कमाइ नभएको दिन साँझ र बिहान के खाने भन्ने चिन्ता हुन्छ । दैनिक ज्यालाकै पैसाले साँझ दाल, चामल किनेर ल्याएर पकाउँछु । छोराछोरी पनि साँझसम्म मेरै बाटो कुरेर बसेका हुन्छन् ।
बैतडी — यही सडक छेउ मेरो टिनले बारेको र छाएको झुपडी छ । झुपडीभित्र आगोनजिक बसेर दिनभर हथौंडा खेलाउँछु । सुन्छु तर स्पष्ट बोल्न सक्दिन । मैले बोलेको सबै कुरा अरुले नबुझ्ने भएकाले इशाराले बुझाउनु पर्छ ।
दशरथचन्द नगरपालिका–४ मा बसोबास छ । मैले आरन पेसा गर्न थालेको ६ महिना जति भयो । यसबाहेक घर निर्माण गर्ने मिस्त्री पनि हुँ । तर, अहिले उमेरले गर्दा घर निर्माणको काम गर्न सकिरहेको छैन । हातखुट्टा दुखेर सुत्न नसक्ने भएपछि मैले निर्माणको काम छाडेको हुँ । दिनभरि उभिएर निर्माणका काम गर्न नसक्ने भएपछि बसेरै आरनको काम थालेको हुँ ।
हामी दुई भाइ हौं । दाईको परिवार राम्रै चलेको छ । मेरो पनि पहिला त राम्रै थियो । अहिले नाजुक अवस्था छ । म अहिले ४७ वर्षको भएँ । उतिबेला बुवा–आमाले पढाउन सकेनन् । तैपनि ४ कक्षासम्म पढें । त्यसपछि पढाई छाडेर मजदुरी गर्न थाले । बुबा–आमाको मृत्यु भइसक्यो । मेरा तीन छोरी र दुई छोरा छन् । जेठी छोरी र छोराको विहे भइसक्यो । बाँकी दुई छोरी ११ वर्ष र १४ वर्षका छन् । छोरो भर्खर ७ वर्षको भयो ।
छोराबाट एक/एक नाति–नतिनी छन् । छोरा–बुहारी छुट्टै बस्छन् । दुई कोठे घर छ । एक कोठामा बुहारी नाति–नतिनी बस्छन् । एक कोठामा म, दुई छोरी र छोरा बस्छौं । ठूलो छोरो मजदुरी गरेर आफ्नै परिवार हेर्छ। उसले पनि पढेको हैन । तर, गाडी चलाउन सिकेको छ । लेखपढ नभएकाले उसको गाडी चलाउने लाइसेन्स पनि बनेको छैन ।
दुई वर्षअघि श्रीमती अर्कैसँग ‘पोइल’ गइन् । को सँग गइन् भन्नेसम्म थाहा पाएनौं । दुई छोरी र सानो छोरा मेरो जिम्मा छाडेर श्रीमती भागेर गइन् । छोराले आमा कहिले आउँछ भनेर सोधिरहन्छ । केही दिनपछि बाबु भनेर ढाँट्छु । छोरीको भन्दा पनि सानो छोराको असाध्यैं माया लाग्छ ।
छोरी पनि विद्यालय जाँदैनन् । छोरालाई एक कक्षामा भर्ना गरेको छु । रेखदेख गर्ने कोही नभएकाले मन लागेको दिन मात्रै विद्यालय जान्छ, नत्र जाँदैन । म बिहानदेखि बेलुकासम्म यही आरन घरमा हुन्छु । आरन घर मेरो बस्ने घरबाट टाढा शाहिलेक बजारमा छ । यो आरन घरको महिनाको १ हजार भाडा तिर्छु ।
आरनमा काम गर्न नसकेका दिन छोराछोरीसहित हामी भोकै सुत्ने गरेका छौं । घर निर्माण गरे जस्तो ज्याला पनि आरनमा मिल्दैन । यता आरनको काम गराउने धेरै छैनन् । अपांग भत्ता त आउँछ तर समयमा मिल्दैन । कमाई त घर निर्माणको काममा हुन्थ्यो । हाम्रो बाबु–बाजेको पालादेखि आरन चलाउँदै आएकाले मैले पनि सिकेको हुँ ।
आरनमा काम मिलेको दिन ७–८ सय जति कमाई हुन्छ । कुनै दिन त एक पैसा पनि हुँदैन । दिनभरिको कमाइले बिहान बेलुकी छाक टार्नलाई पुग्छ । कमाइ नभएको दिन साँझ र बिहान के खाने भन्ने चिन्ता हुन्छ ।
कमाइखान खेतबारी छैन् । दैनिक ज्यालाकै पैसाले साँझ दाल, चामल किनेर ल्याएर पकाउँछु । छोराछोरी पनि साँझसम्म मेरै बाटो कुरेर बसेका हुन्छन् । छोरीहरुको बिहे गर्न पाए र छोरो अलि ठूलो भए मलाई सुखसँग निद्रा आउँथ्यो । छोरीलाई नगरपालिकाले छात्राबासमा राखेर पढाउने भनेर लगेका थिए । तर छोरीहरुले त्यहाँ बस्नै मानेनन् ।
म आरनमा सानादेखि ठूलो हँसिया, कोदालो, खुर्पा, खुकुरीलगायतका कृषि औजार बनाउँछु । तर, यहाँ त्यति धेरै बिक्री हुँदैनन् । फलामलाई तातो बनाउन आगो चाहिन्छ । आगोको लागि दाउरा खोज्न टाढाको जंगल गएर बोकेर ल्याउँछु । आफ्नो वन छैन् अर्कैको वनबाट मागेर ल्याउने गरेको छु ।
प्रस्तुति: मोहन चन्द
