सासु–ससुरासित एक जोर चप्पल र चुरा किनिदिन कति अनुरोध गरें, तर कसैले सुनुवाई गरेनन् । जुत्ताचप्पल विनै जंगल जाने, घाँस दाउरा बोक्ने, ग्वाला जाने, खेतबारी जाने गरे । केही गरी जुत्ताचप्पल लगाउने अवस्था नआएपछि अब जीवनभर जुताचप्पल, चुरापोते र कुनै गहना लगाउँदिन भनेर कसमै खाए ।
What you should know
दाङ — लमहीको उचा निम्बुमा मेरो जन्म भयो । बाल्यकाल हाँसखेल गरेर बितेन । रमाउने उमेर कमलरी बसेरै बित्यो । ७ वर्ष कमलरी बसेपछि सानैमा कप्तानगञ्ज गाउँका कालीप्रसाद चौधरीसँग मेरो विवाह भयो । मलाई विवाह भएको त्यति राम्रो सम्झना छैन ।
३५ वर्षअघि विवाह भएको हो । श्रीमान् पनि कमैया नै हुनुहुन्थ्यो । घरमा खान, लाउन समस्या थियो । कमलरी बसेका आफूले रोजेको लाउन–खान मिल्ने कुरै थिएन । त्यतिबेला मैले जुत्ता चप्पल पनि लगाउन पाइनँ ।
विवाहपछि त नयाँ कपडा र जुत्ताचप्पल लगाउन पाइएला भन्ने थियो । तर, मेरो रहर अधुरै रह्यो । श्रीमान् जम्मा जम्मी १८ वर्ष कमैया बसे । हामी दुई ‘कमैया’ को नयाँ घरबार झन् कठिन भयो । विवाह लगत्तै श्रीमान् कमैया बस्न घोराही उपमहानगरपालिका–७ पर्सा गाउँमा पुग्नुभयो । म यता घरमै बसें । त्यतिबेला मेरो १८ जनाको परिवार थियो । बिहान ३ बजे उठेर ६ बजेसम्म खाना पकाउनु पर्थ्यो ।
गोठमा ३५ बाख्रा, त्यत्तिकै संख्यामा गाईगोरु र सुंगुर बंगुर थिए । काममा हिँड्दा हिँड्दै बेहाल हुन्थ्यो । सासु–ससुरासित एक जोर चप्पल र चुरा किनिदिन कति अनुरोध गरें, तर कसैले सुनुवाई गरेनन् । जुत्ताचप्पल विनै जंगल जाने, घाँस दाउरा बोक्ने, ग्वाला जाने, खेतबारी जाने गरे । लामो समय खाली खुट्टा हिँड्दा हिँड्दा बानी परिसकेको थियो । विवाह गरेपछि २० वर्षसम्म जुत्ताचप्पल बिनै हिँडे । त्यतिञ्जेल कसैले दानसम्म गरेनन् ।
केही गरी जुत्ताचप्पल लगाउने अवस्था नआएपछि अब जीवनभर जुताचप्पल, चुरापोते र कुनै गहना लगाउँदिन भनेर कसमै खाए । त्यसपछि अहिलेसम्म लगाएकी छैन । ३० वर्षसम्म चुरा लगाइनँ । गत वर्ष एक आफन्तले चुरा लगाउनै पर्छ भने पनि चुरा पहिरिए । तर जुता, चप्पल भने अझै लगाएकी छैन । कहिल्यै लगाउँदिन पनि ।
म सानोमा बुवा–आमाको साथमा हुँदा केही समय टायरको चप्पल लगाएकी थिए । त्यसपछि कहिल्यै लगाउन पाइएन । सानोमा चप्पल लगाउन नपाएर रोए । घरमा लगाउन नपाए पनि विवाहपछि त पाइएला भन्ने आश थियो । त्यो पनि पूरा नभएपछि मनै मर्यो । अहिले म ५६ वर्षकी भएँ । श्रीमान् ६४ वर्ष पुगे । मेरा दुई छोरा र दुई छोरी छन् । पाँच नातिनातिना भइसके । सुरुसुरुमा छोराछोरीले जुत्ताचप्पल किनेर ल्याइदिन्थे । तर मलाई लगाउन मन लागेन । जुत्ता चप्पल नलगाएर हिँड्ने बानी परेको छ ।
चप्पल बिनै प्युठानको स्वर्गद्वारीसम्म पुगेकी छु । जति टाढा गए पनि यसैगरी खाली खुट्टा हिँडिदिन्छु । अहिले म घोराही उपमहानगरपालिका–७ पर्सामा बस्छु । पर्साबाट सदरमुकाम घोराही पुग्न ७ किलोमिटर हिँड्नुपर्छ । खालीखुट्टै घोराही पुग्छु । बजार जाँदा आउँदा छोराछोरी सँगै हिँड्न लाज मान्छन् । गाडीमा पनि म भन्दा अघिपछि बस्छन् । बजार हिँड्दा पनि सामान किन्ने ठाउँमा मलाई भेट्छन् त्यसपछि टाढा गैहाल्छन् । बजारमा मानिसहरु मलाई हेरिरहन्छन् । कोहीले जुत्ताचप्पल किन भनेर पैसा दिन खोज्छन् । अनि म जुत्ताचप्पल लगाउँदिन भन्छु, त्यो सुनेपछि अचम्म मान्छन् ।
अहिले मलाई आर्थिक रुपमा जुत्ताचप्पल लगाउन समस्या छैन् । श्रीमान् दिनहुँ मजदुरी गर्नुहुन्छ । श्रीमान्ले दैनिक ८ सय रुपैयाँ कमाउनुहुन्छ । महिनाको २४ हजार हुन्छ । त्यसैले नुन, तेल, कपडा, तरकारी किनेर खान्छौं । महिनाभरी खान लाउन यसैले पुगेको छ । छोराछोरीले पनि सहयोग गर्छन् । अहिले त आफैले चप्पल किनौं भने पनि सकिन्छ । तर, यत्रो जीवन त लगाइएन भने अब मर्ने बेला किन लाउनु भन्ने लाग्छ । खाली खुट्टा नै जीवनमा धेरै दुःख भोगिसकेकी छु । श्रीमान् घोराहीमा कमैया बस्न थालेपछि आठ वर्ष निरन्तर सतबरियाबाट घोराही आउनुपर्थ्यो । सतबरियाबाट घोराहीको पर्सा पुग्न ३७ किलोमिटिर हिँड्नुपर्छ । म खालीखुट्टा नै ६ पटक गोरु लिएर सतबरियाबाट घोराही आएकी छु ।
खाली खुट्टा हिँड्दा नङहरु धेरैपटक भाँचिएका छन् । सुरुमा काँडा र ढुंगाले धेरै खोपे तर अहिले भने खुट्टा नै बलियो भएसकेको छ । चिसो मौसममा हिँड्दा खुट्टा चिसिएर बेहाल हुन्थ्यो । खाली खुट्टा हिँड्दा कतिपटक सर्पले पनि टोकेको छ । बिषालु सर्प नभएकाले बाँचे । पहिले पहिले खुट्टामा घाउ हुन्थ्यो । खुट्टामा घाउ हुँदा घरमा औषधि गर्नेभन्दा रक्सी खाएर सुत् भन्थे । लामो समय घाउ दुखेपछि म दिनहुँ रक्सीखाएर सुत्ने भए ।
रक्सी खाएपछि केहीछिन दुखेको थाहा हुँदैनथ्यो तर पछि फेरि दुख्थ्यो । रक्सीले स्वास्थ्यमा असर गर्न थालेपछि त्यो लत छोडे । पछिपछि बिस्तारै खाली खुट्टा हिँड्ने बानी परे । अब त सामान्य लाग्छ । अब चप्पल लगाएर हिँड्न पनि जान्दिन । एकपटक तिजको नाच हेर्न जाने बेला ज्वाइँले चप्पल लगाउनै पर्छ भनेर लगाए । तर बाटोमा लडेर चोट लाग्यो । त्यसपछि मलाई जुत्ताचप्पलको काम नै रैन छ भन्ने लाग्यो । अब यस्तै नै जिन्दगी बिताउँछु ।
प्रस्तुति: दुर्गालाल केसी
