‘मजदुरी गरेर महिनाको १२ हजार जति कमाई हुन्छ’

धेरैदिन चाडपर्व मनाउँछु भन्ने सोच्यो भने फेरि के खाने भन्ने चिन्ता भैहाल्छ । काम गर्न नगएर चाडपर्वमा धेरै दिन भुलेपछि त खाने पैसा हुँदैन । त्यही भएर पर्व पनि नापेर मनाउनुपर्छ ।

फाल्गुन १०, २०८२

कैलाशपति चौधरी

'I earn around 12,000 per month by working as a laborer'

What you should know

दाङ — पानी पर्न थालेपछि गाउाघरका किसान उत्साहित हुन्थे, खेतीपातीको जोहो गर्थे । मलाई भने पानी पर्‍यो कि चिन्ता सुरु भइहाल्थ्यो । घरभित्र पानी पस्थ्यो, अनि भएभरका सामान, अनाज सबै पानीमै डुब्थे । खाना पकाउन पनि नमिल्ने हुन्थ्यो । त्यसपछि म वर्षायामभरी छिमेकी र आफन्तको घरमा गएर खाना पकाउने पालो कुर्न जान्थें ।

छिमेकीको घरका मानिसले पकावरी खाइसक्थे । अनि मेरो पकाउने पालो आउँथ्यो । पालो पर्खँदापर्खँदै समयमा कहिले पनि खान पाइदैंनथ्यो । अरुले खाँदा म कतिबेला पकाइसक्ने होला भनेर सोचिरहन्थें । खाना पकाउन पालो पर्खिरहेको क्षण अहिले सम्झिँदा मन भारी हुन्छ ।

मजदुरी गरेर जिविका चलाउँछु । पानी परेको बेला काम जान पनि डराउँथे । आफू काममा हुँदा घर डुबानमा परेर छोराछोरीले दुःख पाउँछन् कि भन्ने चिन्ता हुन्थ्यो । कोही नहुनेको भगवान हुन्छन् भन्ने मैले सुनेकी त थिएँ, तर विश्वास गरिहाल्ने अवस्था थिएन । एक दिन यस्तो समय आयो, ग्रामीण महिला उत्थान केन्द्र भगवान झैं घर निर्माणको योजना लिएर मेरो घरमा पुग्यो ।

चुहिने र डुबानमा पर्ने घरलाई नयाँ घरले विस्थापित गर्ने भयो । म मजदुरी गर्न अरुका घरमा जाने मान्छे अब आफ्नै घरमा काम गर्न थाले । मैले आफ्नै घर बनाएर पनि मजदुरी वापतको पारिश्रमिक पनि पाएँ । मेरा लागि यो अप्रत्याशित र अपत्यारिलो काम थियो । अरुका घर बनाउन खर्चेको पाखुरीको तागत मैले आफ्नै घरमा खर्चे । हेर्दाहेर्दै मेरो नयाँ पक्की घर बन्यो ।

ग्रामीण महिला उत्थान केन्द्रले महिला परिवारलाई सुरक्षित आवासमार्फत् सुदृढीकरण र भूमिमा महिलाको स्वामित्व सचेतना कार्यक्रम अन्तर्गत मेरो घर बनाइदियो । संस्थाले ४ लाख २५ हजार र गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ लगानी गरे । हेर्दाहेर्दै मेरो जीवनमा खुसी छायो, धुमधाम कार्यक्रम गरेर मलाई घर हस्तान्तरण गरियो। म खुसीले नाचें र सबैसँग सुखको क्षण साटें ।

राजपुर–२ गैरामा मेरो घर छ । म पाँच छोराछोरीकी आमा हुँ । म अहिले ४० वर्षकी भएँ । अहिले त हजुरआमा समेत बनिसकेकी छु । श्रीमान् दिनगुरुप्रसाद चौधरीको राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर पाँच वर्षअघि निधन भयो । त्यसपछि घरको सम्पूर्ण भार मेरो काँधमा आयो । 

श्रीमान् घर बनाउने मिस्त्री थिए । म पनि श्रीमान्को पछिपछि लागेर घर बनाउने काममा मजदुरी गर्थे । अरुको घर बनाउने काम गरे पनि हामीले आफ्नै घर बनाउन भने सकेका थिएनौं । काम गरेको पारिश्रमिकले दैनिक खर्च चलाउन मात्र पुग्थ्यो । घर बनाउन पुग्ने गरी कमाई हुन सकेको थिएन ।

संस्थाको सहयोगमा घर बनेपछि म आफैलाई पत्याउन मुस्किल भएको छ । जेठी छोरी मनिषाको विवाह भएर एक छोरी समेत जन्माइसकेकी छिन् । माइली पार्वतीको पनि विवाह भइसकेको छ । साइली आशु १४ वर्षकी भइन्, उनी ८ कक्षा पढिरहेकी छिन् । कान्छी अनिशा ९ वर्षकी भइन् भने छोरा आशिष ११ वर्षका भए । अहिले मेरो साथमा दुई छोरी र एक छोरा छन् ।

मेरो मजदुरी अझै छुटेको छैन । मजदुरी गर्न टाढाटाढा पुग्नुपर्छ । दिनको ५ सय रुपैयाँ पाउँछु । महिनामा २५ दिन जति काम पाइन्छ । मासिक १२ हजार रुपैयाँ कमाई हुन्छ तर चामल, नुन, तेल, साबुन, सरप, कापी किताब किन्दा र औषधि गर्दा सकिन्छ । कहिलेकाँही नपुगेर ऋण सापटी गरेर खर्च चलाउँछु । काम गरेर तिर्छु । पैसा बचत भन्ने कहिलै हुँदैन । ज्यान पाल्ने मात्र हुन्छ ।

चाडपर्व पनि नापी नापी मनाउनुपर्छ । चाडपर्व मनाउन थाले के खाउँ भन्ने हुन्छ । चाडपर्वमा छोराछोरी मिठो खाउँ भन्छन् । अलिअलि मिठो मसिनो खानेकुराको जोहो गर्नुपर्‍यो । धेरैदिन चाडपर्व मनाउँछु भन्ने सोच्यो भने फेरि के खाने भन्ने चिन्ता भैहाल्छ । काम गर्न नगएर चाडपर्वमा धेरै दिन भुलेपछि त खाने पैसा हुँदैन । त्यही भएर पर्व पनि नापेर मनाउनुपर्छ ।

पहिले काममा गएको बेला घरमा छोराछोरी कसरी बसेका होलान् भन्ने चिन्ता थियो । कहिलेकाँही म घर फर्कँदा घरभित्र पानी पसेर छोराछोरी रोइरहेका हुन्थे । म पनि सँगै बसेर रुन्थे अनि फेरि छिमेकीको घरमा ओत लाग्न पुग्थे । अब ती कठिन दिनको अन्त्य भएको छ । आफ्नै सुरक्षित घर बनेको छ ।

मैले कसरी घर बनाउँथे होला ? कमाएर घर बनाउने कुरा सोच्न पनि सकिदैनथ्यो । खानलाउन नपुगेको बेला घर बनाउने कुरा त झन धेरै टाढा थियो । यसरी कसैले घर बनाइदिन्छ भन्ने लागेकै थिएन । अब अर्काको घरमा खाना पकाउन पालो कुर्नुपर्ने दिनको अन्त्य भएको छ । सुरक्षित आवास भैसकेपछि अब कमाउने, खाने र छोराछोरीको शिक्षाको मात्रै चिन्ता छ ।

प्रस्तुति: दुर्गालाल केसी

घरखर्च स्तम्भका थप सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् । 

कैलाशपति चौधरी

Link copied successfully