नेताहरुले मुलुकमै बसेर काम गर्ने, रोजगार मिलाउने, महंगी नियन्त्रण गरिदिने हो भने कति राम्रो हुने थियो । यसबारे कसैले सोच्दैनन् ।
What you should know
पाल्पा — दुई वर्षअघिसम्म श्रीमानले रेडियो मर्मतको काम गर्नुहुन्थ्यो । एक्कासी बिरामी परेपछि अहिले आराम गरेर बस्नु भएको छ । शरीरमा शक्ति नभएपछि रेडियो, घडी मर्मत गर्न नसक्ने अवस्था भयो ।
अलिकति सजिलो होस् भनेर डोकोमा तरकारी बोकर दिन–दिनै बिक्री गर्छु । बजार–बजार ‘लौ तरकारी आयो’ भन्दै डुल्ने गरेकी छु । तरकारी लिन गाउँघर तिरै जान्छु । तानसेन नजिकैको आँपटारी, बर्तुङ्, काजीपौवा, बन्दीपोखरासम्म आफै फुगेर तरकारी ल्याएर बिक्री गर्छु ।
यसरी डोकोमा तरकारी बित्री गर्न थालेको ५ वर्षजति भयो । कहिलेकाही तेल्घा, मदनपोखरा, मस्याम साथै भैरवस्थान, पालुङ मैनादी, अर्गलीको तरकारी पनि बिक्री गर्छु । कहिले त राम्रै हुन्छ । कतिपय दिनमा तरकारी पनि बिक्री हुँदैन । दिनमा ५ सय जति कमाई गर्छु ।
माथागढी गाउँपालिका–१ चिदीपानी जाउपोखरा माइती घर भए पनि श्रीमानको घर दाङ हो । म परे मगर्नी । श्रीमान् बस्नेत क्षेत्री हो । तानसेनमै बसोबास भएकाले अहिले दाङको घरमा गएकी छैन । तानसेनमा बसोवास गर्न लागेको ३५ वर्ष जति भयो । जाउपोखरा माइती भए पनि २२ वर्ष जति तानसेनमा ढाका बुन्ने काम गरे ।
मगर समुदायमा हुर्केकी हुँ । हामी बालख छँदा खासै पढ्ने भन्ने थिएन । त्यही भएर पढिएन । अहिले पछुतो लागेर के गर्नु ? श्रीमान् गणेश र म तानसेनमा बस्दै आएकी छु । अहिले म ६१ वर्षकी भएँ । बुढाबुढीलाई चाहिने खर्च मैले नै पुर्याउनुपर्छ । काम गरेर खान लाज छैन ।
डोकोमा तरकारी बोकेर डुलेपछि बिक्री नहुँदा भने चिन्ता लाग्छ । घरखर्च चलाउन पनि नपुग्ने गरी महंगी छ । महंगी पनि यति धेरै बढ्यो कि ? अचम्म लाग्छ । कमाई ५/६ सय हुन्छ । बजारमा महङ्गी उकालो चढ्दो छ । ढाका बुँन्दा मासिक ५/७ हजार भन्दा बढी कमाई भएन । दुःख धेरै गरियो । अहिले कमसेकम १०/१५ हजार कमाउने गरेकी छु । कोठाभाडा, बिजुली, पानी गरेर ३ हजार ५ सय बढी जान्छ । चामल, नुन, तेल, मसला किन्दा उक्तिकै खर्च हुन्छ ।
तानसेनमा डुलेर तरकारी बित्री गर्ने बानी परेको छ । अहिले धेरैले चिन्नुहुन्छ । त्यसले गर्दा पनि बिक्रीमा अलि सजिलो थियो । सहर बजारतिर नेताहरु डुलेको देख्छु । कांग्रेस, एमाले कुन कुन पार्टीका हुन् भन्ने पनि खासै थाहा छैन । चुनाव हुन्छ रे भन्ने सुनेकी छु । फागुन २१ गते हैन र ? भोट दिन चिदीपानी जान पर्ने हो र ? हुन त हामी जस्तालाई कसले पनि जान भन्ला र ? तै पनि भोट हाल्न मन भने छ । अलिअलि सोच्छु भोट दिएर पनि के हुन्छ र हामी जस्तालाई । हाम्रो दुःख कहिले कसले पो बुझेको छ र ? भोट दियो नेताहरु माथिमाथि जाने हुन् । कोही फर्केर आएर हामीलाई के छ ? भनेर सोधेको थाहा छैन ।
५ रुपैयाँ किलो चामल किनेर खाएको मान्छे मै हो । तर अहिले ६० रुपैयाँ भन्दा कम मुल्यको चामल नै पाइदैन । पहिले गाउँतिर पनि धान किन्ने र चामल बनाउने गरिन्थ्यो । अहिले गाउँमा काम गर्ने कोही छैन । युवा विदेश गाका छन् । महिला पनि जाने रहेछन् । म अलि बुढी भएछुँ । मलाई लैजान्नन् रे । नत्र भने मै पनि जाने थिए । नेताहरुले मुलुकमै काम गर्ने, रोजगार मिलाउने, महङ्गी नियन्त्रण गर्ने हो भने कति राम्रो हुने थियो । यसबारे कसैले सोच्दैनन् । गरिब, झन् गरिब हुने होला । धनीहरु, नेताहरु अझ धनी हुने होलान् ।
अबको चुनावबाट सबैले देशमै बसेर काम गर्ने वातावरण मिलोस् । घरतिरबाट अहिलेसम्म नागरिकता बनेको छैन । बिहे नगर्दै बनेको नागरिकताले भत्ता खान नपाइने हो कि भन्ने चिन्ता लागेको छ । अब छिट्टै नागरिकता बनाउने सोंचमा छु । दाङ् पुगेर भए पनि नागरिकता बनाउनुपर्छ भन्ने लागेको छ । मेरा छोराछोरी छैनन् । यतै माइतीतिर थोरै जग्गा किनेर भए पनि बसाइँ सरेर यतैको नागरिकता बनाउने पनि मन छ । तर श्रीमानसँग सल्लाह गरेकी भने छैन । जे होस् अब छिट्टै नै नागरिकता बनाउने हो ।
प्रस्तुति: माधव अर्याल
