‘संस्थाले घरसँगै नागरिकता र अपांगता परिचयपत्र बनाइदिएपछि भत्ता पाउन थालेँ’ 

कान्छो छोरा जन्मिएपछि हिँड्न नसक्ने भएँ । त्यसपछि श्रीमान् पनि नजिक पर्न छाडे । मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अवस्था आएपछि घरमा खानेकुरा जुट्नै छाड्यो ।

माघ १८, २०८२

दुर्गाकुमारी चौधरी

”I started receiving allowance after the organization made me a citizenship and disability identity card along with my house.”

What you should know

दाङ — सात कक्षा पढ्दापढ्दै मायामा परियो । अनि पढाइसमेत छाडेर कर्मघर राजपुर गाउँपालिका–६ गङ्गदीतर्फ लागेँ । मसित माइती गाउँ गढवाको सम्झनामात्रै बाँकी रह्यो । मेरा प्रेमी पदम चौधरी जीवनभर साथ दिने वाचा गरेर मेरा सहयात्री बनेर आए । मेरा अधुरा सपना पनि नयाँ घरसित जोडिए ।

थारु समुदायमा संयुक्त परिवारको प्रचलन थियो । तीन जना सासू–ससुराका परिवार एउटै घरमा बस्थ्यौं । हाम्रो समुदायमा प्रायः लामो आकारका घर बनाउने चलन थियो । त्यही घरमा ठूलो परिवार मिलेर बस्नु पर्थ्यो । मैले पनि त्यसैगरी नयाँ जीवनको सुरुवात गरेँ । अरुभन्दा म फरक थिएँ । जन्मजात अपांग भए पनि काम गर्न सक्थेँ । परिवारलाई राम्रै भरथेग गरिरहेकी थिएँ ।

मेरा दुई छोरा र एक छोरी जन्मिए । कान्छो छोरा जन्मेपछि भने म बिरामी परेँ । हिँड्न नसक्ने भएँ । त्यसपछि जीवनभर साथ दिने बाचा गरेका श्रीमान् पनि नजिक पर्न छाडे । भेटघाट मात्र टुटेन, लामो समय सम्पर्कविहीन नै भए । मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अवस्था आयो । घरमा खानेकुरा जुट्न छाड्यो । म बेसहारा भएँ । 

मेरो कमाइ केही छैन । अपांग भत्ताबाट नै जीवन चलाइरहेकी छु ।

सगोलमा रहेको परिवार नि फाट्ने भयो । पुरानो घर भत्काएर नयाँ घर बनाउने सल्लाह हुन थाल्यो । सबै भाइहरू आ–आफ्नो घर बनाउनतिर जुटे । म घरबारविहीन हुँदै गएँ । भएको घर पनि भत्कियो । अनि नजिकैको पानीको बोरिङ भएको सानो घरमा कोचिएर बस्न थालेँ । त्यो गाउँभरिका खेतमा सिँचाइ गर्न बनाइएको पानीको बोरिङ घर थियो । बिहान राम्रोसँग उज्यालो नहुँदै मानिसहरू सिँचाइ गर्न आइपुग्थे । त्यतिबेला बोरिङघर छाडिदिनु पर्थ्यो । कहिलेकाहीँ बेलुका अबेरसम्म पनि घरभित्र पस्न पाइँदैनथ्यो । त्यसैगरी डेढ वर्ष बिताएँ ।

खानेकुरा नभएर छोराछोरी आफन्तको घरमा माग्न जान्थे । मागेर केही ल्याउँथे । मैले छोराछोरीको स्याहार गर्नुपर्ने समयमा उल्टै साना बालबालिकाले मेरो स्याहार गर्नुपर्ने अवस्था आयो । बोरिङमा बस्दाबस्दै हैरानी भएपछि फेरि भत्किएर केही भाग बचेको पुरानो घरमै फर्किएर बस्न थालेँ । पानी, घाम, वर्षा, जाडो, जुन बेला पनि बसाइ कठिन थियो । त्यति नै बेला मेरासामु कोही भगवान् बनेर आइपुगे । सुरुमा त सपना हो कि जस्तै लाग्यो । साँच्चै रहेछ । विपनामै देखेको सपना रहेछ । सामाजिक क्षेत्रमा क्रियाशील ग्रामीण महिला उत्थान केन्द्रले मेरो घर बनाइदिने जिम्मेवारी लियो ।

मलाई यो कुरा पत्याउँनै समय लाग्यो । यस्तो पनि हुन्छ र ? कसैले त्यत्तिकै घर पनि बनाइ दिन्छ र ? मलाई अचम्म लागिरहेको थियो । अन्ततः हेर्दाहेर्दै सुन्दर घर बन्यो । सपनामा पनि नदेखेको घर हेर्दाहेर्दै तयार भयो । घर मात्रै बनेन, घर बन्दै गर्दा मेरो नागरिकता बन्यो, अपांगता परिचयपत्र बन्यो । अपांगता भत्ता पाउने भएँ । आफ्नो नाममा जग्गाधनी पुर्जा बन्यो । म घरको मात्रै होइन, जग्गाको पनि मालिक भएँ । यो सबै काम त्यही संस्थाले गरिदियो ।

बाल्यकालमा गाउँमै कमलरी बसेको थिएँ । मेरा ससुरा रमेशनारायण पनि मुक्त कमैया हुन् । सरकारले मुक्त कमैया पुनर्स्थापनाका क्रममा दिएको पाँच कट्ठा जग्गा थियो । त्यही जग्गाबाट मैले २ सय ३ वर्गमिटर प्राप्त गरेँ र त्यसैमा घर बनाएकी हुँ । अशक्त भएका बेला श्रीमानले छोडेर भाग्दा म निकै निराश भएकी थिएँ । बाँच्छु जस्तो पनि लागेको थिएन । जीवनप्रति कुनै पनि आशा बाँकी थिएन । मैले हार खाइसकेकी थिएँ ।

मेरो घरमा ह्विलचेयर गुड्न मिल्ने गरी र्‍याम पनि बनाइएको छ । ह्विलचेयर पनि सहयोग पाएकी छु । घर निर्माणका लागि ग्रामीण महिला उत्थान केन्द्रले ‘महिला परिवारलाई सुरक्षित आवासमार्फत सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना’ कार्यक्रमअन्तर्गत ६ लाख ६५ हजार रुपैयाँ लगानी गरेकाे छ । घरमा आवश्यक पर्ने अन्य सामग्री संस्थाका साथै व्यक्तिले पनि सहयोग गरेका छन् । मेरो १२ वर्षको छोरा आदित कक्षा ६, ११ वर्षीया छोरी आकृति कक्षा ४ र ८ वर्षीय छोरा अमित कक्षा ३ मा पढिरहेका छन् ।

अहिले म ३१ वर्षकी भएँ । तर जीवनमा धेरै संघर्ष भोगिसकेकी छु । मलाई अब छोराछोरी पढाउन सक्ने आत्मबल पनि बढेको छ । हिँड्डुल गर्न पनि सहज भएको छ । मैले समाजमा पनि सम्मानपूर्ण जीवन बिताउन थालेकी छु । असहाय हुँदा मलाई सहयोग र सम्मान थिएन । अहिले सबैले मेरा विषयमा चासो दिन्छन् । मेरो कमाइ केही छैन । अपांग भत्ताबाट नै जीवन चलाइरहेकी छु । त्यही पैसाबाट खानेकुरा जुटाउँछु । छोराछोरीलाई कापी–किताब किनिदिन्छु । जेनतेन खर्च चलाएकी छु । नपुगे अलिअलि मागेर पनि गुजारा गर्छु । अब बसीबसी गर्न मिल्ने केही सीपमूलक काम पाए गर्थें भन्ने लागेको छ ।

प्रस्तुति : दुर्गालाल केसी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

दुर्गाकुमारी चौधरी

Link copied successfully