यसपाली पनि किसानका समस्या समाधान गर्ने भन्दै उम्मेदवारले ‘ललिपप’ देखाइरहेका छन् । तर, सिँचाइ र मल खादको महँगीले मार खेपिरहेका हामी गरिब किसानले यसपटक ‘ललिपप’ देखाउनेभन्दा पनि काम गर्ने उम्मेदवार खोजिरहेका छौं ।
What you should know
सप्तरी — हरेकपटक निर्वाचनमा उम्मेदवारले जारी गर्ने प्रतिवद्धता र घोषणा पत्रमा किसानका समस्यालाई मूल मुद्दा बनाइएको हुन्छ । अनि चुनाव जितेपछि किसानका समस्या समाधानलाई प्राथमिकता दिने वाचा गर्छन् । तर, चुनाव जितेर गएपछि भने फेरी अर्को चुनाव नआउनजेलसम्म मुख देखाउँदैनन् ।
हामी किसान भने सधैं नेता, उम्मेदवार र पार्टीका लागि भोट बैंक मात्रै बनिरह्यौं । कसैले पनि गरिब किसानका समस्या समाधानमा ध्यान दिनएनन् ।
यसपटक पनि भोट माग्न उम्मेदवारहरु गाउँमा आइरहेका छन् । फेरि उनीहरुका तिनै पुराना एजेन्डा दोहोर्याइरहेका छनन् । यसपाली पनि किसानका समस्या समाधान गर्ने भन्दै उम्मेदवारले ‘ललिपप’ देखाइरहेका छन् । तर, सिँचाइ र मल खादको महँगीले मार खेपिरहेका हामी गरिब किसानले यसपटक ‘ललिपप’ देखाउनेभन्दा पनि काम गर्ने उम्मेदवार खोजिरहेका छौं ।
अहिले म ६८ वर्षको भए । बोदे बरसाइन नगरपालिका–१० अमरैयामा मेरो घर छ । मेरो परिवारमा १० जना छन् । जीविकोपार्जनको मूल आधार यही खेतीपाती हो । उत्पादन हुने हो भने त वर्षभरि पुग्ने गरी पुर्खाले आर्जेको खेतीयोग्य जमिन छ । तर, किसानका समस्या कसैसामु लुकेका छैनन । यसपटक अलिक ढिलै गरेर वर्षा हुँदा पनि जसोतसो धान रोपाइँ गरेका थियौं । त्यसपछि पनि मलखादको समस्या झेल्यौं । मल खाद्यका लागि नगरपालिकाले तोकेका डिलरमा मल खाद्य आएको जानकारी पाउनु अघि नै सकिहाल्यो ।
अब त के नै विकल्प बाँकी रह्यो र ? दुई बोरा मलखादका लागि बिहारको लौकही बजारसम्म पुग्नुपर्ने बाध्यता खेपे । त्यसमाथि प्रहरीले हप्काई पनि सहे । त्यति गरेपछि मात्रै धान उत्पादन सम्भव भएको हो । तर, धानमा मल हाल्न ढिलो भएकाले सोचेको जस्तो उत्पादन गर्न सकिएन । जसोतसो दुःख गरेर २२/२४ क्विन्टल धान उत्पादन गरेपनि अहिले फेरी हाम्रा दुःखका सिलसिला सुरु भइसकेका छन् । बीउ छर्दाको बेला त मलखादको अभाव खेपे नै ।
अहिले दलहन, तेलहन र गहुँ बालीमा प्रयाप्त सिचाइँ पुर्याउन सकेको छैन् । यहाँ मेरो १५ कठ्ठा खेत छ । त्यसमा दलहन बाली लगाएको छु । यहाँबाड ५० बिघा दूर–दूरसम्म पनि कृषि विद्युतीकरण अन्तर्गत पोल गाडेको छैन् । धेरै टाढादेखि खेतसम्म तार ल्याउँदा १० क्वाइलभन्दा बढी लामो त तार नै लाग्छ । त्यसमा पनि भोल्टेज नपुगेर मोटर नै चल्दैन । ओहो त्यो दुःख ।
बाध्य भएर अहिले पोखरीमा जडान गरेको पम्पिङ सेटबाट दलहन बालीमा सिँचाइ गरे । त्यसवापत एक घण्टाको ४ सय रुपैयाँ तिर्दा पनि १ कठ्ठा मात्रै सिँचाइ भयो । जमिनमूनिको पानी पनि महँगो पर्न गयो । अझै १०/१२ दिन सिँचाइ गर्नुपर्छ । नत्र खेत सुकेर बाली मर्छ । सुरुमा ट्याक्टरले खेत जोताउँदा ३ हजार रुपैयाँ प्रतिकठ्ठा तिर्नुपर्थ्यो । प्रतिकठ्ठा ५ किलो मलखाद पनि लाग्छ । सबै खर्च जोड्दा दलहन बालीमा प्रतिकठ्ठा ७/८ हजार रुपैयाँ खर्च पर्न जान्छ । त्यसमा आफुले गरेको मिहनेत जोडेको छैन् । बीउ छर्नेदेखि रेखदेख, सिचाइँ र मलखाद हाल्नेसम्म आफैले गर्छु ।
आफ्नो मिहनेत पनि जोड्दा प्रतिकठ्ठा १०/१२ हजार रुपैयाँ लागत खर्च पुगिजान्छ । प्रतिकठ्ठाको उत्पादन पैसामा कुरा गर्दा त्यही १०/११ हजार रुपैयाँसम्म हुने हो । यसमा सिँचाइ र मलखाद नै महँगो पर्दा अहिले हामीलाई लागत उठाउन पनि मुहिृकल भइरहेको छ ।
फेरि खेत बाँझै राख्न मनले मान्दैन । तर, किसानको समस्या न सरकारले बुझिरहेको छ, न त हाम्रा नेताले नै । पटक–पटक स्थानीय नेतादेखि स्थानीय सरकारसम्मलाई समस्या सुनाउँदा कसैले वास्ता गरेनन् । हामीलाई खेतीपाती गर्दा लागत उठाउनै हम्मे–हम्मे छ । आफ्नो स्वास्थ्य र बालबच्चालाई स्तरीय शिक्षा कसरी दिने भन्ने चिन्तामै समय बितिरहेको छ । त्यसैले पनि खाली समयमा गाउँघरमै अर्काको काम गरेर थप दुई पैसा आर्जन गर्ने गर्छु ।
प्रस्तुति: विद्यानन्द राम
