बाह्रबिसेमा करिब दुई रोपनी जग्गामा एक लाख रुपैयाँ जति लगानीमा गोठ र टनेल निर्माण गरी ३ सय परालका बलमा च्याउ उत्पादन गरिरहेका छु ।
What you should know
सिन्धुपाल्चोक — कुल्ली गरेर भए पनि जिन्दगी चलाउन त्यस्तो गार्हो थिएन । चीनको खासा तथा ल्हासा बजार पुगेर लत्ताकपडा, पस्मिनालगायत सामग्री खरिद गर्न पाउथ्यौं ।
बाह्रबिसे नगरपालिका–३ बाह्रबिसे बजारमा मेरो घर छ । अहिले ५९ वर्षको भएँ । अहिले दमसँगै अनेक रोग देखा पर्न थालेका छन् । तातोपानी नाका चल्दासम्म म सामान्य झोला पोकाबाट धेरथोर सामान ओसारेर बिक्री गर्थे । त्यतिबेला उत्तरी नाका क्षेत्रमा व्यापारिक क्रियाकलाप चहकिलो थियो ।
तर, २०७२ सालमा गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण नाका बन्द भएयता हामी जस्ता झोलेपोके व्यापारीका दिन सकिए । म जस्तै अरु सयौं जना बेरोजगार बने । परिवार चलाउन धौ–धौ भएपछि बसाइँ सरेर काठमाडौं गएर अनेकथरि मजदुरीमा काम गरे । दौडधुप धेरै भएकाले पनि होला मलाई दमको समस्या देखिन थाल्यो । त्यसपछि गार्हो हुन थाल्यो ।
अन्ततः मैले गाउँ फर्किए र कृषिमार्फत आत्मनिर्भर बन्ने निर्णय लिए । कृषि सम्बन्धी विभिन्न तालिम लिएपछि मैले गाउँबेंसी च्याउ तथा तरकारी उत्पादन केन्द्र दर्ता गरी कन्ये च्याउ तथा सिजनअनुसार अन्य तरकारी खेती सुरु गरे ।
हाल बाह्रबिसेमा करिब दुई रोपनी जग्गामा एक लाख रुपैयाँ जति लगानीमा गोठ र टनेल निर्माण गरी ३ सय परालका बलमा च्याउ उत्पादन गरिरहेका छु । मासिक करिब १५ किलो च्याउ उत्पादन हुन्छ । सिजनमा मासिक झन्डै २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ । च्याउसागै गोलभेंडा, बन्दागोभी, काउली, करेला, भ्यााटा लगायत करिब एक हजार बोट तरकारी पनि लगाएको छु ।
कहिलेकाँही च्याउ उत्पादन गर्न पराल, टनेल र यताउति किनेर एक पटकमा झण्डै १० हजार सकिन खोज्छ । भने उता च्याउ बेच्न नसक्दा भोक पनि नलाग्ने, खानै नपर्ने हुने भए त कति सजिलो हुन्थ्यो नि जस्तो पनि लाग्छ । तर के गर्नु सोचेर भएन, वास्तवमा त्यस्तो हुँदैन । बेरोजगार र कोरोना, बाढी पहिरोको बेला ऋण गरेर भए पनि खाने बस्ने गर्यौं । बजार नजिकैको किराना पसलबाट उधारोमा सामान लिने गर्छु र च्याउ बिक्री गरेपछि ऋण तिर्ने गरेको छु ।
जग्गा भाडा नै महंगो छ । महिना लाग्ने बित्तिकै भाडा तिर्नुपर्छ । चामल, तेल, दाल किन्दा उस्तै खर्च छ । मेरो त चामलमा भन्दा तरकारीमा धेरै पैसा खर्च हुन्छ । रासन किन्दा यति खर्च भयो भनेर लेखेर हिसाब गरेर त राखेको छैन । तर पनि धेरै नै खर्च हुन्छ ।
अहिलेसम्म अन्दाज नै गर्दा पनि कोठा भाडा र रासन खर्च गरेर २० देखि २१ हजार सकिन्छ । महिनाभर कमाएको यसमा खर्च बराबर भएको देख्दा अचम्म लाग्छ । बुढाबुढी सँगै बसेर एकआर्कालाई सघाउँछौं । कहिलेकाही छोरो पनि आउँछ । चाडवाडका बेला झन् हिसाब गरेर नसक्नु खर्च हुन्छ ।
लामो समय मजदुरी र भारी बोकेकाले शरीर कमजोर छ । जसकारण थोरै काम गर्दा पनि बिरामी पर्ने मलाई नियमित परीक्षण चाहिन्छ । यही ज्यानको उपचार र दायाँबायाँ गर्दा महिनाभर एकदेखि दुई हजार गइहाल्छ । उपचार र जाँच गर्न पनि बाह्रबिसे अस्पताल र मेडिकलको भर हो ।
काठमाडौं जान र अरु जाँच उपचारमा पैसा धेरै लाग्छ । त्यही भएर कतै जाने आँट आउँदैन् । अरु त्यस्तो ठूलो सपना छैन् । गास टार्नकै लागि यत्रो गरिरहेको छु अरु त के चाहियो । सपना भएर मात्रै नहुने रैछ । मनमा त अरुलाई सहयोग गरौं भन्ने लाग्छ । तर गास टार्नमै जिन्दगी गएको देखेर दिक्क लाग्छ । तातोपानी नाका चलेको भए हामी मजदुरको पनि जिन्दगी यति गाह्रो हुने थिएन् । तर देखेको नहुने रैछ लेखेको चाहिने रहेछ अनि । हामीजस्ता भूइँमान्छेलाई बाँच्न पनि कठिन छ ।
प्रस्तुति: अनिश तिवारी
