मेरा पाँच छोराले ज्याला–मजदुरी गरेर परिवार चलाउँछन् । मजदुरी नपाउँदा कैयौं रात उनीहरू बालबच्चासँगै भोकभोकै सुतेको देखेकी छु ।
What you should know
सप्तरी — हाम्रो टोलतिर पनि अहिले चुनाव लाग्न थाल्यो । नेताहरू अब घरदैलोमा आएर अनेकथरी आश्वासन बाँडेर भोट बटुल्छन् । दुःखको कुरा जितेर गएका नेताहरू कहिल्यै सुख–दुःख बुझ्न फर्किर्दैंनन् ।
गुनासो पनि कति र कोसित गर्नू ? आफ्ना कुरा भन्दा भन्दै थाकिसक्यौं । उनीहरूलाई कुरा सुन्ने फुर्सद नै छैन । त्यही हो भोट माग्न आउँदा चाहिँ देउतासरह व्यवहार गर्छन् । जितेर गएपछि फर्केर हेर्दैनन् । चुनाव सकिएपछि स्थानीय जनप्रतिनिधिदेखि मन्त्रीसम्मले रुखो व्यवहार गर्छन् । त्यस्ता जनप्रतिनिधि र मन्त्री अझै सम्झनामै छन् ।
श्रीमान् बितेपछि केही समय त्यही काम गरेर बालबच्चालाई हुर्काएँ । अहिले बाँस काटेर ल्याएर चोया बनाउन सक्ने अवस्था छैन ।अहिले म ६८ वर्ष पार गर्न लागेँ । राजविराज–तिलाठी सडक खण्डअन्तर्गत छिन्नमस्ता गाउँपालिका–५ स्थित सडकछेउमा झुप्रो छ । यही झुपडीमा बसेर धेरैपटक भोट हालेँ । सबै कामकाज छाडेर लाइन लागेर भोट हालेको सम्झना ताजै छ । यो झुपडी फेरिने आसमा कति नेतालाई मत दिएँ । जिताएर पनि पठाएँ । कति जना त सांसद मात्र होइन, मन्त्रीसम्म बने । जनताको होइन, नेताको अवस्था फेरियो । यता गाउँमा साइकलमा कुद्नेहरू गाडीमा हुइँकिन थाले । फुसको घर हुनेले महल ठड्याए । तर, हामी जहाँको त्यहीं छौं ।
यही सडक भएर चिल्ला गाडी चढेर जनप्रतिनिधि हुइँकिरहेको हेर्छु । तर, गरिबको वास्ता गर्ने कोही भएन । श्रीमान् बितेको ८ वर्ष भइसक्यो । श्रीमान् हुँदा चाडपर्वका बेला बाँसको चोयाले ढाकी (ढकिया), नाङ्लो, टपरी, कुनिया बनाएर बेच्थे । त्यसबेला श्रीमानले मिहिनेत गरेर बाँसका सामग्री बनाउँथे । भोलिपल्ट तिनै सामान बेचेर गुजारा चलाउँथ्यौं ।
श्रीमान् बितेपछि केही समय त्यही काम गरेर बालबच्चालाई हुर्काएँ । अहिले बाँस काटेर ल्याएर चोया बनाउन सक्ने अवस्था छैन । गत मंसिरमा निमोनियाले थला पारेपछि गाह्रो काम गर्न सक्दिनँ । केही दिन अस्पताल जान नसकेर घरमै बसेँ । पैसा जुटाएपछि उपचारका लागि विराटनगरसम्म पुगेँ ।
अस्पताल पुग्ने बेलासम्म सिकिस्त भइसकेकी थिएँ । त्यसैले आइसीयूमा भर्ना भएर उपचार गर्दा डेढ लाख ऋण लागेको छ । मरेरै बाँचेँ । कमाइ नभएकाले छोराहरूलाई पनि खान–लाउन धौधौ छ । मेरा पाँच छोराले ज्याला–मजदुरी गरेर परिवार चलाउँछन् । मजदुरी नपाउँदा उनीहरू बालबच्चासँगै कैयौं रात भोकभोकै सुतेको देखेकी छु । मेरो जीवन जसोतसो चलिरहेको छ । चार/चार महिनामा मिल्ने वृद्धभत्ताले चामल, तरकारी, सागसब्जी, नुन, तेल, मसला लगायतका खाद्यान्न र साबुन–सरफ किन्नुपर्छ भने अन्य आवश्यकता पनि त्यसैबाट पूरा गर्नुपर्छ ।
अपुग हुँदा सरसापट गरेर चलाउँछु । अहिले दुईवटा सुँगुर पालेकी छु । बिहान उठेर सुँगुरलाई आहारा खुवाउनु पर्छ । बिरामी भएदेखि हिँडडुल गर्दा शरीर काँम्ने गर्छ । चिकित्सकले खानपानमा ध्यान दिन सुझाव दिएका छन् । तर, भए पो रोजेर खानू । सुँगुर अलिक ठूला भएपछि बिक्री गर्छु । त्यसबाट अलिअति कमाइ होला । त्यसबेला कमाएको पैसाले एउटा नयाँ साडी किन्ने सोच बनाएकी छु । चार हजारसम्मको महँगो साडी लिन्छु । नयाँ साडी नलगाएकै पनि कति वर्ष भइसक्यो । मर्नुअघि नयाँ साडी लगाउने ठूलो धोको छ ।
प्रस्तुति : विद्यानन्द राम
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
