श्रीमान् मिठु केसी ज्याला–मजदुरी गर्नुहुन्छ । काम पाएका दिन त उहाँको राम्रै कमाइ हुन्छ । नत्र खाली बस्नुपर्छ । त्यही भएर आफ्नै पसल बनाउने योजना बुँनियो ।
What you should know
बागलुङ — गाउँमा जन्मिएपछि खेती किसानी, घाँस–दाउरा गरेरै बाल्यकाल बिताइयो । पढ्न लेख्न पनि पाइएन् । कक्षा ८ सम्म पढेर छाडे । त्यसैले अलिअलि हिसाब गर्न जानेकी छुँ ।
घरायसी काममै व्यस्त भइयो । ढुक्क बसेर साँझ–बिहान खाने अवस्था थिएन् । परिवारमा धेरै दुःख थियो । विवाह गरेपछि पनि रोजगारी थिएन । तर, छोरी जन्मेपछि भने के खाऊ, कसो गरुँ भन्ने अवस्था भयो । अनि पैसा कमाउन धेरै मेहेनत गर्नु परिरहेको छ । अहिले म ३६ वर्षकी भए ।
काठेखोला–७ मा घर भए पनि त्यहाँ खेतीकिसानी गरेर खान पुग्दैन् । त्यसैले ७ वर्षसम्म सदरमुकाम झरेर दिदीको मासु पसलमा काम गरे । काम गरेर दुई छाक खान धौ थिएन । छोरी स्कुल जान थालेपछि समस्या भयो । मेरा श्रीमान् मिठु केसी पनि ज्याला–मजदुरी गर्नुहुन्छ । काम पाएका दिन त उहाँको राम्रै कमाइ हुन्छ । नत्र खाली बस्नुपर्छ । त्यही भएर आफ्नै पसल बनाउने योजना बुँनियो ।
अहिले बागलुङ कालिका मन्दिरमा पूजा गर्न आउने भक्तजनका लागि फूलप्रसाद सामग्री बिक्री गर्छु । एउटा काठको घुम्टी भाडामा लिएर व्यवसाय गरिरहेकी छु । रामरेखा सामुदायिक वनलाई मासिक ७ सय रुपैयाँ भाडा तिरेपछि घुम्ती पसल चलाउन पाइन्छ । घुम्तीमा फूलप्रसाद जम्मा गरेर राख्छु । शनिबार र मंगलबार अलि राम्रो व्यापार हुन्छ । कालिका मन्दिर पूजाको शनिबार भीड लाग्छन् ।
घुम्न आउनेका लागि भने सधै नियमित पूजा त भइरहन्छ । चैते दसैं र बडादसैंमा भने मेला लाग्छ । धेरै भक्तजन आउँछन् । त्यतिबेला राम्रै कमाइ हुन्छ । त्यसको भरमा वर्षभरि चल्नुपर्छ । भीडभाड नभएका दिन दैनिक ५ सय देखि १५ सय रुपैयाँसम्म कमाइ गर्न सकिन्छ । त्यसैबाट घरखर्च चलाएकी छुँ । यता काम पाउन छाडेपछि श्रीमान् पनि विदेश जाने योजनामा हुनुहुन्छ ।
उता राम्रो काम पाइयो भने त ठिकै होला, नत्र यहाँ पनि मेहनत गर्नै पर्नेछ । छोरीलाई सदरमुकामको विद्या मन्दिर माविमा भर्ना गराएकी छु । घर खर्च चलाउन, छोरीको पढाई खर्च जोहो गर्न पनि बिहानैदेखि घुम्तीमा आएर फूलप्रसाद बेच्नैपर्छ । घटीघटाउमा नदिए ग्राहक आउँदैनन् । त्यसैले १ सय ५० देखि ३ सयसम्मका फूलप्रसाद पोको बनाएर बेच्ने गरेकी छु । नरिवल, मिठाइ, फूल, धुप, अक्षेता, जौं, तिल र धजामा एउटा लाइटर मिलाएर मूल्य तय गर्छु । ठूलो नरिवल, माला समेत मिसाउँदा धेरै पर्छ । नत्र डेढ सयमा सामग्री बेच्ने हो ।
ढकियामा सामग्री राखेर दिएपछि भक्तजन मन्दिर जान्छन् । उनीहरु फर्केपछि मात्र ढकिया फिर्ता गरेर पैसा तिर्छन् । कतिपयले सुरुमै तिरेर लैजान्छन् । कतिपयले फर्केर तिर्छन् । फर्किँदा कसैले पैसा घटाउन खोज्छन् । जे जस्तो भए पनि सहेर नियमित काम नगरे कमाइ हुँदैन । कमाइ भएका दिन सहकारीमा ५ सय रुपैयाँ बचत गर्छु । नभएका दिन एकदेखि दुईसय बचत गर्ने गरेकी छु । यसरी महिनाको १५ हजारसम्म बचत गर्न सकेकी छु ।
कुनै महिना २० हजार पनि कमाइ हुन्छ । खाना, पढाइ र घर भाडा गरेर मासिक १२ हजार खर्च हुन्छ । मिठो मसिनो खाने हो भने त कमाएको सबै सकिन्छ । त्यसैले केही बचाउने गरेर घरखर्च चलाउनुपर्छ । सधैं त के दुःख काट्नु, राम्रो कमाइ भएको दिन भने मिठो मसिनो खाइन्छ । दसैंतिहारमा भक्तजन धेरै आएको बेला खाना पनि नखाइ सामान बेच्नुपर्छ । सामान खरिद गरेर ल्याउने, पोका पार्ने गर्दा धेरै नै दुःख हुन्छ ।
बिहान ४ बजेबाट भक्तजन आउने भएकाले तयार भएर बस्नुपर्छ । झण्डै २५/३० वटा पसल भएकाले आफ्नोमा आकर्षिक गर्न गार्हो हुन्छ । सटर लिएर बस्नेहरुकोमा धेरै सामान देखेर धेरै जना उतै जान्छन् । मेरो घुम्तीमा थोरै सामान छ । त्यसैले थोरै आउँछन् । बेलाबेला नगरपालिका र प्रशासनबाट कर्मचारी आएर अनुगमन गर्छन् । हामीले किनेर ल्याएको मिठाइ फालिदिन्छन् ।
कहीले लेवल नभएको त कसैले महंगो बेचेको भन्छन् । खासमा हामीले साहुबाट किनेर ल्याएको बेच्ने हो । कम्पनीलाई समात्नु पर्नेमा हामीलाई दुःख दिन्छन् । चैते दसैं मेला लाग्दा मेला आयोजक र सामुदायिक वनलाई पनि चन्दा दिनुपर्छ । त्यतिबेला ख्याल गरिएन भने जो सुकै आएर पनि चन्दा माग्छन् ।
घुम्ती पसलमा खानेकुरा वा पानी राख्दा थप कर लगाउने गरेका छन् । घरखर्च चलाउनका लागि काम गरेका हौं । त्यसबारेमा सबैले बुझिदिनुपर्छ । लगानी धेरै गर्न सक्ने भए हामी सटर लिएर व्यपार गर्थ्यौं नि । सटरमा व्यापार गर्नेलाई र हामीलाई हेर्ने नजर एकै बनाउनुपर्छ ।
प्रस्तुति: प्रकाश बराल
घर खर्च स्तम्भका थप सामग्री पढ्न यहाँ क्लिक गर्नुहाेस् ।
