‘व्यापार र हावापानी राम्रो लागेर तम्घासमै बस्ने निर्णय गरेँ’

गुल्मीको स्थायी बासिन्दा जस्तै भएर बसेको छुँ । घर आउजाउ त भइहाल्छ, तर बसाइँ यतै हुने भएकाले आनन्द लाग्छ ।

माघ १६, २०८२

शम्भु साहानी

”I decided to stay in Tamghas because I liked the business and the climate.”

गुल्मी — तम्घास बजारमा पहिलेको तुलनामा अहिले व्यापार निकै घटेको छ । पहिले ग्राहकको भीड नै लाग्थ्यो । मलाई घेरा नै हाल्थे । चाट र पानी पुरी बेच्ने भएकाले मलाई ग्राहकको कहिल्यै कमी भएन ।

प्रतिप्लेट ५० रुपैयाँमा बिक्री गर्ने गरेको छु। सुरुमा तम्घास बजार डुलेर ब्यापार गर्थे । त्यसरी डुल्दा पनि राम्रै व्यापार हुन्थ्यो । पालिकाले डुलेर व्यापार गर्न रोक लगाएपछि सटर भाडामा लिएर सुरु गरेँ ।

अहिले म ४७ वर्षको भएँ । मेरो घर भारतको नौतनुवा हो । भैरहवाबाट नजिकै पर्छ । १३ वर्षअघि गुल्मी आएको हुँ । त्यसभन्दा अगाडि १८ वर्षसम्म बुटवलमा बसेर ब्यापार गरेँ । १३ वर्षदेखि तम्घासमा पानीपुरी र चाटको व्यापार गर्छु । तम्घास सहिदचोकमा बसेर व्यापार गरिरहेको छु । चाट र फुल्की मेरो मुख्य व्यापार हो ।
सहिदचोकमा सटर भाडामात्रै महिनाको १२ हजार रुपैयाँ छ । कमाई भने दिनमा ५ सयदेखि २ हजार रुपैयाँसम्म हुन्छ । खर्च खटाएर महिनामा कहिले ५, कहिले १० हजार रुपैयाँ बचत हुन्छ । बचत पनि के भन्नु ? जोगिने होइन । कहिले केहीमा, कहिले केहीमा खर्च भइहाल्छ । श्रीमती, दुई छोरी र एक छोरा छन् । छोरा मसँगै बसेर पाँच कक्षामा पढिरहेको छ । छोरी ठूली भइसके, अहिले आमासँग घरमै बसिरहेका छन् । 

दुई हजार भन्दा बढी लगानी गर्न सके अलिकति आम्दानी हुन्छ । कम्तीमा दिनमा ५ सय रुपैयाँ लगानी गर्नैपर्छ । कोरोना महामारी भन्दा अगाडि व्यापार राम्रो थियो । दिनमै चार/पाँच हजार रुपैयाँ आम्दानी हुन्थ्यो । तर अहिले कमाई खासै छैन् । सुरुमा तम्घास आउँदा ग्राहकको लाइन लाग्थ्यो । पालैपालो खुवाउनुपर्थ्यो । अहिले ग्राहक कुर्नुपर्छ । पहिलोपटक एउटा विवाहमा चाट र पानीपुरी खुवाउन आएको थिएँ । त्यतिखेर व्यापारको राम्रो अवसर देखे । अनि तम्घासको हावापानी राम्रो लागेर यतै बस्ने निर्णय गरे । 

बिस्तारै व्यापार राम्रो पनि हुँदै गयो । अनि यतै जमियो भन्दा हुन्छ । व्यापार राम्ररी चल्दै गएपछि यहाँको स्थायी बासिन्दा जस्तै भएर बसिएको छ । घर आउजाउ त भइहाल्छ, तर बसाइँ धेरै यतै हुने भएपछि यतै आनन्द लाग्छ । 

बुटवलमा व्यापार गर्दागर्दै आएको त्यसपछि यतै राम्रो लागेर यतै ब्यापार व्यवसाय गरेर बसेको हुँ । यो व्यापारबाट सन्तुष्ट छु । पेट पाल्न सकेको छु । सीप केही छैन् । नोकरी पाउने कुरा पनि भएन । व्यवसाय नै राम्रो छ ।

उमेर बढ्दै गएपछि अरु बलको काम गर्न सकिँदैन । अरुको कमाइ देखेर कहिल्यै लोभ लाग्दैन । आफूले जति कमाएको छु त्यसैमा सन्तोष छु । मलाई यो पेशा निकै आनन्दको लाग्छ । म सुरुमा तम्घास बागमारे बस्थेँ । ठेलामा बजार निस्केपछि मिलनचोक नपुग्दै व्यापार सकिन्थ्यो । सालको पातमा २० रुपैयाँ प्लेटमा बिक्री हुन्थ्यो । 

दुई घण्टामै पाँच/सात हजारको व्यापार हुन्थ्यो । तम्घासमा निकै चहलपहल थियो । व्यापारका लागि कुर्नैनपर्ने, आनन्द थियो । कोरानाले गर्दा व्यापारमा सबै बस्तुको भाउ बढेपछि व्यापार पनि कम हुँदै गयो । महंगो भएपछि कम हुने नै भयो । मेरो ठेला र यही सटरमा पनि पहिले त नियमित आउने ग्राहक धेरै थिए । तर अहिले छैनन् । फ्याट्टफुट्ट मात्रै ग्राहक आउँछन् । बुटवल, काठमाडौं र विदेश गएका कारणले कम भएको जस्तो लाग्छ । तम्घासको चहलपहल नै कम भएको छ । व्यापार यसै पनि कम हुँदै जाने भयो ।

लत्ताकपडा र खानपिनमा हाम्रो परिवारलाई त्यस्तो कुनै आधुनिक चाहाना छैन् । सामान्य भएपछि भइहाल्छ । तडकभडक केही गर्दैनौं । घरखर्च र पढाइ खर्च पुगे भइहाल्छ । बचत भएको रकमले बिरामी पर्दा काम गर्छ । यत्ति भएपछि सन्तुष्ट छौं । अरु हामीलाई त्यस्तो केही छैन् । व्यापार गरेर यहाँ आफूलाई र घरमा घरपरिवारलाई खाना लगाउन पुग्छ । यत्ति भएपछि भइहाल्छ । अरु त हामीलाई केही चाहिँदैन !

प्रस्तुति: सन्तोष महतारा

शम्भु साहानी

Link copied successfully