ । यसमै सन्तुष्ट छु । खान–लगाउन राम्रो चाहिँदैन । चाहेर नहुने, धनले पुग्दैन । यसैमा सन्तुष्ट छु । घरमा कमाउने म मात्रै भएकाले बचत भन्ने छैन । दिनभर कमाएर साँझ–बिहान खान ठिक्क छ । बचेको अलिकति पैसाले छोराछोरीको शुल्क बुझाउन पुगेको छ । मिठो–मसिनो खान पनि पुगेको छ । यसभन्दा के चाहियो र ?
त्यही हो बिरामी परिहालियो भने उपचार गर्ने बेला पैसा हुँदैन । यो सम्झिँदा अलि दुःख लाग्छ । बिरामी परेका बेला मेडिकलबाट औषधि ल्याएर खुवाउने मात्रै हो । यसबाहेक त्यस्तो चिन्ता केही छैन । घरखर्चका लागि अहिलेकै व्यापारले सहयोग गरेकै छ । सरकारी विद्यालयमा छोराछोरी पढाउन पनि पुगेकै छ । सिजनमा पाइयो भने कहिले–कसो अरु पनि व्यापार गरिहाल्छु । त्यसैले भरथेग गर्ने भएकाले खर्च चलाउन समस्या छैन । पहिले केही सीप सिकेको भए सधैं एकनासको काम गरिन्थ्यो होला ।
सीप नभएपछि फुटपाथमा बसेर यसरी सिजन अनुसार व्यापार गर्न परिहाल्यो । यो नौलो कुरा भएन । छोराछोरीलाई पकाउने–खुवाउने, कपडा धुने लगायतका घरायसी काम गर्दैमा श्रीमतीको दिन बितिहाल्छ । एक जनाको कमाइबाट ६ जनालाई खान, लाउन र पढाउनु सक्नु पनि ठूलो कुरा हो जस्तो लाग्छ ।
तम्घासमा चिसो मौसम भए पनि दिउँसो घाम लागेका बेला सुन्तला बेच्न त्यस्तो समस्या छैन । बिहान आएर बस्यो, घाम ताप्दाताप्दै सुन्तला बेचेर सकिन्छ । अब सुन्तलाको सिजन सकिन लाग्यो । अझै जाडो छ । केही दिनमा गर्मी सुरु भएपछि आइसक्रिम बेच्न सुरु गर्छु ।
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
