‘कपाल काट्न सिकेदेखि कैंची चलाएर पैसा कमाइरहेको छु’

'अहिले कपाल काट्ने सीपले आफू पनि स्वरोजगार भएको छु र अरूलाई पनि बनाएको छु । हालसम्म १५ जना बढीलाई कपाल काट्न सिकाएको छु । पहिला बेरोजगार घुम्ने चेलाहरू यसै क्षेत्रमा आफूले सिकाएको सीप प्रयोग गरी स्वरोजगार बनेको देख्दा आत्मसन्तुष्टि मिलेको छ ।'

फाल्गुन १२, २०८२

वीरबहादुर चौधरी

'I've been earning money using scissors since I learned to cut hair'

What you should know

बर्दिया — पहिला केही सीप जानेको थिइनँ । त्यसैले भारततिर मजदुरी गर्न जान्थेँ । नेपाल–भारत जहाँ गए पनि त्यही मजदुरी बाहेक अरु केही काम मिल्थेन । सीप थियो न पढाइ । आफूले काम नजानेपछि सुविधा खोजेर कहाँ मिल्थ्यो र ? त्यतिबेला गाउँठाउँमा रोजगारी पाउनै मुस्किल थियो । 

त्यतिबेला नजिकै कमाउन जाने भनेको त्यही भारत मात्र थियो । मजस्तै धेरै जना भारत जान्थ्यौं । म पनि मजदुरी गर्न भारत आउने–जाने गर्थें । जहिलेदेखि कपाल काट्ने सिकेँ, त्यसपछि आफ्नै ठाउँमा आनन्दले कमाइ गरिरहेको छु ।

मधुवन नगरपालिका–३ ओराली बजारमा चौधरी हेयर कटिङ संचालन गरेको पनि १६ वर्ष भयो । सीप सिकेपछि पहिलाजस्तो भारततर्फ मजदुरी गर्न जान परेको छैन ।अहिले म ३४ वर्षको भएँ । मधुवन नगरपालिका–३ खाता गाउँमा घर छ । घरको आर्थिक स्थिति नाजुक भएकाले कक्षा ८ सम्म मात्र पढ्न पाएँ । त्यसपछि घर सम्हाल्ने जिम्मेवारी मेरो काँधमा आयो । त्यो जिम्मेवारी पूरा गर्न आफ्नै ठाउँमा कुनै काम पाइएन । भारतमा मजदुरी गर्न जाँदा पनि सीप जानको मान्छेको महत्त्व नै बेग्लै हुँदो रहेछ । त्यसबाट पनि मलाई राम्रै सिकाइ भयो । 

भारतबाट मजदुरी गरेर घर फर्किएका बेला खाता जैविक मार्ग क्षेत्रका बेरोजगार युवाको लागि तराई भू–परिधि तथा संरक्षण कार्यक्रम कोहलपुरले खाता सामुदायिक वन समन्वय समितिमार्फत ओरालीमा निःशुल्क सीपमूलक तालिम दिन लागेको थाहा पाएँ । आफ्नै ठाउँमा सञ्चालन हुन लागेको सीपमूलक तालिम लिने योजना बनाएँ ।

विसं २०६६ मा खाता सामुदायिक वन समन्वय समितिद्वारा ओरालीमा संचालन भएको दुई महिने कपाल काट्ने तालिम लिएको थिएँ । तालिमलगत्तै ओराली बजारमै कपाल काट्न सुरु गरेको हुँ । आफूले सिकेको सीपलाई हालसम्म निरन्तरता दिइरहेको छु । 

मधुवन नगरपालिका–३ ओराली बजारमा चौधरी हेयर कटिङ संचालन गरेको पनि १६ वर्ष भयो । सीप सिकेपछि पहिलाजस्तो भारततर्फ मजदुरी गर्न जान परेको छैन । आफ्नो घर-परिवारसँगै बसेर राम्रो आम्दानी गरिरहेको छु । पहिला खाता जैविक मार्ग हुँदै ओहरदोहर गर्ने वन्यजन्तुले खेतबारीको बाली नोक्सान गर्दा संरक्षणप्रति वाक्कदिक्क लाग्थ्यो । संरक्षणले चुनौती र अवसर दुवै सिर्जना गरेको छ । संरक्षणले गर्दा यस क्षेत्रका मजस्ता तमाम बेरोजगार युवाले आफ्नै ठाउँमा रोजगारी पाएका छन् । 

अहिले कपाल काट्ने सीपले आफू पनि स्वरोजगार भएको छु र अरूलाई पनि बनाएको छु । हालसम्म १५ जना बढीलाई कपाल काट्न सिकाएको छु । पहिला बेरोजगार घुम्ने चेलाहरू यसै क्षेत्रमा आफूले सिकाएको सीप प्रयोग गरी स्वरोजगार बनेको देख्दा आत्मसन्तुष्टि मिलेको छ । हामीसँग भएको थोरै जग्गाको उत्पादनले वर्षभरि खान पुग्दैन । बुवाआमा, छोराछोरी र हामी श्रीमान‍्श्रीमती गरी ६ जनाको परिवार छ । १४ वर्षको छोरा कक्षा ९ मा र ७ वर्षीया छोरी कक्षा २ मा पढ्छन् । आफ्नै ठाउँमा बसेर रोजगारी गरिरहँदा परिवारका सदस्यको राम्रोसँग ख्याल गर्न पाएको छु । छोराछोरीले साँझ–बिहान पढे नपढेको रेखदेख गरिरहेको छु ।

यस्तै साँझ–बिहानको फुर्सदको समयमा तरकारी बारीमा पनि सघाइरहेको छु । कपाल काटेर मासिक ३५ हजारसम्म कमाइ गर्छु । जसमा पसलको विद्युत‍्सहित मासिक २ हजार ५ सय भाडा तिर्छु । चामल, दाल, नुन, तेल, सरफ, साबुन र लत्ताकपडामा केही खर्च हुन्छ । आफ्नै घर–परिवारसँग बसेर धेरै कमाउन नसके पनि छोराछोरीलाई मज्जाले पढाइरहेको छु । यहीँको कमाइले परिवारको हरेक आवश्यकता पूरा गरिरहेको छु । 

प्रस्तुतिः रामप्रसाद चौहान

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

वीरबहादुर चौधरी

Link copied successfully