आरनमा मैले जानेको सीपअनुसार हँसिया, बन्चरो, कोदालो, दाउ, खुकुरी, खुँडा र खुर्पा लगायतका सामग्री बन्छन् । सस्तोमा चार सय रुपैयाँदेखि महंगोमा पाँच हजारसम्मका सामग्री बेच्छु । यसैबाट मेरो खर्च चल्छ ।
What you should know
गुल्मी — बाह्र वर्षदेखि आरन चलाएर गुजारा गरिरहेको छु । पुर्ख्यौली पेसा आरनको काम थाल्नुभन्दा अगाडि भारत गएर मजदुरी गर्थें । गाउँघरमा अरु काम केही मिल्थेन । भारत आउजाउ गर्दा गर्दै दिक्क लागेपछि यही आरन चलाएर बसिरहेको छु । मजदुरी गर्न म भारत गएका बेला यहाँ बुवाले आरनको काम गर्नुहुन्थ्यो । बुवाको स्वर्गारोहण भएपछि मैले गर्न सुरु गरेको हुँ । अहिले यही काम दैनिक गरिरहेको छु ।
बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म आरनमा काम गर्छु । मेरो दिन कटाउने मेसो यही हो ।अहिले म ५१ वर्षको भएँ । अहिले आरनको कामबाट सन्तुष्ट छु । सन्तुष्ट नभएर पनि के गर्नु । यसमा खुसी नभएर गर्नलाई अर्को काम पनि छैन । रेसुंगा नगरपालिका–४ सेउघा रायढुंगाको गहतेमा मेरो घर छ । बिहान ८ बजेदेखि साँझ साढे ५ बजेसम्म आरनमा काम गर्छु । मेरो दिन कटाउने मेसो यही हो । यही जम्मा हुने साथीसंगीसित कुराकानी गर्छु । गफकै तालमा काम गरिरहेको हुन्छु ।
यसबाट त्यस्तो ठूलो कमाइ त केही हुँदैन । तैपनि महिनामा १५ हजारसम्म कमाइ त भइहाल्छ । कम भएका महिना पाँच हजार जति हुन्छ । सरकार १५ हजार कमाइ हुँदा जसोतसो घरखर्च चल्छ । सिजनमा अलि बढी र कमाइ हुन्छ । जग्गाको भाडा मासिक ८ सय रुपैयाँ तिर्छु । आरन राख्ने टहरो आफैं बनाएको छु ।
कहिलेकाहीँ दुई/तीन दिनसम्म व्यापारबिनै दिन बित्छन् । यो फेरि भारी काम हो । धेरै गाह्रो काम हो । दुखिया काम हो । त्यसो भनेर नगरी पनि नहुने । घरखर्च यताउता यसैबाट चल्छ । घरमा आमा, श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनीहरू पढेर आफैं कमाउने भएका छन् । मैले घरखर्च चलाए पुग्छ । त्यसैले सहज छ । अरु त त्यस्तै हो । बाल्यकालमा पढाइ राम्रो भएन । सीप भएपछि यही काम गर्न सकिएको छ ।
अब त चुनाव आउन लाग्यो । भोट माग्न अझै आएका छैनन् । तर पनि नेताहरूसँग गुनासो छैन । कसैलाई केही भन्नु पनि छैन । आफ्नो काम गर्ने, बस्ने खाने हो । केही चासो छैन । कसैले केही नबिगारे हुन्छ । त्यस्तो अरु भन्नु केही पनि छैन । सन्तुष्ट छु । ठिक छु । भोट हाल्ने जाने हो । अरु बेला आफ्नो काम गर्ने हो । घरखर्च चलाउने हो । भोट हाल्न जाने हो । अरु त्यस्तो केही होइन ।
आरनमा मैले जानेको सीपअनुसार हँसिया, बन्चरो, कोदालो, दाउ, खुकुरी, खुँडा र खुर्पा लगायतका सामग्री बन्छन् । सस्तोमा चार सय रुपैयाँदेखि महंगोमा पाँच हजारसम्मका सामग्री बेच्छु । यसैबाट खर्च चल्छ । खानपिन र लत्ता कपडामा कुनै ठूलो अपेक्षा छैन । सामान्य भएपछि चलिहाल्छ । यसमा कुनै पैसा छुट्टाइरहन पर्दैन । सामान्य भए पुगिहाल्छ । अचेल फलाम पिट्न कामदार पाइन्नन् ।
बल्लतल्ल सकेको बनाउँछु । नसकेको बनाउँदिनँ । बिक्री हुँदा ठिक हुन्छ । कहिलेकाहीँ बिक्री नभए यत्तिकै जान्छ । अचेल कोइला किन्ने हो । पहिलेजस्तो सजिलो छैन । काठ किनेर बनाउने हो । पहिले जस्तो सजिलो छैन । गार्हो छ । धेरै सकसले कोइला पाइन्छ । त्यही पनि काम त गरिरहनुपर्छ । यसरी नै दैनिकी बित्छन् । यसैमा सन्तुष्ट छु । जीवन बिताइरहेको छु ।
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
