'हामी बुढा–बुढी, छोरा र छोरी गरेर ५ जनाको जहान छौं । वर्षमा १० वटा खसी बाख्रा पाल्दा हामीलाई घरखर्च पुगिरहेको छ ।'
What you should know
ताप्लेजुङ — अहिले त मानिसहरु ताँती लागेर बसाइँ सरिरहेका छन् । तर, सहर बजार भन्दा खर्चका हिसाबले किफायती र बस्नका लागि सहज लागेर मचाहिँ अहिलेसम्म गाउँमै अडिएको छु । हुन पनि वर्षमा चारवटा जति खसी बिक्री गरियो भने ४/५ जनाको परिवारलाई पुग्ने चामल किन्न पुग्छ ।
तरकारी आफ्नै बारीमा उत्पादन हुने भएकाले किन्नु पर्दैन । तेल, नुन, मरमसलाका लागि अरु दुईवटा खसी पालियो भने हुन्छ । मिठो मसिनो खान पुगेको छ । गाउँमा मेरो जीवन यसरी नै चलिरहेको छ भन्दा भो ।
पाथीभरा याङ्वरक–१, मा बसोबास छ । हामी पहाडमा मान्छेलाई धेरथोक खान–लाउन पर्दैन । थोरै मात्रै श्रम गरे बेखर्ची हुनुपर्छ जस्तो मलाई लाग्दैन । हामी बुढा–बुढी, छोरा र छोरी गरेर ५ जनाको जहान छौं । वर्षमा १० वटा खसी बाख्रा पाल्दा हामीलाई घरखर्च पुगिरहेको छ । दसैं पनि मज्जैले मनाउँछौं । त्यही हो दसैंमा २० हजार रुपैयाँ दक्षिणामा खर्च हुन्छ । तिहारमा आउने देउसे–भैलोका लागि पनि १० देखि १५ हजार रुपैयाँ खचै भइजान्छ । विवाह, बर्खान्त, पास्नी, छेवर जस्ता सामाजिक काममा जाँदा उपहार, दक्षिणा गर्दा वर्षमा चानचुन एक लाख रुपैयाँ खर्च हुन्छ ।
मेरो खेतीपाती गर्न मिल्ने १२ रोपनी जमिन छ । त्यसमा खेतीपाती थरेर हुने कमाइ र बाख्रा पालनबाट धानिएका छौं । किनभने मान्छेले जीवनमा सन्तोक मान्न पनि जान्नुपर्छ । अर्को घोडा चढ्यो भनेर आफू धुरी चढ्नु हुँदैन । म बसेको ठाउँ गहिरो छ । ८ सय मिटरमाथि मेची राजमार्ग छ । तलतिर तमोर नदी छ । हिउँदका बेलाचाहिँ डढेलो फैलिने साह्रै चिन्ता हुन्छ । तमोर गढतीरबाट उठेको आगो बस्ती वरिपरी आइपुग्छ । आगो लागेका बेला खेती कमाइमा हिँडौं भन्न पनि पाइँदैन । डढेलो आएपछि घर जोगाउन थाल्नु पर्छ ।
यस्तो बेला सरसहयोग गर्न आउने साथीभाइका लागि खाजा पानी पनि खुवाउनु पर्छ । अलिअलि खर्च त हुन्छ । आफूले आगो लगाउने कुरो हुँदैन । तर, कामना गरेरमात्र पनि पुग्दैन । तलतिरको जंगलबाट आएपछि यताबाट आगो लगाउन थाल्नुपर्छ । यसलाई अग्निरेखा भनिन्छ । पहाडको साह्रै पिरलोचाहिँ यही वन डढेलोको हो ।
१२ रोपनी जमिन पनि ०४२ सालमा ६ हजार रुपैयाँमा किनेको थिएँ । अहिले जमिनको मूल्य पनि बढ्यो । ५ सयले किनबेच गर्ने खसीको मूल्य पनि २५ हजार रुपैयाँ पुग्यो । तैपनि मेरो घर गहिरोमा भएकाले थोरैचाहिँ राहत हुन्छ । जंगलबाट आगो उठेपछि माथि मेवाखा प्रहरी चौकी छेउबाट पनि आगो लगाउन थाल्छन् । नलगाए भौतिक संरचना क्षति हुने भएकाले आगो लगाउनै पर्छ । म पनि घर आसपासबाट अग्निरेखा कोर्न थाल्छु । मज्जाले वरिपरिबाट बार्दली भएको घर बनाउनचाहिँ यही कारणले पाएको छैन । हुन त यसले गर्दा खर्चपनि जोगिएको छ । जंगल नजिक हुँदा खसी बाख्रा पाल्न पाइएको छ । यसैबाट जीविका चलाएको छ । हिउँदमा डढेलो नलागे फेरि जंगल पस्नै नसक्ने हुन्छ ।
त्यसैले चुनौती पनि त्यत्तिकै छ । केही गरी सुख छैन । दुख पनि छैन । म ०२१ सालमा जन्मिएको मान्छे हुँ । उहिले २५ सय रुपैयाँ तोलामा किनेको सुन अहिले ३ लाख नाघ्यो । यही १२ रोपनी जमिन पनि ०४२ सालमा ६ हजार रुपैयाँमा किनेको थिएँ । अहिले जमिनको मूल्य पनि बढ्यो । ५ सयले किनबेच गर्ने खसीको मूल्य पनि २५ हजार रुपैयाँ पुग्यो । त्यो भन्दा पनि महत्त्वपूर्ण यति जमिनले मेरो परिवारको घरखर्च चलाएको छ । दसैंमा १७/१८ जनाको परिवार भेला हुन्छौं । पाहुना, आफन्त आउँदाजाँदा र आफू हिँडडुल गर्दाको खर्च पनि चलाएको छ ।
प्रस्तुति : आनन्द गौतम
